‘सात आठ वर्षदेखि सडक बनेकाे थाहा भएन भनेर ओलीले जग हँसाए’ डा. काेइराला

विराटनगर । सिमा मिचिएकाे र सडक निर्माण भइरहेकाे विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले थाहा नभएकाे तर्क गरेर जग हसाउने काम गरेकाे नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले बताएका छन्  । कोइराला निवास विराटनगरमा हिजाे सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले परराष्ट्रमन्त्रीले संसदमै सडक बन्दैछ भनेर जानकारी गराइ सकेकाे अवस्थामा प्रधानमन्त्रीले थाहा भएन भन्नु जग हसाइ भएकाे बताए ।

‘सात आठ वर्षदेखि मानसरोवर जाने सडक निर्माण भइरहेको थियो भनेर संसदमा परराष्ट्र मन्त्रीले भनिरहँदा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा यसबारे आफूलाई केही थाहा नभएको भन्नु जग हसाउने काम मात्र भयो ।’ उनले भने ।

लिपुलेकको विषयमा भारत र चीनबीच मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेलामा सम्झौता भएको पनि डा. कोइरालाले बताएका छन् । उनले  प्रधानमन्त्री सुशील कोइरालाको पालामा दुई देशबीच सम्झौता भएको थाहा पाएपछि मात्र नेपालले प्रोटेस्ट नोट पठाएको जिकीर गरे ।

‘प्रधानमन्त्री सुशील कोइरालाको पालामा दुई देशबीच सम्झौता भएको थाहा पाएपछि मात्र नेपालले प्रोटेस्ट नोट पठाएको हो, तर यो विषयमा विसं २०१२ सालतिरै सम्झौता भएको हो ।’ डा. काेइरालाले भने । उनले तथ्यहरू हेर्दा पनि त्यतिबेलादेखि नै भारत–चीनले व्यापार र धार्मिक पर्यटन भनेरै सम्झौता गरेको पाइएको जिकीर गरेका छन् ।

सम्झाैताका बारेमा पहिले थाहा नभएपनि सुशील कोइराला प्रधानमन्त्री भएका बेला भएको सम्झौता अन्तर्राष्ट्रिय रूपमै बाहिर आएकाले नेपालले दुवै देशलाई प्रोटेस्ट नेटा पठाएको डा. काेइरालाकाे बनाइ छ । ‘इतिहास हेर्ने हो भने राजा महेन्द्रको पालामा २०१८ सालमा भारत–चीनको लडाइँ भयो । भारतीय सेना कालापानीमा आएर बसे । राजा महेन्द्रले छाडिदिएको हो कि के हो कुनै डकुमेन्ट हामीसित छैन । तर, उबेलादेखि नै भारतीय सेना कालापानी क्षेत्रमा तैनाथ छ ।’ काेइरालाकाे तर्क छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सुगौली सन्धीमा काली नदीको पूर्व नेपाल र पश्चिम भारत भनेर लेखिएको प्रष्ट पारे । उनले त्याे धारामा काली नदिकाे मुहान कहाँ हाे प्रष्ट खुलाएकाे भए अहिलेको समस्या उत्पन्न नहुने बताए । ‘काली नदीको मुहान कहाँ हो भनेर लेखिएन । वास्तवमा मुहान लिम्पियाधुरा हो, त्यसको पूर्व नेपाल र पश्चिम भारत हो ।’ डा. काेइरालाकाे तर्क छ ।

उनले सुगौली सन्धिपछि दुई तीनवटा सन्धि इस्टइन्डियासँग भएको जिकिर गरे । उनले जंगबहादुर आएपछि नयाँ सन्धि भएको र नयाँ मुलुक नेपालले प्राप्त गरेको पनि बताए । ‘तर, क्लियर डिमार्ककेसन के हो प्रष्ट छैन । भारतको पक्षमात्रै हेरिएको छ तर, यसमा चीनको पनि सहभागिता देखिएको छ ।’

डा. काेइरालाले सीमाको विषयमा जब समस्या आउँछ अनि मात्र बोल्ने र विरोध गर्ने नेपालीको प्रवृत्ति रहेको बताउँदै दिर्घकालिन सिमा समस्या समाधनार्थ पहल गरिनुपर्ने बताए । भारतसँग त वार्ता गरेर मात्र नहुने भन्दै ‘चीनसँग वार्ता गर्न सक्छौ कि सक्तैनौ ?’ भन्दै सरकार प्रति प्रश्न गरे ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता काेइरालाले सिमा समस्या समाधान गर्न नेकपा र कांग्रेसले साझा संकल्प प्रस्ताव सदनमा ल्याउनु पर्ने सुझाव दिए ।‘नेकपा र कांग्रेसले सदनमा साझा प्रस्ताव ल्याउन जरूरी छ, त्यसकै आधारमा चीन र भारतसँग वार्ता वा छलफल गर्न सक्छौं ।’

उनले अतिक्रमण गरीएका भू-भाग हाम्रो हो भन्ने पुष्टि गर्ने आधार र प्रमाणसहित छलफलमा जानुपर्ने सुझाए । ‘ती प्रमाण ब्रिटिस लाइब्रेरीमा छन् मगाएर दुवै देशसित छलफल गर्नुपर्छ ।’ प्रधानमन्त्री सुशील कोइरालाको पालामा थालिएको नेपालको कदमलाई निरन्तरता दिन पनि नेता कोइरालाले सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *