‘अर्थमन्त्री ज्यू, साउनमा बोतलमा भरेर मेलम्चीको पानी काठमाडौं ल्याउने हो ?’

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले लक्षित वर्गलाई समेट्न नसकेको सांसद लक्ष्मी परियारले बताएकी छिन् ।संसदमा आज विनियोजित बजेट माथिको छलफलमा बोल्दै सांसद परियारले रोजगारी सृजना गर्ने सवालमा, कोरोना महामारी निर्मुल गर्ने तथा कृषि क्षेत्रको विकास गर्न बजेटले ठोस योजना बनाउन नसकेको बताइन् ।

‘बजेट भनेको बाँच्ने, हिँड्ने, तङग्रीने र कुद्ने हो । तर, यो बजेटले आश्वासन मात्र बाँडेको छ ।’ उनले भनिन् ।

सांसद परियारले यो पटकको बजेट आश्वासन बाँड्ने र कार्यकर्ता पोस्ने मात्र भएको जिकिर गर्दै स्वास्थ्यमा अप्रयाप्त बजेट भएको बताइन् । उनले शिक्षा क्षेत्रमा कोभिड १९ बाट बालबालिकालाई बचाउने सन्दर्भमा बजेटले बोल्न नसकेको जनाइन् । ‘माननीय अर्थमन्त्री ज्यू, तपाईले बालबालिकालाई कोभिडको नजरले हेर्न सक्नु भएन ।’ उनले भनिन् ।

परियारले बजेटमा रोजगारीका धेरै कुरा आएपनि आधार के हो प्रष्ट गर्न नसकेको बताइन् । उद्योग ब्यवसायको आधार खडा गर्न नसकेको अवस्थामा रोजगारी सृजना गर्छु भन्नु आश्वासन दिनु वाहेक केही नरहेको उनको तर्क छ ।

परियारले गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा झार उखलेर बजेट खर्च गरेको स्मरण गर्दै आधारविनाको रोजगारीले समृद्ध देश बन्न नसक्ने ठोकूवा गरीन् । ‘पोहर साल प्रधानमन्त्री रोजगार कार्यक्रममा बेल्चाले मकै गोडेर, बाटाको झार कार्यकर्तालाई उखेल्न लगाएर खर्च गरीयो । यसरी रोजगार सस्टेण्ड हुँदैन । आधार बनाउनु पर्छ ।’

कृषि क्षेत्रमा उन्नत विउविजन सामुहिक शित भण्डारका कार्यक्रममा विचौलियालाई पोस्ने काम भएको उनको तर्क छ । उनले कार्यकर्ता पोस्ने बजेटले देश विकास हुन नसक्ने भनिन् । ‘कार्यकर्ता पोस्ने बजेटले कसरी नेपाली संमृद्ध हुन सक्छन् । यो सरकारको एउटा देखाउने दाँत र अर्को चपाउने दाँत रहेको छ ।’ उनले भनीन् ।

परियारले गरिब तथा दलितवर्गका लागि विनियोजित बजेट माटाको पर्खाल जस्तो भएको तर्क गरीन् । ‘दलितका लागि विनियोजित बजेट नत यसलाई चाट्न मिल्छ, नत निल्न मिल्छ ।’

परियारले अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै गर्दा आउँदो साउनमा काठमाडौंमा मेलम्चीको खानेपानी आउने दावी गरेपनि त्यसको संभावना नरहेको जिकिर गरीन् । ‘साउनमा मेलम्चीको पानी काठमाडौं ल्याउने त भन्नु भयो तर कसरी आउँछ पानी ? म त आउने अवस्था देख्दिन । कि बोतलमा भरेर ल्याउने हो अर्थमन्त्री ज्यू ?’ उनले प्रश्न गरीन् ।

परियारले बजेटले दलित समुदायलाई अपेक्षा गरेको, दलितका सन्दर्भमा अर्थमन्त्रीले दलितका विषयमा सदनलाई समेत विभेद गरेको आरोप लगाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *