भ्रष्ट्राचारकाे विरूद्ध उत्रिएका युवाहरूलाई डा. शेखरकाे साथ ‘गृहमन्त्रालयले दिएको आदेशलाई नमान्नुस’

काठमाडौं । सरकारले स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रष्टाचारको गन्ध आएको नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बताएका छन् । पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै डा. कोइरालाले कोभिड–१९ को उपचार तथा रोकथाम नियन्त्रणमा सरकारले १० अरब खर्च गरेको प्रति युवाहरु स्वतस्फुर्त सडकमा आएर विरोध गर्दा सरकारले लाठी हान्नु गलत रहेको पनि बताएका छन् ।

डा. कोइरालाले युवाहरु सडकमा उत्रिएर प्रधानमन्त्रीको कार्यशैलीको विरोध गरिरहँदा नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीको कार्यशैलीको विरोध गरेको बताए । ‘नेपाली कांग्रेस त्यसै सुतेर बसेको छैन ।

आफु स्वयं चिकित्सक रहेकाले पटकपटक स्वास्थ्यमन्त्रीलाई फोन गरेर पीसीआर बाहेक अर्को डाइग्नोक्सिस हुनै नसक्ने बताएको जिकिर गरे । ‘म आफूपनि डाक्टर भएकाले पटक–पटक मन्त्रीहरुलाई भनेकै हो । स्वास्थ्य मन्त्रालयलाई पनि भनेको हो । मैले मात्रै नभएर सबै स्वास्थ्यसम्बन्धी विज्ञहरुले राखेका थिए ।’ डा. कोइरालाले भने ।

उनले लकडाउन त सरकारले पीसीआर, आरडिटी र क्वारेन्टाइनका नाममा भ्रष्टाचार गर्न लगाएको बताए । साथै अहिले विदेशमा रहेका नेपालीलाई प्लेन चाटर्ड गरेर ल्याउन भनेकामा त्यसमा पनि भ्रष्टाचारको गन्ध आइराखेको जनाए । साथै उनले राहतमा र स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारको गन्ध आइरहेको छ भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसकेको दावि गरे ।

‘मन्त्री भ्रष्टाचार भएकै छैन भन्नुहुन्छ । उहाँहरुले नै संसद र मन्त्रिपरिषद् बसेर डब्ल्यूएचओको मान्यता अनुसार एकजना संक्रमित बराबर ७ लाख रुपैयाँ खर्च भनेको हो । स्वास्थ्य मन्त्रीले रोस्टममा उभिएर १० अर्ब रुपैयाँ खर्च भयो भनिसकेपछि एकजना संक्रमितमा कति खर्च भयो होला ?’ डा. कोइरालाले प्रश्न गरे ।

उनले सेनाले माक्स, पीपीईलगायतका सामानमा गरेको लफडाको कुनै सिमै नभएको दावि गरे । स्वास्थ्य सामग्री, राहत, क्वारेन्टाइन सबैमा भ्रष्टाचार भएको बताउँदै हुँदा–हुँदा मलेसियाबाट मजदूर ल्याउने नाममा पनि भ्रष्टाचार भएको जनाए । ‘नागरिकलाई त्यति सुविधा पनि दिन नसक्ने र जवाफदेहिता, उत्तरदायी र पारदर्शीता नहुने व्यक्ति सरकारमा नबसे हुन्छ । नागरिकलाई सानोभन्दा सानो कुरा पनि दिन नसक्ने हो भने के को लागि सरकार हो ?’ उनले प्रश्न गरे ।

डा. कोइरालाले प्रधानमन्त्रीले संसदको रोस्टममा बसेर भ्रष्टाचार भएको छैन र गर्न दिन्न भनिरहँदा आफुलाई हाँसो लागेको बताए । ‘प्रधानमन्त्रीजीको एउटा रटान सुन्दै मलाई हाँस उठ्छ । उहाँ भन्नुहुन्छ, ‘म भ्रष्टाचार गर्दिन, र अरुलाई पनि गर्न दिन्न ।’ तर, यहाँ भ्रष्टाचारका कुरा बग्रेल्ति आइसक्यो । यो सरकार त भ्रष्टाचारको दलदलमा फसिसक्यो अब के बाँकी छ ?’ प्रधानमन्त्रीको कुरा सुन्दासुन्दा नेपाली जनताको कान पाकिसकेको डा. कोइरालाको तर्क छ । ‘त्यसैले युवाहरु सडकमा आएका हुन् । म त ती युवाहरुलाई धन्यवाद दिन्छु ।’

प्रधानमन्त्रीले १० अर्बको हिसाब नखोज्नुस् अहिले त कोरोनाको चिन्ता गर्नुहोस् भन्नु पनि यो सरकार भ्रष्टाचारको चाङमा उभिएको प्रमाणित हुने उनको तर्क छ । ‘हिसाबकिताब नहोस् भन्ने प्रधानमन्त्रीजी भ्रष्टाचारको चाङमा उभिनुभएको छ । हुँदाहुँदा सेनाले ल्याएको सामानमा पनि भ्रष्टाचार भयो । योभन्दा दूर्भाग्य केही हुनसक्छ यो देशमा ।’

कोइरालाले युवाहरुले सडकमा विरोध गरेपछि गृह मन्त्रालयले नारा, जुलुस गर्नेलाई कारबाही गर्छु भन्नु गलत रहेको जिकिर गरे । ‘अधिनायकवादी सरकारमा यही त हुन्छ, अरु हुन्छ के ? ती युवाहरुलाई म आग्रह गर्दछु ‘गृहमन्त्रालय दिएको आदेशलाई तपाईंहरु नमान्नुस ।’

उनले भ्रष्टाचार गरेको छ भनेर शान्तिपूर्ण जुलुस गर्दा डन्डा हान्ने, पानीको फोहोरा हान्ने, खुट्टा भाँच्ने, काम नगर्न प्रहरीलाई अनुरोध पनि गरे । ‘यस्ता विषयमा गृहमन्त्रालयले भनेका कुराहरुलाई अवज्ञा गर्नुहोस् अनि मात्रै तपाईंहरु असल पुलिस बन्न सक्नुहुन्छ । देशमा कुनै–कुनै बेला यस्तो आउँछ जुन बेला पुलिसले अवज्ञा गर्न सक्नुपर्छ ।’

कोइरालाले गृहमन्त्रालयले आन्दोलन गर्नेलाई जरिवानासहित ६ महिना जेल हाल्ने भन्नु राजाको शासनकाल जस्तै भएको बताए । उनले युवाहरुले उठाएको माग अत्यन्त जायज रहेको बताए । ‘जायज माग लिएर सडकमा जाँदा पुलिसले डन्डा हान्छन् भने भोलि अझै धेरै मान्छे जम्मा हुन्छन् । ती सडकमा उत्रिने युवाहरुले प्रहरीको डण्डा, अश्रुग्याँसको प्रवाह गर्दैनन् ।’

डा. कोइरालाले कांग्रेस सरकार ढाल्ने पक्षमा नरहेको बताउँदै आन्दोलन गर्दैमा सरकार ढलिहाल्ने पनि हैन भने । उनले सरकार सच्चियोस् भनेको दावि गर्दै गलत कामबाट अब पनि नसच्चिने ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे । डा. कोइरालाले चार्टर्ड फ्लाइटहरु लिँदा पर्यटन मन्त्रालयमा भ्रष्टाचार भएको सार्वजनिक भएको, सामान खरिदमा भ्रष्टाचार भएको, कमसल सामान ल्याइएको तर्क गरे ।

उनले तीनतीन महिना लकडाउन भएको अवस्थामा उद्योगी व्यापारीले तत्कालै सरकारलाई कर तिर्न नसक्ने पनि बताए । ‘अर्थमन्त्रीले त तिनैपर्छ भन्नुभयो नि ?’ धमलाको प्रश्नमा डा. कोइरालाले भने–‘अर्थमन्त्रीले तिरेर देखाउनुहोस् । कहाँबाट पैसा ल्याउनुहुन्छ हामी पनि हेर्छौं । तपाईं तिर्नुहुन्छ ? कुनै पनि मिडियाले तीन महिनाको कर तिर्न सक्छ ? त्यसैले सुप्रिम कोर्डले पुरै लकडाउन खुलेको एक महिनापछि कर तिर्नु भनेको छ । त्यो ठीक निर्णय हो । सरकारमा बस्नेहरुले घुस खान, भ्रष्टाचार गर्ने अनि जनतालाई कर तिर भन्ने ?’

डा. शेखर कोइरालाले सिमा विवाद समाधानका लागि वार्ताबाहेक अर्को उपाय नरहेको बताए । ‘वार्ता, वार्ता र वार्ता । अब संविधान संशोधनपछि वार्ता गर्नुपर्छ । भारतले कोभिडपछि भनेको छ । त्यो पर्खिनुपनि पर्दैन होला किन भने भर्चुअल वार्ता पनि हुन सक्छ ।’ उनले भारतसँगको सिमा विवाद वार्ताबाट सुल्झ्याउन नेपाली कांग्रेसको सभापतिले नेतृत्व लिनुपर्ने बताए । उनले नेपाली कांग्रेस ठूलो जिम्मेवार र पुरानो पार्टी भएको हिसाबले भारतसँग वार्ताको पहल गर्नुपर्ने बताए ।

एमसीसी परियोजनाका विषयमा डा. कोइरालाले एमसीसी शेरबहादुरजी प्रधानमन्त्री हुँदा एग्रिमेन्ट भएको बताउँदै त्यसभित्रका धेरै कुरा देउवालाई नै थाहा भएको बताएका छन् । ‘उहाँलाई त्यसको भित्री धेरै कुरा थाहा छ, हामीहरुलाई थाहा छैन ।’ उनले एमसीसीलाई संसद्मा पेश गरे कांग्रेसले भोट हाल्ने र त्यसलाई पास गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *