कोरोना संकटबाट कसरी पार पाउने सरकारको नीति तथा कार्यक्रममा स्पष्ट छैनः उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले सरकारले अनावश्यक भोलुममा नीति तथा कार्यक्रम ल्याएको बताएका छन्। सरकारको नीति तथा कार्यक्रम महामारी केन्द्रित नभएको पनि उनले बताए। आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले मुलुकमा चार किसिमका संकट देखा परेको बताए।

उनले भने, ‘स्वास्थ्यसम्बन्धी, मानवीय, आर्थिक र राजनीतिक संकट देखा परेको छन्। यी विषयमा कसरी हल गर्ने, कसरी पार पाउने स्पष्ट छैन।’ उनले कोरोना भाइरस महामारी विरुद्ध मुलुकमा आवश्यक स्वास्थ्य पूर्वाधार, उपकरण र जनशक्ति नरहेको बताए। यसलाई कसरी व्यवस्थापन गर्ने विषय पनि अन्योल रहेको उनले बताए। वर्तमान अवस्थामा रहेका स्वास्थ्य पूर्वाधार र उपकरणले रोगसँग लड्न सकिने अवस्था नरहेको समेत यादवको भनाइ छ।

बन्दा बन्दीपछि अप्ठेरोमा परेका मानिसहरूका लागि राज्यले तत्कालीन, मध्यकालीन र दीर्घकालीन राहतहरू परिचालन गर्ने गरी व्यवस्थापन गर्न आवश्यक गहेको बताए। यति बेला कोरोना भाइरस रोक्न सरकारले लकडाउन र न्यून परीक्षण मात्रै गरिरहेको बताए। देशमा कुपोषण र दीर्घ रोगी बढेको उनको भनाइ छ।

विदेश र भारतीय सिमानामा हजारौँ अलपत्र नेपालीको कसरी व्यवस्थापन गर्ने विषयमा सरकारको ध्यान जान नसकेको बताए। उनीहरूको व्यवस्थापनका लागि सरकारको दृष्टिकोण आवश्यक भएको समेत यादवको भनाइ छ। उनले भने, ‘सीमामा नेपाली नागरिक अलपत्र छन्। भारतले उताबाट यता जा भनेर धक्का दिएको छ। यताबाट उता जा भनेर धक्का दिएको छ। अब उनीहरू कहाँ जाने हो ?’

राजनीतिक स्थिरता र समृद्धिको नारा दिएर बनेको सरकारको नीति तथा कार्यक्रममा त्यसको झल्को समेत नदेखिएको उनको भनाइ छ। उनले राजनीतिक रूपमा संघीयता कार्यान्वयन गर्न सरकार उदासीन भएको बताए। प्रदेशको एकल क्षेत्राधिकार रहेका क्षेत्र समेत सङ्घीय सरकारले हडपेको उनको आरोप छ। उनले भने, ‘प्रदेश एकल क्षेत्राधिकार पर्ने सहकारी, कृषि, खानेपानी स्वास्थ्य, शिक्षा, गुठी, बनजंगल केन्द्रीय सरकारले आफैँ सञ्चालन गरेर संघीयता धरापमा पारेको छ।’

समग्रमा नीति हेर्दा सहरमुखी र धनी वर्ग लाभान्वित हुने खालको देखिएको उनको धारणा छ। नीति तथा कार्यक्रम कार्यकर्ताको पालनपोषण गर्ने र अलमल्याउनेमा केन्द्रित रहेको उनको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *