जसले तीन दशक नेपाली चलचित्रलाई काँधमा बोके

नेपाली चलचित्रमा तीन दशक राज गर्न सफल नायक राजेश हमाल ५६ वर्षमा प्रवेश गरेका छन् । उनले आज आफ्नो ५६ औं जन्मदीन श्रीमती मधु भट्टराई तथा परीवारजन सँग मनाउँदैछन् ।

लकडाउनका कारण काठमाडौं कपुरधारा स्थित घरमै रमाईरहेका हमालले विहानै आफ्नो फेसवुकमा दुईवटा तस्विर पोस्ट गरे । एउटामा उनी आजभन्दा ३० वर्ष अगाडीको छन् भने अर्कोमा आजैको तस्विर रहेको छ । जहाँ उनले लेखेका छन् ‘आजको दिन विशेष छ । साथीहरूबाट पाएको आशीर्वादको साथ ।’

युगदेखि युगसम्म देखि सकुन्तलासम्म

युगदेखि युगसम्मबाट नेपाली चलचित्रमा प्रवेश गरेमा हमालले अहिलेसम्म करिब तीन सय चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय नेपाली चलचित्रमा नदेखिएका राजेश हमाल सामाजिक क्षेत्र र कलाकारितामा भने सक्रिय छन् । उमेर अनुसार सुहाउँदो चलचित्र नपाएपछि अभिनयलाई विश्राम दिएका हमाल आफैंले चलचित्र निर्देशन गर्ने भनिरहेपनि अहिलेसम्म आँटेका छैनन् । पछिल्लो समय उनी टेलिभिजनका पर्दामा रुचाइएका थिए । कौन बनेगा करोडपतीको नेपाली फ्रेञ्चाइज चलाएर चर्चामा आएका हमालले क्विज कन्टेस्टहरु पनि चलाएका छन् ।

नायक हमालले तीन दशकमा केही यस्ता यादगार चलचित्र खेलेका छन् जसलाई नेपाली चलचित्रमा स्वर्ण चलचित्र भनिन्छ । त्यसो त, उनको पहिलो चलचित्र युगदेखि युगसम्म नै सुपरहिट चलचित्र हो । हमालको नेपाली चलचित्रमा प्रवेश गरेसँगै भुवन केसी, शिव श्रेष्ठको भूमिका खुम्चँदै गयो ।

युगदेखि युगसम्म, देउता, बसन्ती, भाउजु, अधिकार, ज्वाला, शंकर, कसम, चट्याङ, एक नम्बरको पाखे, साथी, माटो बोल्छ, जिन्दगानी, गोपीकृष्ण, सिमाना, पृथ्वी, अल्लारे, अग्नी परीक्षा, हिरो सफल चलचित्र हुन् । उनले पर्दामा गाउँले देखी, शहरीया, प्रहरी देखि चोर नायक देखि खलनायकको भूमिका निर्वाह गरेका छन् । पछिल्लो समय उनको सकुन्तला र बागमती फिल्म आयो तर, त्यसले राजेश हमाललाई आशातित सफलता प्राप्त हुन सकेन । त्यस यता उनले फिल्म खेलेका छैनन् ।

पर्दामा विद्रोही हमाल जसले परीवार भित्रै विद्रोह गरे

राजेश हमालले जति फिल्महरु खेले ती मध्ये अधिकांश क्रान्तिकारी फिल्म थिए । भन्नु पर्दा उनले विद्रोही फिल्म खेले । २०४६ साल र त्यस अघिको समाजमा ब्याप्त पञ्चायती शाहुकार जसले सोझासाझा गाउँलेलाई सधैं दवाएर राख्थे, थिचोमिचो गर्दथे ।
त्यस्ता सामाजिक थिचोमिचो विरुद्धमा आवाज उठाउने युवाको भूमिका निर्वाह गरेका छन् ।

चट्याङ, पृथ्वी, शंकर, ज्वाला, गाउँले, एक नम्बरको पाखेमा उनले विद्रोही युवा (जो अन्याय र अत्याचारको विरुद्ध लड्छ) को भूमिका निर्वाह गरेका छन् ।

तत्कालिन समय र २०४६ साल पछिको राजनीतिक परीवर्तन र चेतनालाई अभिनय मार्फत राजेश हमालले प्रस्तुत गरेकाले उनी नेपाली चलचित्र क्षेत्रमा सफल भएका हुन् ।

त्यसो त तत्कालिन समयमा राजेश हमालको नेपाली चलचित्रमा आगमन नै एक प्रकारले विद्रोह थियो । उनका बुबा स्वर्गिय चुडाबहादुर हमाल पाकिस्तानका लागि नेपाली राजदुत थिए । उनी हमाललाई चलचित्र क्षेत्रमा ल्याउन चाहँदैनथे । तर, रसियामा बसेर उच्च शिक्षा हासिल गरेका हमाललाई कलाकारीतामा आउने रहर थियो ।

पछि भारतको चण्डीगढमा अध्ययन गर्नेक्रममा मोडलिङ क्षेत्रमा लागि सकेका राजेशले पहिलो चलचित्र खेल्दा उनका बुबाले रुचाएनन् । हमालको चलचित्र क्षेत्रमा प्रवेश सँगै बुबासँग बोलचाल बन्द भयो । जुन बुबाको मृत्यु पर्यन्त रह्यो । यो कुरा राजेश हमाललाई जिवनभर खड्किइरहने विषय भएको छ ।

बुबा चुडाबहादुर उनलाई नेपाली चलचित्रको भविष्य छैन भन्थे तर, राजेश हमालले तीन दशक नेपाली फिल्मलाई काँधमा लिएर हिँडे, संभवतः राजेशको नेपाली चलचित्रमा आगमन नहुँदो हो त नेपाली चलचित्र क्षेत्र अहिलेको अवस्थामा पनि आउने थिएन । उनकै समकक्षी नायक तथा कलाकारले राजेश हमाललाई नेपाली चलचित्र उद्योगको धरोहर भन्छन्, त्यहि भएर उनलाई नायक भन्दा माथि राखेर महानायकको उपाधि दिइएको छ । भारतमा अभिताभ बच्चनलाई जसरी ‘एङ्ग्री यङ्ग म्यान’ भनिन्छ, नेपाली चलचित्रमा राजेश हमाललाई सोहि रुपमा हेरिएको थियो ।

सदाबहादर डायलग

राजेश हमालको एक्सन दृश्य नभएको कमै फिल्म छन् । तीन सय फिल्ममा उनले दुई तिहाई फिल्ममा ‘एङ्ग्री यङ्ग म्यान’को रोल गरेका छन् । उनका केही सदावहार डायलग छन् । ‘हे, साथीहरुको लागि यो हात सलाम छ, दुस्मनको लागि फलाम छ’ ‘शंकर हुँ म शंकर’ प्रायः पर्दा उचाल्ले हमालका डायलग गाउँदेखि शहरसम्म लोकप्रिय छन् ।

अनुहारले चल्थ्यो चलचित्र

राजेश र कृष्टि

२० वर्षे नेपाली चलचित्रको इतिहास हेर्यौं भने, अधिकांश चलचित्रमा राजेश छन् । कथा जस्तो सुकै होस राजेश हमाल होस फिल्म चल्छ, हिट हुन्छ भन्ने मान्यता त्यति खेरका निर्माता निर्देशकहरुमा थियो । नयाँ निर्माता निर्देशकहरु जतिसुकै समय लागोस राजेश हमाललाई नै लिएर फिल्म बनाउनु पर्छ भन्थे । त्यहि भएर उनले खेलेका तीन सय फिल्महरुमा करिब दुई दर्जन फिल्म हेर्न लायक र स्मरणीय छन् ।

एउटा सास्वत सत्य के हो भने, यदी राजेश हमालले त्यो बेला फिल्म नखेलेको भए, नेपाली फिल्ममा निर्माता निर्देशकलाई आउने बाटो नबनाई दिएको भए अहिले नेपाली चलचित्र यहाँसम्म आइ पुग्दैनथ्यो कि ? त्यसो त उनलाई नेपाली फिल्म विगारेको आरोप पनि लगाउनेहरु छन् जस्तो पायो त्यस्तै चलचित्र खेलेर ।

कोर्ट मार्सल

राजेश हमालले थिएटरमा पनि राम्रो चर्चा कमाएका छन् । उनले कोर्ट मार्शल नामक नाटकमा अभिनय गरेका छन् । अनुप बरालको निर्देशनमा मञ्चन गरीएको नाटकमा हमालले गरेको अभिनय रुचाइएको थियो । नाटकमा उनले जिवन्त अभिनय गरेका थिए ।

कृष्टि, करिष्मा र रेखासम्मका हिरो

राजेश हमाल यस्ता कलाकार हुन् जसले पुराना नायिकादेखि अहिलेका चर्चित नायिकासम्म पर्दामा रोमान्स गरेका छन् । उनको पहिलो चलचित्र युगदेखि युगसम्ममा कृष्टि मैनाली नायिका थिइन् । त्यसपछि उक्त समयका चल्तापुर्जा नायिकाहरु गौरी मल्ल, विना बुढाथोकी, करिष्मा मानन्धर, विपना थापा, मौसमी मल्ल, निरुता सिंह, जल शाह, झरना थापा, रेखा थापासँग स्क्रिन शेयर गरे ।

राजेश र करिष्मा

राजेश र करिष्माको सदावहार जोडी

राजेश हमाल र करिष्मा मानन्धरको जोडी अत्याधिक रुचाइएको थियो । राजेश र करिष्मा जोडी भएर खेलेका प्रायः फिल्म सफल छन् । भाउजु, अल्लारे, जिन्दगानी, बसन्ती, साथी, देउकी, परिभाषा, अग्नी परीक्षा सफल चलचित्र हुन् । हमालले फिल्मी करियरमा करिब दुई दर्जन चलचित्र त करिष्मासँग खेलेका छन् । पछिल्लो समय राजेश र करिष्माले ‘किन किन’ नामक फिल्म खेलेका छन् ।

वैवाहिक जिवन

तीन दशक चलचित्रमा एकछत्र राज गरेका हमालले बैवाहिक जिवन भने ५० वर्ष पुगेपछि शुरु गरे । उनले करिब ६ वर्ष अघि मधु भट्टराईसँग बैवाहिक जिवन शुरु गरेका हुन । हमालको कलेज जिवनमा एउटी विदेशी युवतीसँग प्रेम थियो । विविध कारणले त्यो प्रेम सफल हुन सकेन । त्यसो त राजेश हमालले कतिपय अन्तरवार्ताहरुमा त्यो अल्लारे प्रेम थियो भनेका छन् ।

श्रीमती मधुका साथ राजेश हमाल

चलचित्र क्षेत्रमा प्रवेश गरेपनि उनको केही नायिकाहरुसँग अफेयर रहेको हल्ला चले । भाग्यरेखामा नायिका कृष्टि मैनालीसँग अफेयर रहेको भन्दै निकालिएका हमालको पछि सनी रौनियार, करिष्मा मानन्धरसँग नाम जोडियो तर, ति सबै हल्लाहरुमै सिमित भए ।

५६ वर्षमा २२ वर्षे जोश

राजेश हमालको जिवन सादगी छ । करिब २० वर्षदेखि राजेशले भात नखाएको उनी आफैं भन्दछन् । ५६ वर्षको भइसक्दा पनि राजेश हमालमा २२ वर्षे लक्का जवानको स्फुर्ति छ । जसको रहस्य भनेको शारीरिक कसरत, खानपन हो । उनी विहानै उठेर दैनिक एक घण्टा शारीरिक ब्यायाम गर्छन् । खानपानमा विशेष ध्यान दिन्छन् । सकारात्मक सोच्छन् ।

आजकल लकडाउनमा राजेश हमाल सामाजिक सञ्जालमा खुबै छाएका छन् । प्रायः दिनदिनै विभिन्न प्रकारका भिडियाहरु पोस्ट गर्छन्, देशको राजनीतिक अवस्था, सामाजिक अवस्था, विभेदका कुरा गर्छन् । समाजलाई युवाहरुलाई उत्प्रेरणा दिने भावना ब्यक्त गर्छन् । साथमा श्रीमती मधु भट्टराईसँग गीतमा पनि नाचिरहेका भेटिन्छन् । हासिँरहेका भेटिरहन्छन् । जिवनलाई हासो र खुसीमा विताउनु पर्छ भन्ने सोच लिएका हमाल आजकल प्रायः अन्र्तवार्ताहरुमा आफुलाई भर्खर २५ वर्ष पुगेको भन्दै ठट्टा गर्छन् ।

अझैपनि त्यहि ब्यस्तता, त्यहि क्रेज

तीन दशकको राजेश हमालको चलचित्र कर्ममा उनीसँग प्रतिष्पर्धा गर्न दर्जनौं आए । सकमक्षी भुवन केसी, शिव श्रेष्ठ, श्री कृष्ण श्रेष्ठ, धिरेन शाक्य, विराज भट्ट, निखिल उप्रेती, आर्यन सिग्देल, दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, विपिन कार्की हुँदै पछिल्लो समय अनमोल केसीसम्म आइपुग्दा पनि राजेश हमालको क्रेज घटेको छैन ।

हमाल अहिले चलचित्रको पर्दामा छैनन् तर, उनको क्रेज घटेको छैन । उनी जहाँजहाँ जान्छन् पत्रकारका क्यामरा र कलम पुग्छन् । दर्शकको हुटिङ गुञ्जिन्छ । र, यो सबै उनलाई नेपाली चलचित्रले दिएको छ । तीन दशक राजेश हमालले नेपाली चलचित्र उकास्न गरेको मेहनत, संघर्षको फल हो । नेपाली चलचित्रले राजेश हमालकाे बागडाेर कसले संहाल्न सक्ला ? प्रश्नहरू गर्नेछन् ।

जसरी फुटवलमा मेस्सीले देशका लागि विश्वकप पाउन बाँकी छ, त्यसैगरी राजेश हमालले आफ्नो ब्यक्तिगत जिवनमा एउटा सन्तान अर्थात उत्तराधिकारी पाउन बाहेक केही बाँकी छैन । र, त्यो पनि चाँडै प्राप्त होला कि ?

जन्मदीनको शुभकामना महानायक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *