‘यो हाम्रो लोकतन्त्रको लागि शुभ संकेत हैन’ डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बर्तमान सरकारका कारण राजनीति प्रति नै जनताको वितृष्णा जागेको बताएका छन् । आज शुरु भएको संसदको बजेट अघिवेशनमा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले पार्टी फुटाउने, सांसद अपहरण सम्मका कृयाकलापमा सरकार सहभागी भएकोले सरकारका कारण जनतालाई राजनीति प्रति वितृष्णा भएको बताए ।

नेता डा. भट्टराईले सबै कुराको फैसला राजनीतिले नै गर्ने भएपनि निर्वाचित सरकारको छवि राम्रो नभएको समेत बताए । उनले सरकारकै कारण राजनीति प्रति जनताको अविस्वास र आशंका रहेकोले भोलीका दिनमा प्रतिगमन फर्कन सक्ने सम्मको अवस्था आउन सक्ने आशंका गरे ।

‘अहिले हामीले बोलेको कुरालाई कसैले पनि विस्वास गर्दैनन् । राजनीतिज्ञ, सांसद भनेकै भ्रष्ट, सत्तालोलुप पदलोलुप भन्ने खालको विम्ब बनेको छ, यो अत्यन्त खतरनाक छ । कति सत्य हो कति असत्य हो हामी आफैंले ममः भनौ । तर आम जनतामा यो भ्रम परेपछि राजनीति प्रति नै मान्छेको आशंका र वितृष्णा फैलियो भने भोली त्यसले ठूलो खतरा ल्याउन सक्छ । हामीले ल्याएको लोकतन्त्र नै खतरामा परेर प्रतिगमन तिर जाने खतरा हुन्छ ।’ उनले भने–‘राजनीतिलाई ठीक ट्रयाकमा कसरी ल्याउने तपाई हाम्रो ध्यान जान जरुरी छ ।’

डा. भट्टराईले कोरोना भाइरसका महामारीमा केन्द्रीत हुनुपर्ने बेलामा मुलुका प्रमुख कार्यकारी, सरकारको नेतृत्व रातभर पार्टी फुटाउने सड्यन्त्र गरेर बसेको जिकिर गरे । बर्तमान सरकार नेतृत्वले संबैधानिक अंगहरु कब्जा गरेर आफ्नै मनखुसीले संबैधानिक अंगहरुका नियुक्ति गरेर निरंकुशता तर्फ देशलाई लान खोजेको आरोप पनि लगाए ।

‘यो हाम्रो लोकतन्त्रको लागि शुभ संकेत हैन, भलै संजोगले दवावले प्रधानमन्त्रीले आफ्ना निर्णय फिर्ता लिनु भयो । आत्मलोचना भएको’ उनले भने ।

डा. भट्टराईले संबैधानिक अंगहरुमा ब्यालेन्स गर्नकै निम्ति प्रमुख प्रतिपक्षी दलका नेता लगायतको उपस्थितिमा संबैधानिक नियुक्ति भयो मात्रै त्यो स्वतन्त्र र निष्पक्ष हुन्छ भनेर सल्लाह गरेरै राखिएको विषयलाई सरकारले भत्काउने काम गरेको बताए । ‘हामीले नै सल्लाह गरेर ल्याएको विषयलाई भत्काउने काम किन भयो ?’ उनले भने । उनले फिर्ता लिइहाल्यो भैगो भनेर छोड्न नसकिने समेत भने ।

उनले संबैधानिक आयोगलाई अझ बलियो बनाउन अध्यादेश आएको भए स्वागत गर्न आफुहरु तयार रहेको अवस्थामा सत्तारुढ दलले उल्टो राजनीति प्रवाह भएको जिकिर गरे ।

उनले देशको प्रखुम पार्टी सरकारमा रहेको र उसैले पार्टी फुटाउन अध्यादेश ल्याउनु पनि राम्रो सन्देश नगएको बताए । ‘एउटा पार्टी फुटाउनकै लागि प्रधानमन्त्रीले आफ्नो पार्टीको बैठकमा भन्नु भयो भन्ने कुरा आयो त्यो भनेको ठूलो नैतिक प्रश्न भएन ?’ डा. भट्टराईले भने ।

देशको प्रधानमन्त्री सबैको अभिभावक भएको र लोकतन्त्रको रक्षक समेत भएकोले उसैले अर्को पार्टी फुटाउन अध्यादेश ल्याए भन्नु गम्भिर प्रश्न रहेको डा. डा. भट्टराईको भनाई थियो ।

उनले सांसद अपहरणको विषयमा बोल्दै प्रहरी प्रमुखबाट निवृत्त भएका, सांसदहरु समेत भएर लकडाउनका बेला घर गएरै सांसद लाई किन उठाएर ल्याएको हो जवाफ दिनुपर्ने बताए । ‘न विहेबारी, मर्नुपर्नु त्यहाँ किन जानु भयो होला ?’ डा. भट्टराईले प्रश्न गरे ।

उनले राजनीतिमा इमान्दारीता र नैतिकता ठूलाे कुरा रहेकाे बताए । उनले कुर्सीमा बसेर सत्ताकाे प्रयाेग गर्दैमा महान नभइने बताउँदै प्रधानमन्त्रीले इमान्दारिता र छवी बचाउँदै राजीनामा दिनुपर्ने समेत बताए । उनले लाेकतन्त्र सुरक्षित र सुनिश्चत गर्न पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे । उनले राजनीतिमा पुस्तान्तरण गर्न जरूरी रहेको समेत बताए । ६० वर्ष पुगेकोले अब राजनीतिबाट विदा लिनुपर्ने डा. भट्टराईको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *