भारतमा नेपाली मजदुरको पीडा: ‘कोरोनाले होइन, खान नपाएर मर्ने भयौं’

काठमाडौं । लकडाउनका कारण भारतका विभिन्न सहरमा रोजगारी गर्न गएका नेपाली बिचल्लीमा परेका छन् । दुवै देशमा लकडाउन जारी रहदा कोरोना भाइरस भित्रिन सक्ने आशंकामा नेपाल-भारत सीमा नाकासमेत सिल गरिएपछि उनीहरुको बिचल्ली भएको हो ।

मजदुरी गर्न भारत गएका नेपाली उतै रोकिएपछि न राम्रोसँग खान पाएका छन् न त राम्रोसँग सुत्नै पाएको अवस्था छ । काम गर्न नपाएपछि अलि-अलि कमाएको पैसाले ज्यान पाल्दै आएका मजदुरको अवस्था दिनदिनै दयनीय बन्दै गएको छ । लकडाउनले रोजगारी गुमाएका उनीहरुलाई अहिले बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल भएको छ ।

लकडाउनले काम गर्न नपाएपछि भोक-भोकै बस्नु परेको बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काँडा घर भई हाल भारतको नयाँ दिल्ली बस्दै आएका मोहन रावलले बताए । ‘होटल-रेस्टुरेन्टमा काम गर्ने सबै बेरोजगार भएका छौं,’ उनले भने, ‘अलि-अलि कमाएको पैसा पनि सकियो, अब कसरी बाच्ने हो थाहा छैन ?’

उनले भारत सरकारले भारतीय मजदुरलाई पहिलो प्राथमिकता दिएकोले नेपालबाट कामका लागि भारतमा रहेका नेपाली ठूलो समस्यामा छन् । ‘आधार कार्ड भएकालाई मात्र राहत दिने भारत सरकारको नीतिका कारण मजदुरी गर्न गएका अधिकांश नेपालीले राहत पाएका छैनन्, उनले भने, ‘मागेर गुजारा चलाई रहेका छौं । अब त माग्ने ठाउँ पनि छैन ।’

भारतको नयाँ दिल्लीमा मात्रै रोजगारीका लागि गएका खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर १ का करिब १ सय ६५ जना छन् । उनीहरुमध्ये १२-१५ जना एउटै कोठामा बसिरहेका छन् । ‘कमाएको पैसा सकियो, किन्ने ठाउँ पनि छैन,’ उनले भने, ‘कोरोना भाइरसले नभई खान नपाएर मर्ने भयौं ।’रोगजारीका लागि भारतमै रहेका दिपक रोकायाले पनि नेपालबाट कामका लागि भारत आएका नेपालीको अवस्था दयनीय भएको बताएका छन् । उनले भारतका विभिन्न संघ-संस्था र व्यापार मण्डलले भारतीय मजदुरलाई खाद्यन्न वितरण गरे पनि नेपाली मजदुरले नपाएको गुनासो गरे ।

उनले बाजुरा लगायत सुदूरपश्चिमका अधिकांश जिल्लाका दैनिक ज्यालादारीमा काम गर्ने मजदूर लकडाउनका कारण सडक पेटीमा रात बिताइरहेको जानकारी दिए । ‘धेरैलाई त घरबेटी नै निकाल्दैछन्,’ उनले भने, ‘जहान परिवार र लालाबाला लिएर यो विपतको घडीमा कहाँ जाउन ।’

आफूहरु सकुशल घर फर्किने पाए भन्ने ठूलो आशमा बसेको उनले बताए । उनले भने, ‘सबैको एक स्वर छ, हामीलाई सरकारले स्वदेश फर्काउने वातावरण बनाइदेओस ।’

दूतावासको फोन उठ्दैन, राहत र उद्धारको माग
भारतमा बिचल्लीमा परेको नेपालीका समस्याबारे त्यहाँस्थित नेपाली दूतामवासले कुनै चासो नदेखाएको उनीहरुको गुनासो रहेको छ । त्यहाँका नेपालीबारे दूतावासले चासो दिएको छैन भने समस्या समाधानको पहलका लागि फोन गर्दा पनि फोन नउठ्ने गरेको बलबहादुर रावलले बताए ।

उनले दिल्लीमा रहेको दूतावासको टेलिफोन नै रिसिभ नहुने गरेको दुखेसो पोखे । ‘दूतावासको फोन नै उठदैन ।’ उनले भने, ‘उठाइहाले पनि कोही बोल्दैनन् । यसअघि पनि भारतमा समस्यामा रहेका धेरै नेपालीले दूतावासप्रति गुनासो पोखेका थिए ।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका नागरिक रोजगारीका लागि नयाँ दिल्ली, मुम्बै, पुना, बैंग्लोर, पञ्जाव, हरिद्धार, लोहाघाट, पिथौरागढ लगायतका क्षेत्रमा जाने गर्छन् । सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट कोरोना भाइरसको सङ्क्रमणको त्रासदी र लकडाउनपछि गरेर एक लाख ५० हजार बढी नागरिक गडडचौकी र गौरीफान्टा नाकाबाट घर फर्किएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ ।

भारत सरकारले कोरोना संक्रमण नरोकिएको भन्दै ३१ मे (जेठ १८ गते)सम्म लकडाउन थपेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *