‘डा. भीम रावलका विरूद्ध कुप्रचार पानीका फोका झैँ फुटेर जानेछन्’

  • सत्यराज पौडेल

अमेरिकाको न्यूयोर्कमा अमेरिकीहरूको सेवा गरिरहेको टेकराज पौडेल भन्ने व्यक्तिले डा. भीम रावलका विरुद्ध अनर्गल प्रचार गरेका छन् । यस्तो कुत्सित कार्य निजले बालुवाटारको भत्ता आधारित माध्यमबाट गरेका छन् । टेकराज भन्ने मानिस अमेरिकामा आफूलाई केपी ओलीको खाँटी भक्त भन्दै चिनाउने गर्छन् । आफ्नो गुटमा नलाग्ने अमेरिकामा रहेका नेकपा समर्थकलाई पनि उनी तल्लो स्तरको गाली र व्यवहार गर्छन् । यिनले नेपालबाट यहाँका गुटबाजहरुले उपलब्ध गराएका झुटा मसलाको आधारमा अनर्गल कुरा ओकलेका छन् ।

आज कुन नेता वा व्यक्तिले कस्ता काम गरिरहेको छ, त्यस्ता काम कुरा देश र जनताको पक्षमा छन्/छैनन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । विगतको इतिहासका पाना पल्टाउने हो भने वर्तमान प्रधानमन्त्रीदेखि, अर्थमन्त्री तथा बालुवाटारले च्यापेका सबै मानिसहरूको इति वृत्तान्त खोतल्नु पर्ने हुन्छ । सबै नेताहरूको बारेमा थाहा छ भनी कसैले धक्कु नलगाए हुन्छ । कसको कस्तो चरित्र थियो वा छ र पार्टी इतिहासका विभिन्न चरणमा कसले के के गर्‍यो र गरिरहेछन् भन्ने कुरा अरूबाट लुकेको छ भन्ने भ्रम पालेर कसैमाथि भ्रम फैलाएर प्रहार गर्न थालियो भने सीसाको घरमा बसेर अरूमाथि ढुङ्गा हानेको जस्तो मात्र हुनेछ । सबै पत्रहरू पल्टाउने स्थिति आउन सक्छ ।

अतः अमेरिका र बालुवाटारको सीता खाएर गीता गाउँदै नेकपाका अरू नेताहरूका विरुद्ध कुप्रचारको धन्दा बन्द गर्नु नै राम्रो होला । आफ्नो घरमा आगो लगाएर खरानी घस्ने काम देशको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भइसकेका व्यक्तिबाटै भइरहेको तथ्य टेकराज जस्ता उडन्तेले बुझ्नु राम्रो होला । जहाँसम्म डा. भीम रावलले देश, जनता र पार्टी विधान तथा त्यसको संस्थागत निर्णयको पक्षपोषण गर्दा ज्वरो आउनेहरूले गरेको भ्रमात्मक प्रचार छ, त्यसको बारेमा पनि तथ्यलाई हेरौंः

१) महाकाली सन्धिलाई नेपाली काँग्रेस र भारतसँग मिलेर खर्बौंको रकम आउँछ भन्दै पार्टीमा सबभन्दा बढी दबाब बढाउने व्यक्ति वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्थ्यो । उहाँले नै खर्बौं आम्दानी हुन्छ भनी बढाइचढाइ गर्नुभएको हो । त्यस बेला डा. भीम रावल केन्द्रीय कमिटीको सदस्य हुनुहुन्नथ्यो । प्रतिनिधिसभाको सदस्य हुनुहुन्थ्यो । महाकाली सन्धिको पक्षमा मतदान गर्नुपर्ने भनी पार्टीले व्हीप जारी गरेपछि त्यस सन्धिमा महाकाली नदीको उद्गम स्थल र पानीको बाँडफाँडबारे गरिएको व्यवस्था नेपालको हितमा नभएकोले त्यसलाई नेपालको हित अनुकूल व्याख्या गर्न सांसदबाट संकल्प प्रस्ताव पारित गर्नुपर्छ भन्दै दस्ताबेज तयार गर्ने काममा डा. भीम रावलले नै सक्रिय भूमिका खेल्नु भएको थियो । त्यो काम नेपालको हितमा थियो ।

२) गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारमा तत्कालीन नेकपा (एमाले) आम चुनाव सम्पन्न गराउनको लागि सहभागी भएको थियो । भीम रावल त्यो सरकारमा जम्मा पाँच महिना रहनु भएको थियो । निर्वाचनको समयमा तत्कालीन शाही नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि जहाज नभएकोले निगमको सञ्चालक समितिले चाइना साउथ वेष्ट एयरलाइन्ससँग विमान भाडामा लिने निर्णय गरी विदेशी मुद्रा सटहीको लागि मन्त्रालयमा पत्र पठाएको थियो । मन्त्रालयले राष्ट्र बैंकलाई सो बमोजिमको मुद्रा सटहीका लागि सहमति जनाएको थियो ।

विमान भाडामा लिँदा त्यसमा कुनै अनियमित कार्य नभएको, भ्रष्टाचार नभएको र निगमलाई कुनै क्षति नपुगेको त्यस बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नेकपा (एमाले) ले भरत मोहन अधिकारीको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनले स्पष्ट गरेको थियो । विमानले निगमलाई ठूलो नाफा भएको कुरा पछि निगमले प्रकाशित गरेको विवरणमा उल्लेख गरिएको थियो ।

भाडा सम्झौता सोझै दुई देशका निगमहरूको बिचमा भएकाले कमिसन खान नपाएको काठमाडौंको एउटा एजेण्टले भीम रावलका विरुद्ध एक करोड खर्च गरेर भए पनि बदनाम गरी छाड्छु भनी विभिन्न ठाउँमा भन्दै हिँडेको कुरा त्यसै बेला सार्वजनिक भएको थियो । यस प्रयोजनका लागि लेखा समितिका केही मानिसहरू कहाँ त्यो रकम पुगेको पनि चर्चा थियो ।

त्यस बेला भीम रावलको व्यक्तित्व क्रमशः उच्च हुँदै जनतामा उहाँको लोकप्रियता बढ्दै गइरहेको थियो । एकातर्फ अछाम जिल्लामा उहाँलाई हराउन नेपाली काँग्रेसले षडयन्त्र गरिरहेको थियो भने अर्कोतर्फ तत्कालीन नेकपा (एमाले) भित्र उहाँले माधव कुमार नेपाललाई दह्रो साथ दिइरहनु भएकोले नेपाल विरोधीहरूले षडयन्त्र गरिरहेका थिए । त्यही षडयन्त्रको फलस्वरूप सुवासचन्द्र नेम्वाङ सार्वजनिक लेखा समितिको सभापति भएको बेला केपी शर्मा ओली, हृदयश त्रिपाठी र ईश्वर पोखरेल मिलेर भीम रावलबाट कुनै गल्ती नभएको तथ्य हुँदाहुँदै लेखा समितिबाट उक्त विषय अख्तियारमा पठाएका थिए । तर अख्तियारमा त्यो आरोप साबित भएन । पार्टी केन्द्रीय कमिटीको बैठकमा उक्त विषयमा छलफल हुँदा एक जना केन्द्रीय कमिटीको सदस्यका विरुद्ध लेखा समितिमा रहेर झुटा आरोप लगाउन सघाएकोमा केन्द्रीय कमिटीले केपी शर्मा ओली र ईश्वर पोखरेललाई सार्वजनिक लेखा समितिबाट हट्न निर्देशन दिएको थियो ।

स्मरणीय छ, सार्वजनिक लेखा समितिले आरोप लगाउने बित्तिकै भीम रावलले पार्टीको साधारण सदस्य मात्र रहने गरी सबै जिम्मेवारीबाट राजीनामा दिँदै आरोप प्रमाणित भएमा पार्टी सदस्यता समेत परित्याग गर्ने घोषणा गर्दै पार्टीमा पत्र पठाउनु भएको थियो । छानबिनबाट निर्दोष प्रमाणित भएपछि मात्र उहाँ पार्टीको जिम्मेवारीमा फर्किनु भएको थियो । यस्तो तथ्यमाथि पर्दा हालेर अरूका कुकृत्यहरू छोपिन सक्दैनन् ।

३) नेपालगञ्जमा आयोजित नेकपा (एमाले) को छैटौं महाधिवेशनका बेला भीम रावल केन्द्रीय कमिटीको सदस्य हुनुहुन्नथ्यो । महाधिवेशनमा उहाँ स्टेरिंग कमिटीको सदस्य हुनुहुन्नथ्यो । रावल महाधिवेशन स्थलमा प्रवेश गर्नु अघि नै त्यहाँ पार्टी फुटाउन खोज्नेहरूले गुण्डागर्दी गर्दै अष्टलक्ष्मी शाक्य र सुशील प्याकुरेल लगायतका थुप्रै व्यक्तिहरूलाई घाइते बनाइ अस्पताल पठाइसकिएको थियो । स्टेरिंङ कमिटीको सदस्यको हैसियतले भीम रावल महाधिवेशन स्थलमा जाँदै गर्दा उहाँलाई योगेश भट्टराईको नेतृत्वमा रहेका केही मानिसहरूले अश्लील गाली गलौज गर्दै मूल ढोकाबाट भित्र छिर्ने बेला आक्रमण गरेको देख्ने मानिसहरू अहिले पनि जीवितै छन् ।

महाधिवेशन कक्षमा प्रवेश गरेपछि भीम रावलले आफूमाथि आक्रमण भएको कुरा मञ्चबाट राख्नुभएको थियो । उहाँले गोली ठोक्ने आदेश दियो भन्ने हास्यास्पद कु प्रचार हो । त्यस बेला स्वयंसेवकको नेतृत्व प्रदीप नेपालको हातमा थियो र भीम रावल कसैलाई कुनै आदेश दिनसक्ने स्थानमा हुनुहुन्नथ्यो । महाधिवेशनमा भीम रावलका साथै कुटपिटमा परेका अन्य प्रतिनिधिहरूले पनि मन्तव्य राखेका थिए । अन्तमा महाधिवेशनको बैठकले नै गुण्डागर्दी गरेको आरोपमा योगेश भट्टराई र रूप नारायण श्रेष्ठलाई कारबाही गरेको थियो । निजहरूले पछि पार्टी फुटाएर गएको इतिहास टेकराजलाई थाहा छ कि छैन ?

४) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट राजीनामा दिई माधव कुमार नेपाल प्रधानमन्त्री हुनुभएको बेला देशमा जताततै अशान्ति थियो । तराईमा मात्र होइन पहाडी क्षेत्रमा समेत अनेकौं सशस्त्र समूह थिए । त्यसको सामना गर्न गृहमन्त्रीको हैसियतले भीम रावलले सबै राजनीतिक दल, नागरिक समाज र सञ्चार कर्मीहरूसँग मन्त्रालयमा गहन छलफल गरी विशेष सुरक्षा योजना लागु गर्दै शान्ति सुरक्षाको स्थितिलाई सहज तुल्याएको तथ्य त्यसै बेला सार्वजनिक भएकै हो ।

उहाँको कामको सर्वत्र प्रशंसा भएको थियो । यस्तो तथ्यमाथि पर्दा हाल्न भीम रावलका विरुद्ध भारतीय गुप्तचरसँग मिलेको भन्ने दुष्प्रचार गर्नेहरूले यो कुरा कुन गुप्तचरको एजेण्ट भएर थाहा पाए त ? सीआइएको ? तर विडम्बना बालुवाटारका चम्चा हौं भन्ने केही मानिसहरू डा. भीम रावललाई कहिले भारतीय गुप्तचरसँग मिलेको भनी दुष्प्रचार गर्छन् भने कहिले अमेरिकासँग मिलेको कुप्रचार गर्छन् । कहिले मन्त्री पद नपाएर बोलेको भन्छन् त कहिले कथित शक्तिशाली मन्त्रालय नपाएर पार्टीले निर्णय गरेको मन्त्री पद छोडेको अन्तर्विरोधी कुरा गर्छन् । यो सबै डा. भीम रावलका देशभक्तिपूर्ण अडानबाट त्रसित गुटबाज र विदेशीहरूका दलालहरूले गरेको कुप्रचार बाहेक केही होइन ।

५) संयुक्त राष्ट्र संघीय मिसनले नेपालको शान्ति प्रक्रियालाई पूरा हुन नदिई जातीय र सामाजिक विभेदसमेत चर्काएर नेपाललाई दीर्घकालीन द्वन्द्वको कुचक्रमा फसाउन खोजेको निष्कर्ष त्यस बेलाका प्रमुख राजनीतिक दलहरूका उच्चस्तरीय बैठकमा छलफल भई निर्णय भएको तथ्य त्यसै बेला सञ्चारमाध्यममा प्रकाशित भएको थियो । सोही निर्णय अनुसार चितवनको शक्ति खोर माओवादी शिविरमा प्रचण्ड जीको समेत सहभागितामा माओवादी लडाकु सरकार अन्तरगत आएपछि नेपालको शान्ति प्रक्रिया सफलताको बाटोमा अगाडि बढेको थियो । विस्तारवादी र साम्राज्यवादीहरूको नेपालमा शान्ति नहोस् र नेपालमा अस्थिरता उत्पन्न गरी चीनका विरुद्ध गतिविधि गर्ने समेत दुराशय थियो । त्यो विफल भई नेपालको शान्ति प्रक्रिया अगाडि बढेर संविधान जारी भयो, निर्वाचन भयो र केपी ओलीले समेत प्रधानमन्त्री हुने मौका पाए । नेपालको यस्तो सफलताबाट दुःखित भएर अनमिनलाई भारतीयसँग मिलेर भीम रावलले फर्काएको भन्ने हास्यास्पद कुतर्क गर्ने टेकराज पौडेल भन्ने व्यक्ति के सीआईएको एजेण्ट हो ?

६) भीम रावलले गृहमन्त्री पदबाट हटेपछि एक वर्षसम्म सरकारी गाडी फिर्ता गर्नुभएन भनी कुप्रचार गर्ने टेकराज पौडेलले गृह मन्त्रालयको अभिलेख हेरे निजको दिमाग ठिक ठाउँमा आउने थियो । कानूनले तोकेको १५ दिन भएता पनि एक हप्तामा उहाँले जीप फर्काउनु भएको थियो । झण्डावाल गाडी मन्त्रीबाट अवकाश पाएको दिन नै फर्काइसकिएको थियो । टेकराजलाई झुटा कुरा कसले सुनायो हँ ?

७) बुटवलमा सम्पन्न आठौँ महाधिवेशनको सभाकक्षमा झगडा भई अस्तव्यस्त स्थिति हुँदा त्यसलाई साम्य पारेर महाधिवेशनको सफलतामा योगदान गर्ने भीम रावल नै हुनुहुन्थ्यो । रावलले महाधिवेशनको निर्वाचनमा एक मतपेटिकाको मत गणना नगरिएकोमा आपत्ति जनाउनु भएको थियो । अरू केही नेताहरूले पनि आपत्ति जनाउनु भएको थियो । राजेन्द्र पाण्डेको नेतृत्वमा छानबिन कमिटी पनि बनेको थियो । पार्टीको विधि, स्वच्छ परिपाटीमा आँच आउन सक्ने कुरा प्रति विरोध जनाउँदै भीम रावलले करिब ३ महिनासम्म केन्द्रीय समिति सदस्यको शपथ नलिनु भएको हो । अरू केही नेताहरूले पनि महाधिवेशन स्थलमा शपथ नलिएर पछि मात्र लिनुभएको थियो । पछि पार्टीका नेताहरूले बल्खुमा भीम रावलको उपस्थितिमा छलफल गरी महाधिवेशनको एक मतपेटिकामा रहेका मत नगन्ने कुरा गल्ती हो, अब उप्रान्त यस्ता गल्ती नदोहरिने कुरामा आश्वस्त पारेपछि भीम रावलले शपथ लिनुभएको थियो ।

रावलको अडान पार्टी विधान, पद्धति र स्वच्छताको लागि थियो । उहाँले शपथ लिने बेला माधव कुमार नेपालको नेतृत्वमा सरकार गठन हुने कुराको चर्चा वा सङ्केत केही थिएन । रावलले गृहमन्त्री हुने भएपछि शपथ लिनुभयो भन्ने कुरा पूर्णतया गलत हो । भीम रावलले मन्त्री पदमा दाबी नै गर्नुभएको भए पनि अरूले दाबी गर्दा गल्ती नहुने भीम रावले गर्दा गल्ती हुने कुरा पनि भएन । जहाँसम्म बुटवल महाधिवेशनमा हारको कुरा छ, केपी ओली लगायत अरूले पनि हारेका थिए । भीम रावलले हार्नु भयो त के भो ? टेकराज जस्ताको कुतर्कको केही अर्थ छैन ।

८) टेकराजले भक्ति गर्ने नेता झैँ आजसम्म भीम रावलले कहिल्यै विधान अनुसार बैठक गर्दिन वा सामूहिक निर्णय मान्दिन भन्नु भएको छैन । उहाँले पार्टीलाई अनेक पटक संकटबाट जोगाउनु भएको छ । कहिल्यै पनि कुनै दम्भ देखाउनु भएको छैन । हो, उहाँले प्रतिक्रियावादी र साम्राज्यवादीहरूका दलालहरूसँग भने टक्कर लिँदै आउनु भएको छ । टेकराजले भक्ति गर्नेहरूले विधानको व्यवस्थाको खिल्ली उडाउनेदेखि आफू नै सर्वेसर्वा भएको र आफ्नो पद यताउति भएपछि पार्टी फुटाउँछु भन्दै अध्यादेश ल्याएको कुरा कसैको भक्तिमा अन्धा भएका टेकराजका आँखाले शायद देख्न सक्दैनन् ।

९) उनलाई अन्य पार्टीबाट ल्याएर नेकपा (एमाले) ले एकै चोटि सांसद र गृह राज्यमन्त्री बनायो । तर मन्त्रालयका गोप्यता बाहिर लिनेदेखि गलत मानिसहरूलाई बोकेर हिँड्ने, अनुचित लाभ लिनको लागि तल्लीन हुन थालेपछि प्रधानमन्त्रीले नै धेरै पटक रिजमानलाई सम्झाई बुझाई गर्नुभएको कुरा त्यसै बेला सार्वजनिक भएको थियो । निजले प्रधानमन्त्रीको सल्लाह मान्नुको साटो पदीय मर्यादाको उल्लंघन गरेपछि प्रधानमन्त्रीले पदबाट हटाउनु भएको हो । रिजमान अन्सारी आज कहाँ छन् ? नेकपामा ? कि टेकराजको गुटमा ?

१०) आफ्ना प्रतिस्पर्धीलाई देख्न नसकी पार्टीमा सदाबहार गुटबन्दी गर्ने काम त टेकराजले पूजा गर्ने व्यक्तिहरूले गर्ने गरेको तथ्य हो । झापा आन्दोलनमा सँगै काम गरी जेल परेका राधाकृष्ण मैनाली, सीपी मैनालीदेखि नेकपाका सयौं कार्यकर्तालाई कोपभाजनको सिकार कसले बनाएको हो ? जहाँसम्म मोहन सिंह राठौरको कुरा छ निजलाई कैलाली जिल्ला सचिव बनाउनुका साथै आफूले मन्त्री पद छोडेर मन्त्री बनाउने भीम रावल नै हुनुहुन्छ । फर्सी कुहिएझैँ कुहिएर कांग्रेसमा गएर नेकपाका उम्मेदवारलाई हराउन लाग्नेप्रति केपी ओलीजीको भक्त हुँ भन्नेको यत्रो मोह ? यही हो षडयन्त्रकारी चरित्र । सुदूरपश्चिमका माथिल्ला कमिटीका मानिसहरूलाई के. क. मा नल्याइएर पार्टी पद्धति मिचिएकोमा विरोध हुनु स्वाभाविक हो । सुदूरपश्चिममा नेकपाको झण्डा फहराउन तथा त्यहाँ अहिले अगाडि देखिनुभएका धेरैजसो नेताहरूलाई अगाडि बढाउन भीम रावलले गर्नुभएको योगदानबारे अमेरिकीहरूको चाकरीमा लागेका टेकराजले थाहा नपाउनु स्वाभाविक हो । टेकराजको सिफारिसमा दयाल बहादुर शाहीलाई अहिले राज्यको कुनै महत्त्वपूर्ण पदमा नियुक्ति दिए भैगो नि त ? के भीम रावलले रोक्नु भएको छ ?

११) नवौं महाधिवेशनमा आफ्नै टिमका मानिसलाई भीम रावलले हराएको टेकराजको सीआइए आँखाले देखेको हो कि ? त्यसो भए भीम रावलले आफ्ना टिमकालाई हराएर केपी ओलीजीको प्यानलाई जिताएको हो त ? कुतर्कको पराकाष्ठा ।

१२) बालुवाटारमा साझा सहमतिको न्यूनतम कार्यक्रममा व्यस्त रहेको समयमा भीम रावलले त्यही काममा लागिरहन र अरू साथीहरूलाई मन्त्री बनाउन स्थायी कमिटीलाई आग्रह गरेर मोहन सिंह राठौर राज्यमन्त्री भएका हुन् । मन्त्री पदको शपथ नलिएर रावलले पार्टी फुटाउने धम्की दिनुभएको होइन टेकराजका स्वामीहरूका देश, जनता र पार्टी हित विरोधी क्रियाकलाप भीम रावलले औँल्याएर पार्टी र देशलाई ठिक दिशामा हिँडाउनु प्रयास गर्नुभएकोले टेकराज जस्ताको निद्रा हरण भएको हो ।

१३) भारतले नाकाबन्दी गरिरहेको समयमा सरकारमा देशभक्त व्यक्तिको आवश्यकता थियो । नभए भारत सामु टिक्न सक्ने स्थिति थिएन । प्रधानमन्त्री केपी ओलीले रावललाई उपप्रधान सहित रक्षामन्त्रीको प्रस्ताव गर्नुभयो र रावलले स्विकार्नु भयो । सरकारमा रहेर भीम रावलले नाकाबन्दीका विरुद्ध तथा राष्ट्रिय हितमा डटेर काम गर्नुभएको कारणले गर्दा पनि त्यस बेला सरकार लोकप्रिय बन्यो । अहिले के भइरहेको छ ? टेकराज जस्ता चाटुकारको टाउकोमा बरु जनताले चिसो पानी खन्याइरहेका छन् ।

१४) केपी शर्मा ओलीको मन्त्री परिषद्मा भारतपरस्त नेताहरूलाई मन्त्री बनाइएन भनी टेकराजले दिएको तर्क सुन्दा नहाँस्ने को होला ? नेकपाको बहुमत हुँदाहुँदै पार्टीमा कुनै छलफल नगरी नेपालको संविधान जलाउने र भारतीय नाकाबन्दीको गुणगान गाउनेहरूलाई मन्त्रीपरिषद्मा राखिएको कुरा टेकराजका आँखाले देखेन कि क्या हो ? आजभोलि मन्त्री बनाइएका हृदयश त्रिपाठी कस्ता व्यक्ति हुन् ? बरु भीम रावलजस्ता देशभक्तहरूलाई पन्छाएर उक्त प्रकारका मानिसहरू मन्त्रिपरिषद्मा भित्र्याएकोले प्रधानमन्त्री आफै संकटग्रस्त बन्नुभएको छ । यस्तो तथ्यलाई देख्न नसक्ने टेकराजको बुद्धिले विद्यार्थी कालदेखि नै राष्ट्रियताको पक्षमा चट्टान झैँ उभिनु भएका भीम रावललाई के चिनोस् ।

अब टेकराज यी प्रश्नको उत्तर देऊः
१) २०३२ सालमा भीम रावलले तत्कालीन अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कम्युनिस्ट कोअर्डिनेशन कमिटी (मार्क्सवादी–लेनिनवादी)को झण्डा बोक्दा टेकराज कहाँ थियौं ?

२) २०३३ सालमा राजकाज मुद्दामा भीम रावलले लडिरहँदा र कम्युनिस्ट पार्टीको प्रभाव कम रहेको सुदूरपश्चिमको सेती अञ्चलमा १० वर्ष इञ्चार्ज भएर त्यहाँ पार्टीको विस्तार गर्दा टेकराजले कहाँ कहाँ कम्युनिस्ट पार्टीको निर्माण गर्‍यौं ?

३) २०४८ सालदेखि अछाम जिल्लामा निर्वाचन लडेर त्यहाँ काँग्रेसको किल्ला भत्काएर आज केपी ओली प्रधानमन्त्री हुनसक्ने मत सुदूरपश्चिमबाट दिलाउने भीम रावलको बारेमा तिमी जस्ताको कुप्रचारले पर्दा हाल्न सक्छ ?

४) नेपालको शान्ति प्रक्रिया, संविधान निर्माणदेखि पार्टी एकीकरणसम्मको इतिहास पढ्नु अनि ती सबै अभियानमा भीम रावलको भूमिका र योगदान थाहा पाउने छौं । तिमीजस्ता अरूको चाकर बनेर पैसा कमाउन पल्केकाले भीम रावल जस्तो देशभक्त स्वाभिमानी व्यक्तिलाई भारतीय दूतावासको पैसा खाने देख्नु जस्तो आफू उस्तै च्यापु भने जस्तै हो । यसले तिमी कस्तो निकृष्ट धन्दामा लागेका रहेछौ भन्ने कुरा सबैलाई थाहा हुँदैन र ?

५) कम्युनिस्ट सोभियत सङ्घ र पूर्वी युरोपबाट कम्युनिस्टहरू लाई खतम पार्न भूमिका खेलेको भन्ने दक्षिण कोरियाली विवादास्पद महिलाको हातबाट पुरस्कार थाप्ने, नेपालको परराष्ट्र नीति विपरीत संयुक्त सैनिक अभ्यासमा सहमति जनाउने, नेपाली जनताले भारतबाट आयात गरिने विषादी परीक्षण गर्नुपर्छ भन्दा भारतीय दूतावासको पत्र आएपछि घुँडा टेक्ने, नेपालको डेढ अर्ब बढी रकम भारतीय चलचित्रमा योगदान दिने भारतीय चलचित्र कर्मीहरूलाई नेपालमा ल्याएर स्वाहा पार्ने, नागरिकता विधेयकलाई अगाडि बढ्न नदिने र त्यसमा विदेशी भित्र्याएर नेपाललाई कमजोर पार्ने खेल खेल्ने, भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक लगायत कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेपछि नेपालले ती क्षेत्रलाई राखेर आफ्नो नक्सा प्रकाशित गर्नुपर्छ भन्दा नमान्ने, कालापानी क्षेत्रमा भारतले सडक बनाउँदा पनि त्यसलाई रोक्नको लागि कुनै भूमिका नखेल्ने, नेपालको भूमि र स्रोतमा कब्जा जमाउने र नेपाल राज्य र सरकारलाई आफ्नो इसारामा नचाउन अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको असमान सम्झौतालाई कुनै सुधार नगरी संसदबाट अनुमोदन गराउन बल गर्ने, नेपालको संस्कृतिलाई ध्वस्त गर्न गुठी विधेयक ल्याउने र जनताको व्यापक दबाब पछि फिर्ता लिने, नेपालमा राजनीतिक स्थिरता कायम गर्न र बाह्य हस्तक्षेप रोक्न बनाइएको राजनीतिक दलसम्बन्धी कानूनलाई देश लकडाउनमा रहेको बेला अध्यादेश ल्याई पार्टी फुटाउन षडयन्त्र गर्ने, अर्काको पार्टी फुटाउन तराईबाट सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउने, पार्टी विधान र लोकतान्त्रिक मान्यताको धज्जी उडाउने जस्ता गलत कामको के भीम रावलले गुणगान गाउनु पर्थ्यो ? भारत लगायत विदेशीको पैसा लिएर देशभरि फाउण्डेशन खोलेर गुटबन्दी गर्ने कुराको के नेकपाका कायकर्ताले समर्थन गर्न सक्छन् ?

बारम्बार विदेशमा गएर उपचार गर्ने मात्र होइन रगत र मिर्गौलासमेत विदेशीले नै फेरिदिने काम ककसका लागि भएको छ, अमेरिकाको सेवामा तल्लीन टेकराज पौडेललाई अवश्य थाहा होला ? यस्तो काम कुराको देशभक्त नेपालीले समर्थन गर्नुपर्छ र ?

याद रहोस्, भीम रावलको बारेमा कुप्रचार गरेर उहाँको देशभक्ति, जनता र पार्टीप्रतिको निष्ठा र दृढतामा कुनै कमी आउँदैन । टेकराज जस्ताका भ्रमपूर्ण कुप्रचार पानीका फोका झैँ फुटेर जानेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *