‘नेपालको कुनैपनि भूभाग कुनैपनि सन्धि गरेर दिइएको छैन’ नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले नेपालका कुनैपनि शासक र सरकारले सुगौलि सन्धि पछाडि अर्को सन्धि वा सम्झौता गरेर नेपालको कुनै भूभाग कसैलाई नदिएको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा श्रेष्ठले यस विषयमा स्पष्ट हुन अनुरोध गरे । ‘नेपालको कुनैपनि भूभाग कुनैपनि सन्धि सम्झौता गरेर दिइएको छैन ।’ श्रेष्ठले भने ।
भारतद्वारा अतिक्रमण भएको लिम्पियाधुरा कालापानी लिपुलेक सहितको पश्चिमी भूभाग फिर्ता गर्न र अतिक्रमित भूभागमा भएका विदेशी सुरक्षाकर्मीहरु फिर्ता गरिनुपर्छ भन्नेमा नेपालका सबै राजनीतिक पार्टी, सामाजिक शक्ति र देशभक्त नेपाली जनता एक ठाउँमा आएको अवस्थामा अब भारतसँग कुटनीतिक वार्ताको माध्यमबाट सीमा समस्या समाधान गर्नुपर्ने श्रेष्ठले बताए । ‘विगतमा कसले कमजोरी गर्यो पछि खोजौला, समिक्षा पछी गरौंला । अहिलेको अवस्थामा डिप्लोमेसी तवरले अतिक्रमित भूमी प्राप्त गर्न लागौं ।’ उनले भने ।

उनले राजनीतिक पार्टी, इतिहासविद, सामाजिक शक्तिलगायतका सबै शक्तिहरुलाई आरोप प्रत्यारोपमा नलाग्न आग्रह गरे । इतिहास र कमजोरीको समिक्षा पछाडि पनि गर्न सकिने भएकोले अहिलेको ऐतिहासिक पहललाई भूमि प्राप्ति गर्ने विन्दुसम्म पुर्याउन एक ढिक्का भएर लाग्न आह्वान गरे । उनले कूटनीतिक वार्ता मार्फत छिमेकीसँगका सबै समस्या समाधानका गर्न चाहेको प्रष्ट पारे । ‘नेपाल भारतको सिमा विवादमा कहिले काँही आवेग र उत्तेजनामा आउँछ तर, दुवै देशविचको सम्बन्धका आयामहरु विशिष्ठ भएको तथा आजको विश्वमा डिप्लोमेसी नै डिफेन्सको पहिलो लाइन हो, त्यसैले आवेग, आक्रोस र उत्तेजनामा नआइकन कुटनीतिक संवादबाट समस्या समाधान गर्न अग्रसर हुनु पर्दछ ।’ श्रेष्ठले भने ।

नारायणकाजी श्रेष्ठले भारतसँग सिमा विवादका विषयमा कुटनीतिक वार्तामा बस्दा ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा समस्याको समााधान गर्नु पर्नेमा जोड दिए । साथै नेपालले कुटनीतिक वार्ताको लागि पहल चाहिरहेको बेला भारतीय पक्षले अरुको उक्साहटमा लागेको आरोप लगाउनु खेदजनक रहेको बताए । ‘नेपालले कुटनीटिक तवरले समस्या समाधान चाहिरहेको बेला भारतीय सेनापति, भारतिय विदेश मन्त्रालयका पूर्वसचिव जस्ता कयौं व्यक्तिहरुले आरोप लगाउनु खेद जनक छ ।’ उनले भने ।

नेपालको सार्वभौमिकता र अखण्डता र स्वतन्त्रताका विषयमा बोल्दै भने–‘विश्वमा औंलामा गन्न सकिने देशहरु मात्र साम्राज्यवादबाट मुक्त रहेर उपनिवेश नबनेको अवस्थामा दक्षिण एसियामा सबै उपनिवेशको सिकार भएको बेला हामी स्वाधिन र स्वतन्त्र देशका रुपमा रह्यौं । सिर ढाडो गरेर अगाडि बढ्यौं । त्यस्तो देशको जनताले आफ्नो भूमि प्राप्त गर्नको निम्ति आवाज उठाउनु स्वाभाविक हुन्छ । अरु कसैको उक्साहटको आवश्यकता पर्दैन । हामी त्यसका निम्ति सक्षम छौं । त्यसकारण म मित्रहरुलाई त्यस प्रकारको अभिव्यक्ति सच्याउन आग्रह गर्छु ।’

तथ्यहिन त्यस्ता आरोपले दुई देशको सम्बन्धमा समस्या उत्पन्न गराउन सक्ने र अहिले देखिएका समस्या समाधानमा बाधा उत्पन्न गराउने उनको भनाइ छ । सम्बन्धित व्यक्तिहरुले आरोप नसच्याए पनि भारत सरकारले व्यवहारबाट सच्याउएर देखाउनु पर्ने श्रेष्ठको भनाई छ ।

नेपाल र भारतबीच सामाजिक सांस्कृतिक र जनस्तरको सम्बन्ध रहेको उनले बताए। यस्तो सम्बन्धलाई आफ्नै विशिष्टता सहितको बहुआयामिक सम्बन्धका रुपमा लिदै आएको बताए। उनले नेपाल र भारतबीच मैत्रि सम्बन्धको विकल्प नरहेको समेत बताए। भारत र नेपालबीचको मैत्रि सम्बन्ध बारेमा नेपाल सरकार, राजनीतिक पार्टी र नेपालीजनता भारत र भातीय नागरिकको विरुद्धमा हुनै नसक्ने श्रेष्ठले बताए।

नेपाल सार्वभाैमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानको रक्षा गर्नु अरु कुनै पनि देशको नागरिक भए जस्तै हाम्रो कर्तव्य भएको उनले बताए। आफ्नो कर्तव्यका पक्षमा लाग्दा अरु कुनै देशले आफ्नो विरोध भयो भनेर सोच्नु उपयुक्त नहुने श्रेष्ठकाे तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *