प्रधानमन्त्रीको संसदमा संवोधन:‘कोरोना महामारी मुक्त भएपछि नेपालको स्वास्थ्य एक तह माथी उक्लनेछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भित्र राजनीति गरिएको बताएका छन् । गत २ गते संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले जनताले कोरोना रोकथामका लागि सरकारलाई उल्लेख्य सहयोग र समर्थन गरेपनि केहीले राजनीति गर्न खोजेको बताए ।

‘कोरोना संक्रमण भित्र राजनीति गरियो । कोरोनाको नियन्त्रण भन्दापनि सरकारको असफलता देखाइयो ।’ उनले भने । ओलीले कोरोना रोकथाममा जनताले ब्यापक साथ दिएको बताउँदै सरकारको अहिलेको प्राथमिकता कोरोना मुक्त नेपाल नै रहेको बताएका छन् । ‘हाम्रो नीति तथा कार्यक्रममा कोरोनालाई महत्व दिएका छौं । कोरोना मुक्त नेपाल हाम्रो पहिलो प्राथमिकता भएको छ ।’ उनले भने ।

२३ हजार क्वारेन्टाइन उपयुक्त

प्रधानमन्त्रीले कोरोना नियन्त्रण नीति तथा कार्यक्रममा पनि उल्लेख भएको बताए । उनले स्वास्थ्य सम्बन्धी नीति स्वस्थ नागरिक बनाउनु र निरोगी ब्यक्तिहरुको निर्माण सरकारको प्राथमिकतामा रहेको बताए । ‘कोरोनाका कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने हाम्रो प्रयास विभिन्न कारणले असफल भएको छ । २ जनाको मृत्यु भएको छ । यद्यपि, कोरोना भन्दा अरु विमारीहरुको जटिलताले पनि निधन भएको हुन सक्छ, तर, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जुनसुकै विमारीको कारणले मृत्यु भएको भएपनि कोरोना भएको भए त्यसैबाट मृत्यु भएको मान्नु पर्दछ ।’

ओलीले अरुमा संक्रमण हुन नपाओस भनेर उच्च सर्तकता अपनाएको, परीक्षणको विधि बढाएको, आइसोलेसनमा राख्ने, उपचारको राम्रो प्रबन्ध सरकारले गर्दै आएको बताए । उनले केही क्वारेन्टाइनको गुणस्तर राम्रो नभएपनि त्यसलाई सुधार्नेक्रम रहेको बताए । करिब २३ हजार क्वारेन्टाइन उपयुक्त रहेको उनको भनाई छ ।

उनले कोरोना भाइरस शुरु हुँदा विश्वसँगै त्योसँग लड्ने अवस्था कसैसँग नभएको बताउँदै नेपालमा २३ जनवरीमा देखा परे लगत्तै सरकारले कोरोनासँग लड्ने रणनीति बनाएर गएकोले दुर्घटना कम भएको जिकिर गरे ।

‘अधिकांश बाहिरबाट आएका ब्यक्तिहरुमा कोरोना देखिएको छ । र, बाहिरबाट आउनेहरुले नै सार्ने हो । बाहिरबाट आएको वाहेक कम्युनिटीमा अत्यन्तै कमै संख्यामा सारेको देखिएको छ । खासगरी भारतबाट आएका संक्रमितहरुबाट कोरोना संक्रमण सरेको छ ।’ ओलीले भने । उनले भारतबाट आएकाहरु कम्युनिटीमा लुकेर बस्ने, भागेर बस्ने गर्नाले जोखिम बढेको पनि बताए ।

कोरोना मुक्त भएपछि पनि मुलुक चल्नु पर्छ

उनले कोरोना भाइरस मर्दैन, मार्न सकिँदैन, प्रतिरोधी क्षमताको विकास गर्ने, त्यसलाई प्रवेश गर्नै नदिने सरकारको नीति रहेको बताए । साथै मुलुकलाई कोरोनाको महामारबिाट बचाउने सरकारले हरप्रयास गर्ने पनि बताए । ‘उपचारात्मक विधि, परीक्षण, आइसोलेसन जति गरिरहेका छौं । सबै बाच्नका लागि गरेका हौं ।’

उनले कोरोना नियन्त्रण पछि स्वास्थ्य क्षेत्रमा नेपाल एक तह माथी पुग्ने पनि जिकिर गरे । ‘कोरोना नियन्त्रण पछि स्वास्थ्य क्षेत्रमा नेपाल एक तह माथी पुग्ने छ । कोरोनाले हामीलाई धेरै महंगो अवसर दिएको छ ।’

प्रधानमन्त्री ओलीले संसदमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रतिपक्षले कोरोना नै छैनकी जस्तो गरेर अन्य विकासका कामहरुलाई प्राथमिकता दिएको प्रति आलोचना गरेको बताए । ‘कोरोना मुक्त भएपछि पनि मुलुक चल्नु पर्छ, जिवन चल्नु पर्छ, त्यसपछिको अर्थतन्त्र चलायमान गराउन, कोरोना महामारीले निम्त्याएका आर्थिक, सामाजिक असर न्यूनिकरण गर्न कार्यक्रम ल्याएका छौं ।’ ओलीले भने ।

अर्थतन्त्रमा गम्भिर असर

उनले मानवजातिले कोरोनालाई पराजित गर्ने दावि गरे । ‘कोरोना मुक्त नेपाल, कोरोना मुक्त विश्व हुनेछ । चाडैं मुक्त नभएपनि हामीले हाम्रा प्रवृत्ति र आनीबानी बदलेर खानपानलाई समायानुकूल, बैज्ञानिक रुपमा बदलेर कोरोनालाई पराजित गर्नुपर्छ ।’
प्रधानमन्त्रीले कोरोनाका कारण विश्वकै अर्थतन्त्र धर्मराएको बताउँदै नेपालको अर्थतन्त्रमा समेत गम्भिर असर गरेको बताए । ‘उत्पादन ह्रास आएको छ, भन्सारमा ह्रास आएको छ । रेमिट्यान्स छँदै छैन । अर्थतन्त्रमा गम्भिर असर परेको छ ।’ उनले तर त्यसो भन्दैमा निराश भएर हतोत्साहित भएर बस्न नसकिने जिकिर गरे । ‘फेरीपनि जिवन चलाउनु पर्छ । कोरोनालाई जित्दै अगाडी बढ्नु पर्छ । समाजको आर्थिक कृयाकलाप कसरी चलाउने, हाम्रो उत्पादनले हामीलाई पुग्ने स्थिति बनाउनु पर्छ ।’ ओलीले भने ।

कोरोना पछि विश्वकै अर्थतन्त्र धरासायी भएको बताउँदै उनले दाताहरुले सधैं दिन नसक्ने पनि बताए । १८ वटा देश बाहेक सबै देशको अर्थतन्त्र ऋणात्मक भएको, कोरोनाले रोजगारी र आम्दानीले जवलेस हुने स्थिति पैदा गरेकोमा यो बेला बाँच्नका लागि उपभोग्य वस्तुहरुलाई कसरी उत्पादन गर्ने, उपलब्ध गराउने भन्ने विषयमा गम्भिर हुन जरुरी रहेको ओलीको भनाई छ ।
‘अत्यावश्यक खानेकुरा कसरी उत्पादन र उपभोग गर्ने भनेर यसपटकको नीति तथा कार्यक्रम उल्लेख गरीएको छ ।’ उनले भने ।

प्याकेज देखाउने कुरा हैन

संसदमा कोरोना रोकथाम र नियन्त्रणका लागि प्याकेजको कुरा आएको प्रति भने–‘प्याकेज देखाउने कुरा हैन, उल्लेख गर्ने कुरा पनि हैन । आर्थिक हसाबले हामीले गर्ने ब्यवहार र नितीहरु बनाउनु पर्छ ।’  उनले जनतासँग कुनैपनि प्रकारको छलछामको ब्यवहार गर्न नहुने बताउँदै सरकार भन्ने एउटा, गर्ने एउटा गर्न नसक्ने बताए । ‘राज्यले धान्न सक्ने प्याकेज बनाउनु पर्छ । जसको आम्दानी रोजगारी गुमेको कारणले भएको छ । यसलाई रोजगारीका अवसर दिनुपर्छ ।’

रोजगारीको अवसर उपलब्ध गराउने, उसको कमाईबाट आम्दानी सुनिश्चित गर्ने बाटो सबै भन्दा सुनिश्चित बाटो भएकोले समाज चलाउनको निम्ति, परीवार चलाउनको निम्ति, देशको अर्थतन्त्रलाई कमजोर हुन नदिनका निम्ति सरकारले ठोस कार्यक्रम बनाउने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *