मनिषा कोइरालाका पक्षमा कुन कलाकारले के बोले ?

काठमाडौं । मनिषा कोइरालाले मातृभूमीको पक्षमा दिएको अभिब्यक्तिप्रति भारतीय मिडियाले खेदो खनेपछि नेपाली कलाकारहरु पनि नायिका मनिषा कोइरालाको पक्षमा उत्रिएका छन् ।

दुई दिन अघि मनिषाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटलाई रिट्वीट गर्दै नेपाल सरकारले लिम्पियाधुरा, कालापानी लिपुलेक भूभाग समेटेर नयाँ नक्सा जारी गरेकोमा स्वागत गरेकी थिइन् । सोको विरोधमा भारतीय मिडियाहरुले मनिषा कोइरालालाई तल्लो स्तरको गाली गरेपछि नेपाली कलाकारहरुले मनिषाले राष्ट्रियताका पक्षमा बोलेको बताएका छन् ।

कलाकार तथा निर्माता दीपकराज गिरीले भारतीय मिडियाको प्रोपोगाण्डा हास्यास्पद भएको बताएका छन् । उनले मनिषाको राष्ट्रप्रेम स्वभाविक र सहि समयमा भएको बताएका छन् । ‘मनिषा कोइराला पहिलो नेपाली कलाकार हुन् । जसले त्यो स्थानमा पुगेर गर्वसाथ आफूलाई नेपाली भनेरै चिनाइन् । उनकै हाराहारीमा चर्चा पाएका केही कलाकार आफूलाई नेपाली भन्न रुचाउँदैनन् । तर, मनिषालाई भारतमा पनि नेपाली सुन्दरी भन्ने गरिन्थ्यो । उनी नेपाली छोरी भएकाले नेपालको पक्षमा बोल्नु कुनै अनौठो कुरा होइन ।’ गिरीले भनेका छन् ।

नायिका पूजा शर्माले पनि मनिषा कोइरालाको समर्थनमा लेखेकी छिन् । नायिका शर्माले लेखेकी छिन्–‘आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनिषा कोइरालाले नेपाली भूमिको बिषयमा टिप्पणी गर्दा भारतीय मिडिया रोइलो गरिरहेका छन् । तर, उनीहरुले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा गरेनन्, यो दुखको कुरा हो ।
पूजाले अगाडी लेखेकी छिन् ‘मनीषा दिदीले भारतको नुन भिख मागेर खानुभयको हैन आफ्नो कलाकारितामा उभियर खानुभयको हो । मनीषा दिदीको योगदानलाई लत्याउदै उल्टै अपशब्द बोल्ने मिडीया प्रति टीठ लागेर आयो! नेपालीहरु काम र कर्मको सिलसिलामा सन्सारभर होलान तर जब देश र आफ्नो जमीनको कुरा हुन्छ तेतीबेला देशकै पक्षमा बोलीन्छ जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिदैन चेतना भया! अर्को दुःख यसमा लागेको छकी भारतीय मिडीयाले नेपाल र मनीषा दिदीको बारेमा ठुलो ठुलो स्वरमा नानाभती भनीरहदा नेपालका मिडीयाहरुले खासै आवाज उठाउन सकेनन्’

गायिका इन्दीरा जोशीले पनि मनिषालाई समर्थन गरेकी छिन् । गायिका इन्दिरा जोशी लेख्छिन्–‘आफ्नो अद्भुत अभिनय क्षमताका कारण उनले बलिउडमा थुप्रै योगदान दिएकी छिन् । कैयौ हिट चलचित्र दिएकी छिन् । कर पनि तिरेकी छिन् । यो व्यक्तिगत कुरा होइन, सेवाको आदान–प्रदानको कुरा हो । क्यान्सरसँग लडेकी एक बहादुर महिला धेरैका लागि उदाहरण हुन् । सत्यको पक्षमा उनी उभिएकी छिन् ।’ उनले अङ्ग्रेजीमा लेखेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *