सामाजिक सञ्जालमा भुवन र सम्राज्ञीको चल्याे दोहोरी, विवादकाे जराे ‘ह्यारेस्मेन्ट’ !

काठमाडौं । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यु चलचित्रबाटै आफूमाथि ह्यारेस्मेन्ट भएकाे आराेप लगाएपछि अहिले भुवन केसी र उनीबीच दाेहाेरी नै चलेकाे छ । भुवन केसीले आराेपमाथि खण्डन गरिरहेका छन् भने सम्राज्ञीले लगातार आराेप प्रष्ट्याउने काेशिष गरिरहेकी छिन् ।

उनले सामाजिक सञ्जाल इन्ट्राग्राममा सार्वजनिक गरेकाे पहिलाे भिडियाेमा भनेकी छिन्–‘मैले १७ वर्षको उमेरदेखि नै चलचित्र क्षेत्रमा डेब्यु गरेँ । त्यतिबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई यो क्षेत्रका २/४ जना सिनियर मन्छेहरुले भन्नुभयो । हरेक चलचित्रको प्रमोसनमा पुग्दा मलाई तपाईँ किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । यसले मलाई दिक्क बनाउँथ्यो । सो समयमा मेरो धेरै ट्रोलहरू पनि बनेका थिए । समयमै खाना, पानी उपलब्ध नहुँदा यो विषयमा बोल्दा समेत अपशब्द प्रयोग भएका पनि छन् ।’

उनले आफूले सो विषयमा बोल्दा निकै नै नराम्रो व्यवहार भएको भन्दै धेरै बेर रोएर केहि समयपछि फेरि केही नभएजस्तो गरेर काममा फर्किएको अनुभव पनि भिडियाेमा सेयर गरेकी छिन् । चलचित्र क्षेत्रमा भोगेका भोगाइको विषयमा आफूलाई केही निर्देशकले बोल्न हुँदैन भनेर भनेका कारण आजसम्म आफू चुप बसेकाे उनकाे भनाइ छ ।

एक जना निर्देशकको व्यवहार रुष्ट भएको सुनेतापनि आफूलाई त्यस्तो नलागेर काम गरेको अनुभव सुनाउँदै उनले भनिन्– ‘त्यतिबेला काम गरिसकेपछि पहिले सोचेका सबै सोचाइहरू टुटेर गए । निर्माताहरु यस्तो विषयमा बोल्न हुन्न भन्नुहुन्छ । तर यस्तो विषय बाहिर नआइदिए हुन्थ्यो भनेर सोच्ने निर्माताहरुले कलाकारहरुलाई सम्मान गर्न पनि सिक्नुपर्छ ।’

आफूले यो विषयमा बोल्दा आफूलाई माया वा घृणा जे पनि आउन सक्ने तर आफूलाई नराम्रो प्रतिक्रियाको बानी परिसकेको उनले बताएकी छिन् ।

साम्राज्ञीले आफूमाथि ह्यारेस्मेन्ट भएको कुरा सामाजिक सञ्जाल इन्ट्राग्राममा भिडियो मार्फत् भनेपछि उनकाे कुराकाे खण्डन गर्दै नायक भुवन केसीे लगायत अन्य कलाकारहरुले पनि आ–आफ्नो धारणा राखिरहेका छन् । भुवन केसीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि ।’ उनले नाम भने ताेकेका छैनन् ।

‘भुवनले जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भनेपछि साम्राज्ञीले फेरी भिडियो मार्फत् नै जवाफ दिएकी छिन् । जापानमा आयोजित एक अवार्ड कार्यक्रममा सहभागी हुने क्रममा नायक केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप लगाउँदै उनले भनेकी छिन्– ‘उहाँले मलाई तँ त मेरो प्रोडक्ट हो बाबा, अब पुरानो कुरा कोट्याएर फाइदा हुँदैन । तँ एउटा ठाउँमा पुगिसकिस्, अब यस्तो गर्नुहुँदैन भन्नुभएको थियो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तैपनि म हाँसेरै बालेँ । ती कुराहरू अलि टाढा बसेरै पनि भन्न सकिन्थ्याे नि ! के गाला जोडेर, टाँस्सिएरै भन्नुपर्छ र ?’

उनले नायक तथा निर्माता केसीलाई  ‘अंकल’  भनेको मन नपर्ने भन्दै आफूले ‘दाई’ भन्ने गरेको पनि बताएकी छन् । साम्राज्ञीले आफ्नो भिडियोमा भुवन केसीको नाम भने उच्चारण गरेकी छैनन् । तर उनले लेखेको स्टाटसमा आक्रोश व्यक्त गर्दै जवाफ दिएकी उनले भुवनलाई नै संकेत गरेर भनेकोे देखिन्छ । उनले आफूमाथि राम्रो व्यवहार गरेको भए यस्तो दिन नै नआउने पनि बताएकी छिन् ।

साम्राज्ञीकै विषयलाई लिएर चलचित्र ड्रिम्सका प्रोडक्शन डिजाइनर गणेश साप्कोटाले भनेका छन् – ‘सबैभन्दा पहिला साम्राज्ञीलाई कुन फिल्मको प्रोड्युसरले त्यस्तो व्यवहार गर्याे भन्ने बुझ्न जरुरी छ । कलाकार र प्राविधिकको खानपानमा ध्यान नदिने कुराहरु नौला होइनन् । उनले कुनै पनि निर्माता वा निर्देशकको नाम लिएकी छैनन् । उनले नाम दिइन् भने कारवाही गर्ने निकायहरु छन् । मैले करोडपतिदेखि ड्रिम्ससम्म आईपुग्दा काजल फिल्म र सुपर काजल फिल्मको व्यानरको लगभग सबै फिल्ममा प्रोडक्शन म्यानेजरको रुपमा काम गरेको छु । कलाकार र प्राविधिकको खाने बस्ने मेरो जिम्मामा नै हुन्छ ।’

उनले अगाडि लेखेका छन्– ‘आजसम्म मैले काम गरेको कुनै पनि फिल्ममा यस्तो किसिमको लापरवाही भएको छैन । भुवन दाईकै हरेक फिल्ममा बस्ने खाने राम्रो व्यवस्था गरिएको हुन्छ । उनको पहिलो फिल्म ड्रिम्स भएकोले सबै जनाले यसै फिल्ममा नराम्रो व्यवहार भएको अनुमान लगाएका हुन सक्छन् ।’

सापकोटाले अनुमानको आधारमा टिप्पणी नगर्न पनि अनुरोध गरेका छन् । कुन प्रोडक्शन् हाउसबाट यस्तो भएको हो, त्यसको छानबिन गर्नुपर्ने उनको भनाइ छ । ‘साम्राज्ञीको पहिलो फिल्म ड्रिम्स हो तर काजल फिल्मसको पहिलो फिल्म ड्रिम्स होइन । आधा दर्जन भन्दा बढि फिल्म बनाईसकेको यो प्रोडक्शन हाउसको बारेमा आजसम्म कसैले यस्तो दावी गरेको रेकर्ड छैन र पछिका दिनहरुमा पनि आउने छैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *