दलित गैरसरकारी संस्था महासंघद्वारा सोती घटनाकाे स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । दलित गैरसरकारी संस्था महासंघले जाजरकोट र रुकुमपश्चिमको सोतिगाउँ घटनाकाे संक्षिप्त स्थलगत् अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

टोलीले जेठ २६ गतदेखि जेठ ३२ गतेसम्म स्थलगत् अध्ययन गरेको थियो । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त प्रतिवेदमा नेपालको ईतिहासमा नै जातिय विभेद तथा छुवाछुतको कारण यति ठूलो नरसंहार भएको यो पहिलो घटना भएको जनाईएको छ ।

अध्ययन टोलीले सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनको निश्कर्षमा लेखिएको छ,‘स्थानीय जनप्रतिनिधि वडा नं.८ का वडा अध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा उक्त सोती गाउका मल्ल, ठकुरी, चन्द, पुनमगर र घर्तिमगर मिलेर घरेलु हतियार, लाठि, ढुंगा र लात मुक्का प्रयोग गरेर हत्या गरि नजिकैको भेरी नदिमा फालेको प्रस्ट देखिन्छ । विभिन्न सुचना, अन्तरक्रिया, घाईतेहरुको भनाई र स्थानीय शव उद्धार गर्ने पौडीबाजहरुबाट प्रष्ट भएको छ ।’

गत जेठ १० गते जाजरकोट जिल्ला, भेरी नगरपालिका वडा नं–४ रानागाउँका नवराज बि.क. र रुकुमपश्चिम, चौरजहारी नगरपालिका वडा –८, सुष्मा मल्लको बीच भएको प्रेम–सम्बन्धलाई विवाहमा परिणत गर्न जादा ६ जनाको विभत्स तरिकाले हत्या गरिएको ‘यो घटना जातिय विभेद तथा छुवाछुतको जरियाबाट शुरु भई जातीय नरसंहार नै भएको’ स्थलगत अध्ययन टोलीको ठहर छ ।

कार्यक्रममा महासंघको महासचिव र अध्ययन टोलीका संयोजक जेबी विश्वकर्माले जातीय विभेदकै कारण सोती घट्ना भएको बताए । उनले यो घट्नाका दोषीलाई सर्वश्व जन्मकैदको सजाय हुनुपर्ने माग गरे । साथै, पीडित परिवारलाई न्याय दिन सरकारसमक्ष माग गरे ।

उनले घट्नाको जड जातीय विभेद नै भएको दोहोर्याए । सुष्मा मल्लकी आमा प्रकाशी मल्ल र काका ईन्द्र बहादुर मल्ललाई अदालतले साधारण तारिखमा छोडेकोमा भने उनले दुःख व्यक्त गरे । उनले भने,‘दोषीलाई उन्मुक्ति दिने प्रपञ्च भयो । पूनः पक्राउ गरिनुपर्छ ।’

पत्रकार सम्मेलनमा अधिवक्ता चक्रमान विश्वकर्माले समाजमा यस्तो जातीय विभेद र भेदभावका कारण घट्ना घट्नु दुःखद् भएको भन्दै सरकार कानून कार्यान्वयनमा गम्भिर भएर लाग्नुपर्ने बताए । उनले घट्नामा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कानूनी कारबाही र पीडितलाई न्याय दिन माग गरे ।

महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माको सभापतित्वमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । उनले घट्नामा स्थानीय प्रहरीले सुरुवातमै घट्नास्थल सिल गरेको भए अरु प्रमाण तथा तथ्य थाहा हुनेथियो भन्ने धारणा राखे । त्यस्तै, उनले पोष्टमार्टम रिपोर्टमा पनि आपत्ति जनाए । र, नदीबाट शब निकाल्दै गर्दा मुचुल्का उठाउँदापनि गलत तरिकाले उठाईएको उनको आरोप छ ।

दलित सेवा संघका अध्यक्ष ईश्वरीप्रसाद विश्वकर्माले यो घट्नाको सवालमा सरकार अलिक जिम्मेवार हुनुपर्ने धारणा राखे । दलितहरुले आज समाज र सरकार दुवैसँग लड्नुपरेको अवस्था पनि उनले सुनाए । समाजमा यस्ता जघन्य घट्ना थप घट्न नदिन सरकार जिम्मेवार बन्नुपर्ने उनको भनाई छ । पीडित परिवारलाई न्याय र दोषीलाई न्याय दिनुपर्ने उनले माग गरे ।

अध्ययन टोलीका सदस्यहरु दिपक सोनी र रीता परियारले पनि दोषीहरुलाई सजाय र पीडितलाई न्याय दिनुपर्ने धारणा राखे । उनीहरुले पनि यो घट्ना जातीय विभेदकै कारण भएको निश्कर्ष सुनाए । महासंघका कार्यकारी निर्देशक ईमान सुनारले पत्रकार सम्मेलनको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =