चिनियाँ राजदुतको सक्रियताले नेकपालाई फुट्नबाट जोगाउला त ?

हरिहर भण्डारी । सत्तारुढ नेकपाभित्र चर्किएको अन्तरद्वन्द्व मथ्थर हुने क्रममा छ । गत बुधबारसम्म विवादको चरम उत्कर्षमा पुगेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड) पक्ष अहिले एकाएक शान्त बनेर वार्ताको टेवलमा आउनुमा चिनियाँ राजदुत होउ यान्छीको सक्रियता रहेको बुझिएको छ ।

दुई दिन यता चिनियाँ राजदुत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै नेकपाका माधवकुमार नेपालसँग भेट गरेकोमा आजै झलनाथ खनालसँग पनि भेट गरेकी छन् ।

यस अघि पार्टीभित्र देखिएको विवाद समाधानमा सक्रियता देखाएकी यान्छीले यसपटक पनि नेकपाभित्रको विवाद समाधान गर्न सक्रियता देखाएको नेकपाभित्रैका केही केन्द्रीय सदस्यहरुले दावि गरेका छन् । ‘उहाँको सक्रियता नेकपालाई फुट्नबाट जोगाउने मात्र हो, चीनले नेपालका कम्युनिस्टहरु फुटुन भन्ने चाहेको छैन । यसलाई अनर्थ नलिँदा हुन्छ ।’ उनले भने ।

नेपालका लागि चिनियाँ राजदुत हाेउ यान्छी ।

गत बैशाखमा सम्पन्न नेकपाको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओली अल्पमतमा परेको बेला समेत राजदुद यान्छीले बैशाख १९ गते प्रचण्ड र माबव नेपललाई भेट गरेरै विवाद साम्य पार्ने काम गरेकी थिइन् ।

आज विहानको यान्छी र झलनाथ खनालविचको करिब एक घण्टा चलेको भेटघाटमा पार्टीभित्र देखिएको अन्तरसंघर्ष, पार्टी फुट्न सक्ने अवस्थाका बारेका चर्चा चलेको स्रोतको दावि छ । उनले केही दिन अघि मात्रै राष्ट्रपतिलाई समेत भेट गरेकी थिइन् ।

राजदुत यान्छीको सक्रिय भेटघाटले नेपालको राष्ट्रियता र अखण्डतामै असर गर्ने कतिपय नेताहरुले बताइरहेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राजदुत यान्छीको अप्रत्यासिल भेटघाटले विभिन्न आशंका जन्माएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा यान्छीको सक्रियतालाई ‘रिमोट कन्ट्रोल’ को संज्ञा दिएका छन् । ‘ ‘प्रम ओली भन्नुहुन्छ, सरकार गिराउन भारतीय राजदूत सक्रिय भए । अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरूको घरमा पुग्छिन्, के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ ?’ कमल थापाले प्रश्न उठाएका छन् । उनले स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन नसक्ने समेत बताएका छन् ।

नेकपाभित्र शिर्ष नेताहरु विचको ‘रडाको’ले मुलुकको राष्ट्रियता र अखण्डता माथि नै प्रहार हुने होकी भन्ने आशंका पनि उब्जिएको छ । प्रमुख प्रतिपक्षी दलका नेताहरुले पनि राजदुत यान्छीको सक्रियतालाई मन पराएका छैनन् ।

कांग्रेस नेता धनराज गुरुङले यान्छीको भेटघाट कुर्सी बचाउने वा ढलाउने सन्दर्भमा भएको बताएका छन् । ‘सरकार ढलाउन भारतीय राजदूत सक्रिय भयो भन्ने प्रम ओलीको सरकार बचाउन चिनियाँ राजदूत नेताहरूको घरदैलोमा पुगेको खबर आएको छ, जब नेपालको सरकार ढलाउने र बचाउने काम नै विदेशी राजदूतहरूबाट हुने हो भने हाम्रो राष्ट्रियता कहाँ पुग्दैछ ? कुर्सी ढलाउन र बचाउन राष्ट्रियता नै तिलाञ्जलि ?’ उनले ट्विटरमा प्रश्न गरेका छन् ।

सत्तारुढ दल नेकपाका शिर्ष नेताहरुले चिनियाँँ राजदुतको सक्रियता सरकार गिराउने र बचाउने खेलमा नभएको बताइरहेको छ । यद्यपि, एक सातायता नेकपा भित्रको विवादले चरम रुप लिँदै गर्दा यान्छीको सक्रियतासँगै बामदेव, झलनाथ र मात्रब नेपालको हिजो र आजको मौनताले नेकपाभित्रको विवाद साम्य हुँदै गएको अनुमान गरीएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *