बिचौलियाको नभइ पशुपति क्षेत्रको हितमा काम गर्न मन्त्री भट्टराईको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज कोषको समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले वृहत्तर पशुपति क्षेत्र विकास अन्तर्गतका हरेक योजनाहरु सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरु राखेर सार्वजानिक सुनुवाई मार्फत् अगाडी बढाउन निर्देशन दिएका हुन् । ‘यदाकता कोही बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको गुनासो सुन्ने गरिएको छ, त्यस्तो काम जो कोहीले गरेको भएपनि राम्रो होइन । जे गर्ने हो त्यो पशुपतिको हितलाई ध्यानमा राखेर मात्र गर्नुहोला’, मन्त्री भट्टराईले भने ।

गत पुस २६ मा मन्त्री भट्टराईले ८ घण्टा पशुपति क्षेत्रकोे स्थलगत भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा तत्कालीन र दिर्घकालीन रुपमा गर्नुपर्ने कामबारे ४८ बुँदे निर्देशन दिएका थिए । त्यसको कार्यान्वयनको अवस्थाबारे बुझ्न ६ महिनापछि आज मन्त्री भट्टराईले कोषको कार्यलयमै समिक्षा बैठक राखेका हुन् । बैठकमा मन्त्री भट्टराईले यस्ता प्रकृतिका सार्वजनिक संस्थाहरुको सम्पतिमा व्यक्ति तथा समूहको आँखा पर्ने गरेको उल्लेख गर्दै नीजि स्वार्थका निम्ति पशुपतिको सम्पतिमा दख्खल दिने कार्य नियन्त्रण गर्न समेत कोषका पदाधिकारीलाई निर्देशन दिए ।

कोषको गोठाटारको जग्गा अतिक्रमण बारे हिजो मात्रै विभिन्न संचार माध्यमहरुमा समाचारप्रति आफ्नोे ध्यानाकर्षण भएको उल्लेख गर्दैै मन्त्री भट्टराईले भने–‘छिट्टै चार किल्ला निश्चित गरेर आफ्नो जग्गामा तारबार गर्नुस्, कसैले कोषको जग्गामा संरचना बनाएको छ भने ती पनि हटाउनुस् ।’

पशुपतिलाई राष्ट्रिय गौरवको आयोजनाभित्र राखेर राष्ट्रले प्राथामिकताको सूचीमा राखेको स्मरण गराउँदै उनले भने–‘यहाँ गरिने लगानीले यसलाई पर्यटकीय गन्तव्यका रुपमा थप परिष्कृत त बनाउँछ नै । त्यसका अतिरिक्त लगानी गरिसकेपछि राज्यले आम्दानीको समेत अपेक्षा राखेको हुन्छ ।’ यस्ता धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरुमा नीजि क्षेत्रको समेत लगानी हुने योजनामा धेरै संवेदनशील हुनुपर्नेमा उनकाे जाेड छ ।

उनले गत वर्ष कोषको वार्षिक बजेट कार्यक्रम आर्थिक वर्ष शुरु भएको तीन महिनापछि आएको स्मरण गराउँदै यो वर्ष साउनको दोस्रो हप्ताभित्रै बजेट ल्याउन पनि निर्देशन दिए । अब मुलुक विस्तारै कोभिड–१० महामारीको  त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधनहरु पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्नेगरि तयारी शुरु गर्न पनि मन्त्री भट्टराईले निर्देशन दिए ।

पुस २६ मा मन्त्री भट्टराईले दिएकाे निर्देशनपछि कोषले लकडाउनको समयमा पनि डेक पार्किङ, बेद विद्याश्रम, डिअर पार्क (मृग उद्यान), भण्डारखाल पार्क, बहुउद्येश्यीय सभा हल लगायतको निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ ।

आजको बैठकमा यसको प्रस्तुतीकरण (पावर प्रिजेन्टेसन) गरिएको थियो । उक्त प्रतिवेदनलाई पनि सबै जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी र स्थानीय अगुवासहितको सार्वजानिक सुनुवाई गराएर १५ दिन भित्र मन्त्रालयमा पेस गर्नका साथै कोषले तयार पारेको कोषको वेवसाईट, फेसबुक, ट्वीटरलगायतका एप्सहरु आउदो साउनको पहिलो सोमबारबाट संचालनमा ल्याउन पनि मन्त्री भट्टराईले निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =