‘धन्दा टिकाउन भिडियो बनाउनेहरूले गंदगी धेरै फैलाए’

पत्रकार र सञ्चारकर्मीको खोल ओढेर नातामा भिनाजु पर्ने सँग प्रेमको चर्चा टाइटल राखेर आफ्नो कमाइको निम्ति अरुको इज्जतको लिलामी गर्ने दलाल युट्यूबे, र नाम चलेका अन्य केहि मीडिया र तिनका सञ्चालकहरुको नाममा

नायिका सज्जा मैनाली मेरो बहिनी हुन् । ४ बर्षको उमेरमा पाटीको बास नामक टेलिफिल्मबाट यस क्षेत्रमा प्रवेश गरेकि उनले बाल कलाकारको रूपमा बिभिन्न टेलिफिल्महरूमा खेल्दै १६ बर्षको उमेरमा चलचित्र नौं डॉडा पारी बाट नायिकाको भुमिकामा डेब्यु गरेर छोटो समयमा केहि दर्जन चलचित्रहरू खेलेर झन्डै १४ बर्ष अघि देखि नेपाली चलचित्रमा खेल्न छोडेकि हुन् ।

२ महिना अघि मात्रै Rato Khursani नामक यूट्यूब च्यानलमा ………सुबेदी भन्नेले उनको बिषयमा अपलोड गरेको यो (https://youtu.be/pEf_6FWz2L0) भिडियो मेरो ऑखामा परेपछि गैरजिम्मेवार मिडियाहरूको कारण बचपनमा झेल्नुपरेको मेरो पीडा पुनः बल्झियो । यो भिडियोमा उनको बिबाह कसरी भयो भन्ने कुरामा भरिएको मसालाले त झनै युट्यूब भिडियोहरु बिरलै हेर्ने मलाई अब नेपाली युट्यूब नहेर्ने निष्कर्ष मै पुर्यायो।

सच्ची मैनाली, तस्विर सच्ची मैनालीकाे फेसवुकबाट ।

म एउटा त्यस्तो कलाकारको परिवारमा हुर्किएँ जसलाई धेरै नेपालीहरूले निकै माया गर्नुहुन्थ्यो र गर्नुहुन्छ । आजसम्म पनि हामीले बेलाबखतमा त्यो मायाको ब्याज पाउने गरेका छौं । मेरो बुबा स्वर्गीय हास्यकलाकार गोपाल राज मैनाली “चंखे” को उपनामले विख्यात हुनुहुन्थ्यो । आफु सानै छँदा घरमै भएको आफ्नो बुबा अस्पतालमा भर्ना हुनुहुन्छ भनेर रेडियो नेपालबाट सुनेको म अझै बिर्सन सक्दिन । केही पत्रुकारहरुको पत्रुकारिताको कारण यो मात्रै होइन यस्ता धेरै दर्दनाक मानसिक पीडा हामीले पटक पटक झेलेका छौं।

यस्ता पीडाको अनुभूति त्यसलाई मात्रै हुन्छ जसलाई परेको हुन्छ। कलाकारको परिवारमा जन्मिएकोले होला हाम्रो जीवन गोप्य कहिले रहेन। बचपन देखिनै केहि पत्रकार भनाउँदाहरूको पत्रुकारिताको कारण मेरो परिवारले खेप्नुपरेको चरम मानसिक पीडा म सँग अझ पनि ताजै छ । म त के मेरो ६५ बर्ष कटिसक्नु भएको ममिको मस्तिष्कमा पनि पत्रकार भनाउँदा केहि दलालहरूले दिएको मानसिक पीडा यति ताजै छ कि अघिल्लो महिना मात्रै ममिले त्यस्ता पीडाको सम्झना गर्नुभएको थियो । त्यो पीडा सम्झिदा मेरो रगत अझै उम्लिंछ। त्यसबेला सामाजिक सञ्जाल थिएन । केहि बोल्न र भन्न उनीहरूकै मुख ताक्नुपर्थ्यो । सोच्नुस् ति गैरजिम्मेवार पत्रकार भनाउँदा पत्रुकारहरुको डनगिरी त्यसबेला कति थियो होला, कस्तो थियो होला ? समय र सन्दर्भ मिलेको बेला त्यो अनुभव पक्का शेयर गर्नेछु । यस्तै दलालहरूले दिएको पीडाको कारण नै म सञ्चारकर्म मार्फत भ्रष्टाचार बिरुद्धको अभियानमा होमिएको थिएँ ।

मैले मेरो बाल्यकालमा भोगेको पीडा अब मेरो र उनको बच्चाहरूले पनि झेल्नुपर्ने ? ……… सुबेदी भन्ने त्यो ….लाई यति पनि थाहा रहेनछ कि निखिल उप्रेति नाताले सज्जाको (हाम्रो) भिनाजु हुनुहुन्छ । मेरो ममिको भानदाईको छोरी मेरो दिदी कोपिला उप्रेतिको श्रीमान । यति त थाहा पाएननै बकाइदा हल बुक गरेको बिबाहलाई समेत गोप्य बिबाह भनिदियो। बिहेको केहि बर्ष पछि नै डिभोर्स भैसकेको उनको २०२० मा बनाएको भिडियोमा सज्जा मैनाली श्रीमानसँगै छिन भन्ने जानकारी दियो त्यो पनि 258K subscribers भएको च्यानलबाट । बिचरा ति भिडियो हेर्नेहरुको समय बर्बाद!

यो त एउटा उदहारण मात्रै हो। बिगतमा पनि यस्ता घटना नभएका होइनन। “सज्जालाई गम्भिर रोग” शिर्षकमा २००९ नोभेम्बर महिनाको कान्तिपुर साप्ताहिकको मुख्य समाचारले हाम्रो परिवारमा एक किसिमको भुकम्पै ल्यायो । त्यतिखेर मात्रै होईन २०२० मैं पनि केहिले मलाई मेसेन्जर मार्फत सज्जा दिदीलाई अहिले कस्तो छ भनेर सोधेका थिए । बिनाकारण बेलाबेलामा तिनका गैरजिम्मेवार पन र पत्रुकारिताको मूल्य हामीले चुकाउनु परेको थियो र परिरहेको छ। बिशेष गरि अमेरिका आइसकेपछि जतिखेर सज्जाको बिषयमा यस्ता आधारहिन समाचार छापिन्छन् त्यसबेला ति पत्रकार भनाउँदाहरूले एउटै जवाफ दिन्छन् -सज्जा जीको फेसबुक, इन्स्टाग्राम, ट्विटर केहि छैन । खोज्दा भेटेनौ त्यसैले यस्तो लेख्यौं । तिमीहरू जस्तै दलालहरूले दिएका पीडाका कारण उनी यि सबै कुराहरूबाट टाढा बस्न रूचाउँछिन ।

हात चलाउन नसक्ने भएर अमेरिकामा अपरेशन गरेर १८ दिनसम्म सोफाबाट बेडमा जान नसक्ने अवस्थामा रहेको मेरो ममि सोफाबाट उठेर मेरो बुबा बिरामी भएको बेलामा नेपाल जान सक्नु भएन भनेर नेपाली चलचित्र क्षेत्रका नाम चलेका पत्रकारले त्यसबेला लेखेका थिए “सबैलाई हसाउने चंखेको ऑसुमा रूने कोहि भएन” आफ्नो समाचार बिकाउनकै लागि तथ्य नबुझि समाचार बनाउने ति पत्रकार मरे कि जिउँदै छन् ? किनकि त्यसपछि उनी लगायतका चंखेलाई उनको श्रीमती भन्दा बढि माया गर्ने जस्तो गरी समाचार बनाउने दलालहरूले मेरो बुबा स्वर्गीय हुनुभएको १२ बर्षमा पनि श्रद्धाञ्जली दिएको मैले कतै पढ्न पाईन । कि मैले पो पढ्न छुटाएँ???

बिगतमा पत्रूकारहरूले दिएको मानसिक पीडा र वर्तमानमा समेत टर्चर दिएका दर्दनाक दिनहरू सम्झिंदा अरूको जीन्दगी तहस नहस पार्ने पत्रकारको खोल ओढेर दलाली गर्नेलाई आजको दिनमा अगाडि भेटें भने दलालहरूको …………………………. गर्वसाथ जेल जाउँ जस्तो लाग्छ कहिलेकाहिं । दशकौं देखि यस्ताका पत्रूकारिताको शिकार भएको म र मेरो परिवारले पाएको मानसिक पीडा सम्झँदा मैले यतिखेर अर्को विकल्प नै सोच्न सकिन ।

यस्ता दलालहरूलाई ठेकान लगाउने कानुन बन्ला र यि तह लाग्लान भन्ने विश्वास मलाई छँदै छैन । आजको युगमा यि र यस्तालाई तह लगाउने भनेको यिनका पाठक र दर्शकहरूले हो । आफ्नो धन्दा चलाउन तपाँईं हामीले जान्न चाहेका ब्यक्ति, ब्यक्तित्वहरूको बिषयमा एउटा कोठामा बसेर भिडियो बनाउँदै गलत र झुठो सुचना दिने, युट्यूबलाई कमाई खाने बाटो बनाउने र समाचार बिकाउन र भिडियो बनाउनकै लागि जे पनि गर्ने, जे पनि बोल्ने, बोल्न लगाउने र आफ्नो धन्दा टिकाउने अभिप्राय स्वरूप सनसनीपूर्ण शिर्षक राख्ने, भिडियो बनाउनेहरूले गंदगी धेरै फैलाए । आफ्नो समय बर्बाद नगर्नुहोस । दलालहरुलाई आजैदेखि अनफलो गर्नुहोस्, बहिष्कार गर्नुहोस् ।यस्ता पत्रुकारहरुले सच्चा र इमान्दार पत्रकार र सञ्चारकर्मीहरुको बदनाम गरेका छन्।

युट्यूबे धन्दा चलाउन, आफ्नो समाचार बिकाउन जे पनि गर्ने, जे पनि बोल्ने, बोल्न लगाउने र आफ्नो धन्दा टिकाउने अभिप्राय स्वरूप सनसनीपूर्ण शिर्षक राख्ने भिडियो बनाउने गंदगी फैलाउने दलालहरुलाई बहिष्कार गरौं !

नाेटः यो कन्टेन्ट अमेरिकामा बसेर पत्रकारिता गर्दै गरेकी  पत्रकार सच्ची मैनाली जाे पूर्वनायिका सज्जा मैनालीकी बहिनी हुन् उनकाे फेसवुकबाट लिइएको हो । केही शब्दहरू सम्पादन गरिएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *