मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणकाे प्रयास

ध्रुवराज खनाल 

चितवन । चितवनमा जङ्गली जनावरका कारण कयौँले ज्यान गुमाइरहेका छन् भने बालीनालीका साथै भौतिक क्षति समेत पुर्‍याउँदै आएको छ । केही घटना मानवीय कारणले हुने गरेका छन् त धेरै घटना वन्यजन्तुले बस्तीमै पसेर गर्ने गरेका छन् ।

जङ्गलमा बस्नु पर्ने जनावरहरू बस्ती प्रवेश गर्नुको मुख्य कारण जङ्गल भित्र उचित वासस्थान नहुनु र उचित आहारको व्यवस्था नहुनु हो । यही कारण मानव र वन्यजन्तुबिचको द्वन्द्व हुँदै आएको छ । यस्ता घटनालाई न्यूनीकरण गर्दै वन्यजन्तुलाई जङ्गल भित्रै बस्ने वातावरण बनाउन जनस्तरको सहभागी तामा वासस्थान र घाँसे मैदान व्यवस्थापनको काम सुरु भएको छ ।

तस्विरः ध्रुवराज खनाल, मकालु खबर

गत फागुनदेखि निकुञ्जको पूर्वी सेक्टर स्थित पुरानो पदमपुर क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम सुरु भएको क्षेत्रीय होटेल सङ्घ सौराहाका प्रथम उपाध्यक्ष राममणि खनालले बताए । घाँसे मैदान व्यवस्थापन पछि मानव र वन्यजन्तुबिच द्वन्द्व न्यूनीकरण हुनुका साथै वन्यजन्तुको समेत संरक्षण हुन्छ खनालले भने –‘त्यसले पर्यटन प्रवर्द्धनमा पनि ठुलो टेवा पुग्ने विश्वास छ ।’ हाल सम्म जनस्तरबाट ९१ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिएको छ । त्यसका लागि रत्न नगर नगरपालिकाले उपलब्ध गराएको ५ सय लिटर डिजेल बाहेक करिब ४ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

स्थानीय स्तरबाट स्वतःस्फूर्त रूपमा प्राप्त सहयोगले व्यवस्थापनको काम भएको क्षेत्रीय होटेल सङ्घका प्रथम उपाध्यक्ष खनालले बताए । जनस्तरबाहेक चितवन निकुञ्जले आफैले पनि घाँसे मैदान व्यवस्थापनको काम गरिरहेको छ । निकुञ्जले यसअघि सीमित बजेटबाट मात्रै यस्तो काम गर्दै आएको थियो ।

निकुञ्ज भित्र घाँसे मैदान व्यवस्थापनका लागि सरकारले ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताए । ‘यहाँको अवस्थाबारे सरकारलाई ध्यानाकर्षण गरायौं’ प्रमुख संरक्षण अधिकृत रुपाखेतीले भने -‘सरकारले उपलब्ध गराएको बजेटबाट निकुञ्जले छुट्टै घाँसे मैदान व्यवस्थापन गरिरहेको छ ।’ उनका अनुसार निकुञ्जमा करिब १० हजार हेक्टर घाँसे मैदान छन् । तिनीहरूको व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए ।

तस्विरः ध्रुवराज खनाल, मकालु खबर

निकुञ्जले एक सय हेक्टर पुरानो र ६ सय हेक्टर नयाँ व्यवस्थापन गर्ने योजना रहेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताए । घाँसे मैदान व्यवस्थापनका लागि त्यस क्षेत्रका झन्डै ४८ हजार रुख काट्नु पर्छ । घाँसे मैदान व्यवस्थापनको महाअभियानमा सबै जुटौँ रुपाखेतीले भने –‘यसबाट जनावरको संरक्षण हुनुका साथै पर्यापर्यटनबाट यस क्षेत्रको विकास पनि हुन्छ ।’ रत्न नगर नगरपालिकाका मेयर नारायण वनले पर्यापर्यटन विना यहाँको विकास सम्भव नहुने भन्दै यसमा नगरपालिका गम्भीर रहेको बताए ।

गत वर्ष निकुञ्जमा पोखरी निर्माण गर्न केही सहयोग गरेको नगरपालिकाले घाँसे मैदान व्यवस्थापन लगायत वन्यजन्तुको संरक्षण र पर्यटन विकासमा नगरको क्षमता अनुसार सहयोग गर्ने आश्वासन दिए ।

घाँसे मैदान व्यवस्थापनको खर्च सार्वजनिक
चितवन निकुञ्जको पूर्वी सेक्टर पदमपुरमा घाँसे मैदान व्यवस्थापनका लागि भएको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ ।

निकुञ्ज जिप सफारी प्राविका अध्यक्ष टिका प्रसाद कडेंलका अनुसार सो कार्यका लागि ४ लाख ८ हजार ९८२ रुपैयाँ खर्च भएको छ । यसमा नगरपालिकाले उपलब्ध गराएको इन्धन खर्च जोडिएको छैन । रत्न नगर नगरपालिकाले घाँसे मैदान व्यवस्थापनका लागि ५ सय लिटर डिजेल उपलब्ध गराएको छ । यो कार्यमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए । सहयोग गर्नेहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित कार्यक्रमपछि घाँसे मैदान व्यवस्थापनको काम अवलोकन गरिएको थियो । अवलोकनका क्रममा चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख गोपाल बहादुर घिमिरेले घाँसे मैदान व्यवस्थापन पछि यसको प्रभावकारिता देखिन थालिसकेको बताए । मैदान व्यवस्थापन पछि यहाँ जङ्गली जनावरहरू आउने क्रम बढेको उनको भनाई थियो ।

तस्विरः ध्रुवराज खनाल, मकालु खबर
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *