मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका युवकको मृत्यु

राँझा । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए ।

उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनको भनाइ छ ।

एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ । पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वारेन्टिनमा राखिएका र सङ्क्रमितको सम्पर्कमा आएका २८४ जनाको स्वाब सङ्कलन गरिँदैछ । यसक्रममा आवश्यकताका आधारमा थप आशङ्कितको पनि स्वाब सङ्कलन गर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *