विवादबीच नेकपा सचिवालय बैठक बस्दै, होला त मतभेदको अन्त्य ?

काठमाडौं । पछिल्ला दिनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएका विवादबीच आज सचिवालय बैठक बस्दैछ । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा पार्टीमा देखिएको ध्रुवीकरणका विषयमा छलफल हुनेछ ।

नेकपा भित्रै देखिएको विवादका कारण स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक माग गर्दै आएपछि पहिले सचिवालय बस्ने नेताहरुबीच सोमबार सहमति भएको थियो । विवादको कारण खोज्ने र समाधान निकाल्नु पर्ने विषयमा हिजो प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचका नेताहरुबीच छलफल भएको थियो ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले आआफ्ना गुटलाई यतिबेला निकै सक्रिय पारेका छन् । आज बस्ने सचिवालय बैठकले नेकपा स्थायी समिति बैठक छिट्टै बोलाउने अनुमान छ ।

तर, प्रधानमन्त्री तथा अध्यक्ष ओली अहिले तत्काल स्थायी समिति बैठक नबोलाउने पक्षमा छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपालसँग यसका लागि परामर्श गरेको बुझिएको छ । तर, प्रचण्ड, नेपाल, खनाल र गौतम तत्काल स्थायी समिति बैठक बोलाउनु पर्ने पक्षमा छन् । त्यसैले आजको सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *