बालामा पाेकटामात्र भएपछि चितवनका किसानले ट्याक्टर लगाएरै जाेते धानबाली

चितवन। कतै तरकारीले बजार नपाउँदा किसानले तरकारी सहित नै जोतेका छन् त कतै प्रांगारिक मल बनाउँदै छन् । तर, धान खेतीमा भने चितवनमा पहिलो पटक ट्याक्टरबाट धानको बोटसहित जाेतियाे । धान झुलेपछि एकाएक रोगले आक्रमण गरेपछि किसानहरुले ट्याक्टर चलाएर खेत जोतेका छन् ।

राप्ती नगरपालिका ४ वेलुका किसानले उत्पादित धान रोगले नष्ट गरेपछि बाध्य भएर ट्याक्टर लगाएको बताएका छन् । टाढाबाट हेर्दा लहलहै धान फलेको जस्तो देखिन्छ तर खेतमा पुगेर धानको बाला छाम्दा पोकटा मात्र पाईन्छ ।

वेलुका किसान कमल प्रसाद तिवारीले आईतबार ट्याक्टर लगाएर धानको वोटसहित जोतेका छन् । ‘तीन दिनमा सवै सखाप पार्यो’ किसान तिवारीले भने–‘झुलेको धानमा रोग लागेपछि पोकटा वाहेक केही छैन,राखिरहनुको औचित्य नभएपछि जोतेका हौं ।’

पाक्न लागेकाे धानमा पाेकटा मात्र भएपछि ट्याक्टर लगाएर जाेत्दै चितवनका किसान । तस्विरः ध्रुवराज खनाल, चितवन ।

उनले २२ कठ्ठा जग्गा ठेक्का लिएर खेती गर्दै आएका छन् । ति जग्गाबाट एक मुठी पनि धान आएको छैन । जोताई देखी रोग लागेपछि विषादी प्रयोग सम्म ५५ हजार रुपैँया खर्च गरेको तिवारीले बताए । उनले वार्षिक प्रति कठ्ठा २ हजार ५ सय रुपैँया भाडा तिर्दै आएका छन् । उनको जीवनमा यो पहिलो घटना हो ।

अघिल्लो वर्ष २२ कठ्ठामा ५५ क्वीन्टल सम्म धान उत्पादन हुँदै आएको थियो । उनकै साँधमा खेती गर्दै आएका वुद्धिराज खरेलको पाँच कठ्ठा जग्गामा पनि हर्दिनाथ जातको धानमा यस्तै समस्या देखिएको छ । उनले आगो लगाएर नष्ट गर्ने प्रयास गरे तर वोट हरियो भएकाले आगो लाग्न सकेन ।

उनले चैत १० गते धान रोपाई गरेका थिए । उनको पनि तीन दिनमै सबै सखाप भयो । ‘धान झुल्दा राम्रो उत्पादन हुने आशा थियो ।’ किसान खरेलले भने–‘पाँच कठ्ठामा १६,१७ बोरा उत्पादन हुन्थ्यो, अहिले एक गेडो नआउने भयो ।’ उनले धान लगाउँदा ११ हजार रुपैँया खर्च भएको सुनाए । रोग लागेको जानकारी गराएपनि कृषि प्राविधिक अहिलेसम्म नपुगेको यहाँका किसानहरुको गुनासो छ ।

वेलुकाकै किसान राधिका क्षेत्रीले धान उत्पादन नभएपनि परालका लागि भने धानको बोट काटेका छन् । ठुलो मेसिनको प्रयोग गरेर उनले परालका लागि धानको बोट कटान गरेको बताईन् । उनले १२ कठ्ठा जग्गा ठेक्कामा लिएका छन् । शुक्रवार परालका लागि धानको बोट काटिएको उनले सुनाईन् । राप्ती वडा नम्वर ४ वेलुका आसपासमा झण्डै २० विगाहा जति धानमा यस्तै समस्या देखिएको छ ।

धानका बाेटमा चामलका दाना नभएपछि यसरी आगो लगाइयाे ।

पूर्वी चितवनमा हर्दिनाथ नामक धानमा धान झुलेपछि यस्तो समस्या देखिएको छ । कृषि प्राविधिकहरुले नेक व्लास्ट रोगले धानमा क्षती पुर्याएको बताउँदै आएका छन् ।

प्रधानमन्त्री कृृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाका अनुसार पूर्वी चितवनमा लगाईएको धानको कुल क्षेत्रफलको आधा क्षेत्रमा यो रोग लागेको छ । कतिपनि उत्पादन नभएको प्लट धेरै रहेको उनले बताए । चितवनमा कुल ७ हजार हेक्टरमा धान खेती गरिएको छ । भने धान जोन क्षेत्र कुल ५ हजार ५ सय हेक्टर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *