नेकपा शिर्ष तहकाे गुटवन्दी जिल्ला तहमा: अनेरास्ववियू दिवसमा विद्यार्थी संगठनका छुट्टाछुट्टै कार्यक्रम

चितवन । चितवनमा विद्यार्थी र युवा संगठनमा गुटको गन्ध देखिएको छ । अनेरास्ववियू दिवस मनाउने क्रममा विद्यार्थी संगठनले गुटगत रुपमा कार्यक्रम गरेका छन् । दिवसको अवसरमा विद्यार्थी संगठनहरुले बिहीवार पूर्वी चितवनका दुई स्थानमा छुट्टा छुट्टै रुपमा कार्यक्रम गरेका छन् ।

केन्द्रीय तहमा जस्तै जिल्ला तहमा पनि बिहीवारको कार्यक्रमले प्रष्ट रुपमा गुटबन्दी मौलाएको देखिन्थ्यो । अनेरास्ववियू जिल्ला कमिटि र राष्ट्रिय युवा संघको संयुक्त आयोजनामा अनेरास्ववियू दिवस पारेर राप्ती नगरपालिका ७ स्थित जन आर्दश बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा १ सय २९ जनाले रक्तदान गरे । सो कार्यक्रममा उपस्थित प्रायः सबै नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका देखिन्थे । सो कार्यक्रम नेकपा बागमती प्रदेश सदस्य तथा राप्ती नगर प्रमुख प्रभा बरालको प्रमुख आतिथ्यतामा भएको थियो ।

दिवसकै अवसर पारेर अनेरास्ववियू शहिद स्मृती बहुमुखी क्याम्पस इकाई कमिटी,अनेरास्ववियू भवानी शंकर बहुमुखी क्याम्पस इकाई कमिटी र अनेरास्ववियू जनआर्दश बहुमुखी क्याम्पस इकाई कमिटीले खैरहनी ६ स्थित डिज्नी पार्क रिसोर्टमा रक्तदान कार्यक्रम गरे । जसमा १ सय ४ जनाले रक्तदान गरेका थिए ।

डिज्नीमा भएको कार्यक्रममा नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल निकटका विद्यार्थी संगठन र नेताहरु उपस्थित थिए । नेकपा क्षेत्रीय अध्यक्ष घनश्याम कडेंलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

अनेरास्ववियू दिवसका अवसरमा एकै ठाउँमा कार्यक्रम गर्नुपर्नेमा किन दुई ठाउँमा कार्यक्रम गरिएको भन्ने बारे विद्यार्थी संगठनहरुले गुटगत मानसिकताले कार्यक्रम राखिएको प्रतिक्रिया दिएका छन् । केपी ओली समुहका अनेरास्ववियूका एक केन्द्रिय सदस्यले पार्टी सँग सल्लाह गरेर जिल्ला ब्यापि कार्यक्रम गरिएको बताए । ‘रक्तदानको कार्यतालिका बनाएर कार्यक्रम गरेका छौं ।’ ती केन्द्रिय सदस्यले भने–‘गुटगत मानसिकताले तल्ला कमिटिको नाममा छुट्टै कार्यक्रम गरि विधी पद्धती मिच्ने काम भयो ।’ उनले आफुहरु आधिकारीक रहेको समेत दावी गरे ।

यता माधव कुमार नेपाल समुहका एक विद्यार्थी नेताले जनआर्दश क्याम्पसमा भएको कार्यक्रमलाई गुटको संज्ञा दिए । अखिल जिल्ला सहसंयोजकले जनआर्दश क्याम्पसको कार्यक्रम बहिस्कार गरेको भन्दै नेपाल समुहका ती विद्यार्थी नेताले युवा संघले वैशाख २८ गते रक्तदान कार्यक्रमको समापन गरेको दावी गरे ।

जनआर्दश बहुमुखी क्याम्पसको कार्यक्रममा नेकपा भरतपुर महानगर कमिटि अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला सचिवालय सदस्यहरु घनश्याम कडेंल, इश्वर सापकोटा, जिल्ला सदस्य कमल पाठक, युवा संघका केन्द्रिय सदस्य प्रताप डल्लाकोटी, अनेरास्ववियू केन्द्रीय सदस्यहरु स्वरुप सुयाँल र देव पाठक, नेकपा राप्ती नगर कमिटि सचिव रामचन्द्र पाठक लगायतको उपस्थिती रहेको थियो ।

यता डिज्नी पार्क रिसोर्टमा अनेरास्ववियू भुवानीशंकर बहुमुखी क्याम्पस कमिटि अध्यक्ष केशव रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा खैरहनी नगर इन्चार्ज हिरावहादुर गुरुङ, नगर अध्यक्ष लक्ष्मी ढकाल, जिल्ला सदस्य रामचन्द्र पाठक, कुल प्रसाद भुषाल, रामेश्वर पोखरेल, केशव कडेंल लगायत उपस्थित थिए ।

पछिल्लाे समय सत्तारूढ दल नेकपाकाे केन्द्रीय तहमा देखिएकाे विवाद अहिले जिल्ला र प्रदेशमा छतालुल्ल हुँदै गएकाे छ । पार्टीकाे जनवर्गीय संगठन अनेरास्वियूकाे स्थापना दिवसमा देखिएकाे गुटवन्दीले पार्टीमा तल्लाे तहबाटै असन्तुष्ठी बढेकाे देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *