पर्दा देखि पर्दा सम्म

  • प्रकाश सायमी

टाढाबाट हेर्नेले सिनेमालाई ‘मनोरञ्जनको दुनियाँ’ मात्र भन्छन् । यसलाई मनसित मात्र पनि जोड्छन् । मस्तिष्क वा अन्य अवयवसित यसको काम नभएको ठहर गर्छन् तर रमाइलो कुरा विश्वका तीन चिन्तक कार्ल गुस्ताभ जुँग, रमन महर्षि र सिग्मन्ड फ्रायोडले यसलाई जीवनको हरेक पाटासित जोडेका छन् ।

प्रकाश सायमी

अनपेक्षित रुपमा सिनेमाको मास अपिल धेरै छ सिनेमा नबुझ्नेका लागि अपार छ ।

‘सिनेमाले सारा संसार बद्लिन सक्छ’ भन्थे, रुसका नेता लेनिन । उनले आफू भूमिगत हुँदा धेरै राम्रा सिनेमा ज्यूरिचमा हेरे भने आफू सत्तामा आएपछि उनले रुसमा सिनेमाको विद्यालय खोल्न पहल गरे । र, उनैले कुलेशाव, पुडोवकिन र डोभजेन्को जस्ता फिल्मकर्मीलाई फिल्म पढ्न र पढाउन कर गरे ।

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले हिन्दी सिनेमा सितै हाल मिलाएर सिनेमा हाम्रो संसार हो भनेर सम्वोधन गरे अनि बलिऊडका तीन नायक देव आनन्द, दिलीपकुमार र राज कपूरलाई जोडेर थ्री वीगको नाम दिए । उनका समकक्षी पाकिस्तानका प्रधानमन्त्री मोहम्मद अली जिन्ना मुम्बई हुँदा अभिनेत्री नरगीसको शुटिँग हेर्न गइरहन्थे ।

चीनका चर्चित नेता माओ डे जुँग हलिऊडका अभिनेता चार्ली च्याप्लिनका फ्यान थिए, उनी उनलाई पछ्याइरहन्थे । सिनेमासित जोडिएका धेरै राजनीतिक परिवार विश्वभरि नै छन् । सिनेमा ठूलो कुरा होइन तर ठूलो कुरा बनाउँछ जीवनलाई । पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो राजनीतिमा आउन भन्दा अगि सिनेमामा रुचि लिन्थे, उनलाई सिनेमा ल्याउन बलिऊडका फिल्मकार ओपी रल्हनले पुरै कोशिश गरेका थिए तर उनले आँट गरिनन् । बेनजीर पढाइसकेर नाटकतिर त लागिन् । सिनेमालाई उनले आफ्नो कप अफ टी बनाउन चाहिनन् ।

बेनजीर जस्तै पाकिस्तानका चर्चित क्रिकेट खेलाडी इमरान खानलाई सिनेमामा अभिनय गराउन भनेर नै बलिऊडका फिल्म निर्देशक देव आनन्दले अब्बल नम्बर नामको सिनेमा लेखे । राजनीतिक कारण आपसी द्वन्द्वका कारण पाकिस्तानी मूलका खानले हिन्दुस्तानी सिनेमा अव्वल नम्बर खेल्न सकेनन् । समय आयो सिनेमा बन्यो तर इमरानको ठाउँमा अमिर खानलाई लिएर ।

माइतिघरकी नायिका माला सिन्हा तथा नायक सिपी लाेहनी, तस्विरः प्रकाश सायमीकाे फेसवुकबाट

इमरान खान, बेनजीर भुट्टो जस्तै भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई सिनेमामा अभिनय गराउन मुम्बई फिल्म उद्योगका धेरै निर्माता निर्देशकले ताकेता गरेका थिए तर सकेनन् तर अन्तिम पटक ओपी रल्हनले गरेको कोशिशले राजीव एक्टर बन्न सकेनन् बरु उनका साथी अमिताभ बच्चन चैँ पर्दामा आए, नायक भएर ।

सिनेमासित अद्भूत आकर्षण छुन सक्ने र तान्न सक्ने । तर जसलाई सिनेमासित मोह छैन ती सदैव यो आर्क लाइट र चकाचौँधबाट परै रहन्छन् । अभिनेता नेता भएका छन् तर नेता अभिनेता भएको इतिहास कमै छ ।

गायक, खेलाडी, सामाजिक अभियन्ता वा टीभी एँकरले पर्दामा छवि निर्माण गरेका छन् । तर कतिले चाहेर पनि सिनेमासित साइनो जोड्न सकेका पनि छैनन् ।

सिनेमा गज्जबको ठाउँ हो यहाँ आउन चाहने जीऊज्यान लगाएर महिरहत्ते गर्छन् तर कोही बोलाउँदा पनि आउन मन गर्दैनन् ।

गायक प्रेमध्वज प्रधानले म गायक मात्र हुँ नभनेको भए उनी पहिलो नेपाली चलचित्र माइतीघरका नायक हुन्थे वा उनी नेपाली सिनेजगतकै पहिलो नायक मानिन्थे । तर उनले माइतीघर की नायिका माला सिन्हा, निर्देशक वीएस थापा अनि निर्माता जोगेन्द्र झाको प्रस्तावलाई सामान्य शर्तमा अस्वीकार गरिदिए जसले गर्दा माइतीघरमा भानु राणाले नायक बन्ने कोशिश गरे । भानु पनि टिक्न नसकेपछि अन्ततः गीत गाउनै त्यहाँ पुगेका सीपी लोहनी माइतीघरका नायक भए ।

तस्विरः प्रकाश सायमीकाे फेसवुकबाट

माइतीघर को यो कथा जस्तै आमा चलचित्रको पनि त्यस्तै कथा छ, गायक शिवशंकर मानन्धर यसका नायक बने । उनले पनि यसपछि लोहनीले जस्तै अभिनयलाई त्यागी दिए ।

होटल व्यवसायमा सम्बद्ध र शाहकालीन समयमा दरवारसित निकटस्थता भएका सहदेव शम्सेर राणा पनि सिनेमा खेल्न मुम्बई सम्म पुगे, आफ्नो लाखौँलाख खर्च गरेर । तर उनलाई के आसिफ ले नायक बनाउन खोजे पनि उनलाई मुम्बई फापेन उनी सिनेमा छोडेर पछि नेपाल फर्केर होटल अन्नपूर्ण चलाएर बसे । र, पछि उनी बलिऊड, हलिऊडबाट आएका कलाकारलाई होटलमा रात्रिभोज दिएर बसे । सिनेमासित उनको सम्वन्ध यति मात्रै रह्यो ।

बलिऊडसित प्रत्यक्ष नाता नभएपनि काठमाण्डू न्यूरोडमा होटल चलाएर बसेका मथुरा श्रेष्ठले हिन्दीमै पहाडी जवान भन्ने सिनेमा बनाएर नाता जोडे तर उनी पनि यही एउटा सिनेमाबाटै पलायन भए ।

सिनेमामा मानिस तीन कारणले आकर्षित हुन्छन्, प्रसिद्धि, सन्तुष्टि र जनसम्पर्क । तर आर्थिक कारण पनि पछि यसको सहारा बन्न जान्छ । नेपाल र भारत जस्तो गरीब मुलुकमा धनसम्पत्ति भन्दा जीवन गुजारा नै प्रुमख कारण बन्न गएको छ ।

आमाबाबुले अशिक्षा र अभावका कारण बालकालमा छोराछोरीलाई सिनेमामा प्रवेश गराइदिएपनि पछि त्यो तिनको एउटा नशा वा अभिव्यक्तिको सशक्त माध्यम बन्न जान्छ । बलिऊडकी प्रसिद्ध अभिनेत्री रेखा आफ्ना माता र पिता दुवै सिनेमामा भएका कारण सिनेमाप्रति आकर्षित थिइन तर पछि उनलाई परिवारले कि त पढ, कि त सिनेमामा जाउ भने पछि उनले वाध्य भएर सिनेमा नै चुनेकी बताएकी छिन् । सोफीया लरेन, झँ मारियाका पनि यस्तै कथा छन् ।

नेपाली सिनेमामा अभिनय गर्न आएका नायक शिव श्रेष्ठ कुनै पनि सामान्य भूमिकामा खलनायक सम्म भएर खेल्ने रहरले आएका थिए उनी नायक भए र स्थापित भए भने उनकै समकालीन अर्जुनजंग शाही नायक हुने इच्छाले आउँदा पनि खलनायकमा प्रविष्ट भएर पछि पेशागत कारणले चलचित्रबाट दूरस्थ हुनु पर्यो । अर्जुनले पछि पनि चलचित्रमा पुनरागमन गर्ने कोशिश गरे पनि उनलाई सिनेमालाई सहृदयतपूर्वक लिन सकेन । उनी सिनेमाको सीमाबाट बाहिरै रहे ।

अर्जुनजंग शाहीले खलनायकमा प्रवेश पाएकै वेला सिनेमाको चस्का लागेका शरतसिंह भण्डारी पनि जीवन रेखा नामक् चलचित्रका निम्ति खलनायकमा चयन भएका थिए तर उनी आफ्ना पिताको अकस्मात् भएको निधनका कारण गाउँ फर्किनु पर्यो र अन्ततः उनले पिताको राजनीतिक जीवन सम्हाल्न सिनेमालाई छोडेर राजनीतिमा प्रवेश गरे ।

तस्विरः प्रकाश सायमीकाे फेसवुकबाट

पञ्चायतकालमा रापसबाट राजनीतिमा प्रवेश गरेका भण्डारी पर्दामा नआइकनै हराउने एक कलाकार थिए । पछि उनले चलचित्रको मुहुर्तमा आउने र क्ल्याप बजाउने बाहेक अरु काम गर्न सकेनन् । शरतसिंह भण्डारी जस्तै साहित्यिक जगतमा कलम चलाइरहेकी शारदा शर्माले पनि कान्छी नामक् चलचित्रमा नायिकाको भूमिकाको निम्ति अभियनमा कोशिश गरेकी थिइन् । साहित्यकार महेश्वर शर्माकी छोरी शारदा अभिनयमा आउन लागेको कुरा उनकै समकालीन मित्र चेतन कार्कीलाई मनपरेको थिएन र उनले शारदालाई चलचित्र चुनौतीपूर्ण पेशा हो भने हटाइदिइन् ।

शारदा शर्मा हाल साहित्यमै सक्रिय छिन् लेखन र अध्ययनमा । अनि विशेषतः धार्मिकस्थलको यात्रामा । शारदाको ठाउँमा कान्छीमा त्यतिवेला एभरेष्ट दन्तमञ्जनको विज्ञापन खेल्दै गरेकी शर्मीला शाह देखा परिन् उनले कान्छी पछि वासुदेव, के घर के डेरा, चिनो, बादल, गोठालो जस्ता सिनेमामा अभिनय गरेर शारदाको अभावलाई पूरा गरिन् ।

शर्मीला शाह सिनेमामा आएकै समय निकै ठूलो अभ्यास र मिहेनतले अंशुमाला अर्थात् सुषमा शाही पनि चलचित्रमा आएकी थिइन् । चलचित्रप्रेमी धीरेन्द्र शाहीकी छोरी अंशुमालालाई उनकै मामाको नाता पर्ने हेमबहादुर लामाले निकै तालीम, दिग्दर्शन र दिशा निर्देशन दिएर चलचित्रमा ल्याएको भए पनि पछि उनी टेलिभिजन प्रस्तोता विजयकुमार पाण्डेसित विहे गरे पछि सिनेमाबाट ओझल परिन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमए गरे पछि म पुनः चलचित्रमा आउँछु भनेकी अंशुमालालाई एमएले भन्दा विहेले वाधा पुर्यायो उनी फर्केर नेपाली सिनेमामा आउन सकिनन् । उनले पच्चीस वसन्त र टेलिसिरियल मृगतृष्णा मै आफ्नो प्रतिभालाई सीमित राखिन् । तर अंशुमालासित अभिनयमा आएका विजय लामा अहिले हलिऊडको सिनेमामा समेत छाउँदैछन् र सक्रिय फिल्मी जीवन विताउँछैन् ।

महिलालाई अवसरले मात्र पनि सफलता नदिँदोरहेछ भन्ने उदाहरण यो पनि एउटा हो । विजय लामासँगै अभिनयको कखरा सिकेकी अंशुमाला अब विजय कुमारकी पत्नी भनेर मात्र चिनिन थालेकी छिन् त्यो पनि विजयकुमारसित कुनै कार्यक्रममा देखिइन् भने ।

अंशुमाला जस्तै सूर्यमाला शर्मा पनि सरोज खनालसित विहे गरेपछि हराएकीछिन् भने लामो अन्तराल पछि सूर्यमाला भाष्कर ढुँगानाको सिनेमा सुन्तलीमा देखा पर्दैछिन् । सूर्यमालाकी बहिनी चन्द्रमाला जो माला परिवारकी पहिलो सिनेकलाकार थिइन् जसले सिनेकलाबाट विदा लिएर अहिले जुत्ता पसल चलाएर बसेकीछिन् दरवार मार्गमा ।

चन्द्रमाला जस्तै कुनै समयकी चर्चिता सिनेनायिका रुपा राना अहिले जमलमा झोला व्यवसाय गरेर बसेकी छिन् ।

सिनेमा अद्भूत संसार हो, कोही पस्छन् कोही फर्किन्छन् कोही अल्झिरहन्छन् । यो एक्जिटको ढोका जस्तै हो । यहाँ टिक्न धेरै समय र संयम चाहिन्छ । त्यसको ज्वलन्त उदाहरण हो, कुनै समयका चर्चित राजनीतिज्ञ फत्ते सिंह थारुकी साली सुषमा शाही को ।

मनको वाँध की नायिका सुषमा शाही परिवर्तन र कान्छी जस्ता चलचित्र पछि प्रतिभा, रुप र सौन्दर्य हुँदा हुँदै पनि ललिऊडका सिनेमा खेल्ने लालसाले पाकिस्तान गएपछि उतै पलायन भइन् । कहिलेकाहीँ उनको परिवारमा अरुले सिनेमाको रुचि देखाएपनि कोही देखा पर्न सकेको छैन, रंगीन पर्दामा ।

सिनेमामा आउन पाएर पनि हराएका कैयन् कलाकार छन् , जसमध्ये डली गुरुङ र सिर्जना योञ्जनको नाउँ अग्रस्थानमा आउँछ । चाउचाउको विज्ञापनमार्फत् काँचको पर्दामा देखिए डली –(प्रतिभा गुरुङ) पाकिस्तानी निर्देशक आर एस सुलेमानको सात विजलीयाँ की एक बिजुली थिइन् । यो सिनेमा पछि डली पाकिस्तानमा चर्चित अभिनेत्री मध्ये एक थिइन् तर उनको जीवनचक्र मलेशिया, हङकङ हुँदै अन्ततः चलचित्रको रिलजस्तै घुम्दै ललितपुरकै झम्सिखेलमा सीमित भयो ।

सिनेमाबाट पलायन भएपछि काठमाण्डूको त्रिपुरेश्वरमा रोल्स् नामक् रेस्त्राँ खोलेर पुनः नेपाली समाजमा देखा परेकी डली अहिले घरेलु म्यागेजीनका आवरणमा स्वास्थ्यवारे जानकारी दिँदै गरेको देखिन्छिन भने उपत्यकामा हुने ह्यापिनिँग्स्मा उनी आफ्ना पतिका साथ झल्किन्छन् मात्रै ।

नेपाली संगीत जगतमा किरण प्रधान, विनोद स्याँग्देन, वीके गिरी, विमला राई, संगीता प्रधान, तारा थापा जस्ता गायक गायिकालाई सपरिचित गराउने संगीतकार गोपाल योञ्जनले चलचित्रका निम्ति सबभन्दा बढी यादगार गीतमा संगीत दिए भने उनले चलचित्र र आधुनिक संगीतमा दिएका उनका गीत उनका सन्तान मात्र होइनन्, नेपाली कला सौन्दर्यको श्रीसम्पत्ति नै बनेको छ । उनको जेठी सन्तान सृजना योञ्जनलाई उनले नै संगीत गरेको नेपाली सिनेमा पहिलो प्रेममा नायिका को रुपमा निर्देशक चेतन कार्कीले चयन गरे तर सिनेमा शुरु भएर केही दिनपछि दुर्घटनामा परेर हात भाँचिए पछि सृजना अचानक सिनेमाबाट हटाइन् र उनको ठाउँमा करिश्माले प्रवेश गरिन् ।

सांगीतिक परिवारबाट ठूलो सम्भावना बोकेर आएकी सृजना सिनेमाबाट हराए पनि हाल केही विज्ञापन र टेलिभिजन कार्यक्रमको एङ्करको रुपमा देखा परिरहन्छिन्, यो नै उनको निरन्तरता मान्न सकिन्छ ।

यदि सिनेमा सजिलो विधा हुँदो हो त अभिनेता राजेश हमाललाई उनका पिता चुडाबहादुर हमालले थिँक् ट्वाइस् भन्ने थिएनन् । वा कविपुत्र अमिताभ बच्चनलाई उनका पिता डा. हरिवंश राय वच्चनले सिनेमामा भित्र भएर पनि हामी बाहिरै रहनुपर्छ भन्ने थिएनन् । यो सिनेमाको स्वभाव हो, मुम्बईकी चर्चित अभिनेत्री लीला नायडुले होटल व्यसायी ओवेरायसित विहे गरे पछि सिनेमालाई अछुत मान्नु पर्यो भने शाहरुख खान अभिनीत स्वदेश की नायिका गायत्री जोशी पनि त्यही परिवारको बुहारी भए पछि सिनेमा उनको निम्ति परदेश भएको छ ।

के सही के गलत सिनेमामा भन्न गाह्रो छ, वीवीसी नेपाली सेवामा कार्यरतर सञ्चारकर्मी रवीन्द्र मिश्रले हाइवे नामक् सिनेमा खेलेपछि असन्तुष्टि व्यक्त गरे र फेरि अभिनय सिके बलिऊड अभिनेता नसीरुद्दीन शाहसित । बलिदान फिल्मबाट फालिए पछि पनि अभिनेता अनुप बराल अभिनयमा कोशिश गर्दैछन्, मूलधारमा पाखुरी मुसार्न । केही टीभीसिरीयल र सिनेमाको अभिनयको असफलता पछि रंगकर्मी सुनील पोखरेलले आफूलाई रंगमञ्चमै सीमित राखे । मनबहादुर मुखिया, हरिवहादुर थापा, लक्ष्मी श्रेष्ठ, टीका पहारी, गौतम तुलाधर, कृष्ण मल्ल यस्तै स्मृतिकोशका पात्र भएका छन् ।

सिनेमा कला मात्र होइन, यो व्यवसाय पनि । कलामिश्रित व्यवसाय । जहाँ व्यसाय हुन्छ, त्यहाँ टिकाउ हुनलाई विकाउ हुन जरुरी छ । जहाँ क्रयविक्रयको मापदण्डको धरा हुन्छ, त्यहाँ राजनीतिक दाउपेच र चलखेल चलिरहन्छ । त्यसैले चर्चित फिल्मकर्मी उडी एलेन आफ्नो सानो विचारमा यसो भन्छन्, “सिनेमा उद्योग कुकुरले कुकुर टोक्ने व्यवसाय हो । फरक यत्ति हो, यहाँ एउटा कुकूरले अर्को कुकूरलाई तेरो फोन आएको छ भन्दैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *