बालुवाटार आएका नेताहरुको सुझावः ‘लचिलो हुनुस्’, ओलीकाे थियाे यस्ताे आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनी निकट मन्त्री तथा नेताहरुले लचिलो भइ सबैका कुरा सुनेर अघि बढ्न सुझाव दिएका छन् ।

मंगलबारको बैठकमा पुष्पकमल दाहाल लगायत पार्टीका बहुमत सदस्यले प्रधानमन्त्रीबाट राजीनामा मागेगेका थिए । आफू संकटमा परेको महशुष गरेका ओलीले आज (बुधबार) बिहान नेकपा स्थायी कमिटी सदस्य रहेका केही मन्त्री तथा सांसदलाई बालुवाटार बोलाएर करिब २ घण्टा छलफल गरेका थिए ।

छलफलका क्रममा उनी निकट नेता तथा मन्त्रीहरुले लचिलो भएर अगाडी बढ्न सुझाव दिएका हुन् । अलि फराकिलो भएर सबै पक्षसँग छलफल गरी कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने उनीहरुको भनाइ छ । नेता तथा मन्त्रीहरुले ओलीलाई अहिले देखिएको पार्टीभित्रको समस्या समाधानका लागि आवश्यक परेका बेला आफूहरु त्याग गर्न तयार रहेको पनि बताएका छन् ।

ओलीसँगको परामर्शमा मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, घनश्याम भुषालसहित सहभागी थिए । यस्तै नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल, किरण गुरुङ, शंकर पोखरेलसहित सहभागी थिए ।

मन्त्री योगेश भट्टराई पनि छलफलमा सहभागी थिए । छलफलमा सहभागी भएका सबै नेताहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गरी पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन ओलीलाई सुझाव दिएको उनले बताए । अवस्था सकारात्मक दिशामा जाने आश रहेको उनले बताए ।

बैठकमा प्रधानमन्त्रीले भने आफूलाई अप्ठेरोमा पारिएको बताएको एक नेताले जानकारी दिए । प्रम ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिले पार्टी र देश दुवै गम्भीर संकटमा छ । मलाई अप्ठेरामो पारिएको छ । तपाईंहरूले मलाई सहयोग गरिदिनुपर्‍यो । राष्ट्रियता र मेरा पक्षमा बोलिदिनुपर्‍यो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *