नेताहरुको जिकिर : ‘भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट भएको छैन’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल र जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग आफ्नो भेट नभएको जिकिर गरेका छन् ।

भारतीय समाचार संस्था ‘दि पायोनियर’ले भारतीय गुप्तचार संस्थाका प्रमुखहरुसँग नेपालका श्रेष्ठ, रिजाल र भट्टराईलगायतका नेताहरुसँग भेटघाट भएको समाचार सम्प्रेषण गरेपछि नेताहरुले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत् योबारे स्पष्ट पारेका हुन् ।

“भारतीय गुप्तचर पदाधिकारीहरू नेपाल आएको र मलगायत हाम्रो पार्टी र अन्य पार्टीका विभिन्न नेताहरूलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मिडियाले प्रचार गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । आए नआएको सरकारले स्पष्ट पार्न सक्ला, तर मसँग भेटेको भन्ने पूरै झुठो हो ।” प्रवक्ता श्रेष्ठले लेखेका छन् ।

यसैगरी नेकाका नेता रिजालले पनि आफ्नो गुप्तचारका प्रमुखहरुसँग भेट नभएको उल्लेख गरेका छन् । “एक भारतीय पत्रिकाको अनलाइन संस्करणले केही भारतीय संस्थाका प्रतिनिधि नेपाल भ्रमणमा रहेको र उनीहरूले मसँग पनि भेटघाट गरेको भनि लेखेछ । सो पत्रिकामा उल्लिखित व्यक्तिहरूसँग मेरो भेटघाट नभएको र उनीहरू नेपाल भ्रमणमा रहे, नरहेको पनि मलाई थाहा नभएको तथ्य जिज्ञासु सबैलाई जानकारी गराउँदछु ।” उनले उल्लेख गरेका छन् ।

यसैगरी जसपा नेता भट्टराईले पनि उक्त समाचार गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, “यो घिनलाग्दो हो । एकदमै गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक । जब दुई छिमेकीबीच तिक्तता बढ्छ तब मिडिया र नागरिक समाजले मिलाउने र मध्यस्ताको भूमिका खेल्ने आशा गरिन्छ । यसरी आगोमा घ्यु थप्ने काम गरिँदैन । ” भट्टराईले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *