रिमोर्ट कन्ट्रोलबाट चल्ने गणतन्त्रले नेपालको हित गर्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन नसक्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय नेकपाका शीर्ष नेतासँग चिनियाँ राजदूत होउ याङ्छी प्रसंगबारे उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘प्रम ओली भन्‍नुहुन्छ– सरकार गिराउन भारतीय राजदूत सक्रिय भए । अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन् । के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन ।’

आइतबार बेलुका नेकपा नेता माधव नेपाल भेट्न याङ्छी उनको निवास कोटेश्‍वर पुगेकी थिइन् । नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेलामा चिनियाँ राजदूतको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपी नेकपाका नेताहरुले भने यसलाई सामान्य रुपमा व्याख्या गरेका छन् । नेता नेपालको सचिवालयले पनि याङछीसँगको उक्त भेट नियमित भएको भन्दै उनीहरुबीच सामान्य कुराकानी भएको स्पष्ट पारेको छ ।

तर प्रतिपक्ष दलका नेताहरूले भने याङछीको सक्रियातालाई विदेशी हस्तक्षेपका रूपमा लिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले याङ्छी सक्रियतालाई विदेशी हस्तक्षेप भनेका हुन् । उनले ट्‍विटमार्फत टिप्पणी गरेका छन्, ‘कांग्रेसको वर्तमान रोडम्याप कांग्रेसकै महाधिवेशन हो । कांग्रेसलाई देखाएर नेकपाका नेताहरुले आपसी झगडा बल्झाउने र एकले अर्कोलाई तर्साउने नगरे हुन्छ। सकेसम्म आफैं मिल्नुस् । नसके चिनियाँ राजदूतको दौडधूप त चलेकै देख्छु। चिनियाँ राजदूतको हस्तक्षेपले कामरेडहरुको राष्ट्रियता त दुख्दैन होला नि !’

अर्का प्रतिपक्षी दल राप्रपाका नेता मोहन श्रेष्ठले ट्‍विट गरेका छन, ‘देशको मामिला होस् वा दलको, विदेशीको प्रवेश हस्तक्षेप नै हो, चाहे चीन होस् वा भारत वा अरु कोही !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =