‘ओली, देउवा र दाहालले देशद्रोही अपराध गरे टुँडीखेलमा झुण्ड्याउँछौं’ गोपाल किराती

काठमाडौं, २ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष गोपाल किराँतीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशद्रोहीको अपराध गरेमा आफ्नो पार्टीले निर्माण गर्ने जनसेनाले टुँडीखेलमा झुण्डयाउने समेत उद्घोष गरे ।
आइतबार रिपोर्टर्स क्लबमा ‘मेची–महाकाली देशभक्त जनसांस्कृतिक अभियान’ सम्पन्न भएको जानकारी दिने पत्रकार सम्मेलनमा किरातीले यस्तो बताएका हुन् । उनले देशको स्वाधिनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको पनि बताएका छन् ।
२५ औं जनयुद्ध दिवसको अवसरमा गत फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरी २७ गते पश्चिमको महाकालीनगरमा समापन गरिएको पैदल यात्राको अभियान सफल भएको पार्टीले जनाएको छ ।

मेची–महाकाली पैदल यात्रामा इन्डो–प्यासिफिक सैन्य रणनीति र एमसिसी सम्झौताद्वारा नेपाललाई साम्राज्यवादी युद्धको अखडा बनाउने अमेरिका तथा नेपाली भूमि हडप्ने विस्तारवादी भारतविरुद्ध देशभक्त जनप्रतिरोध सँस्कृति निर्माणको सन्देश स्थापित गर्न सफल भएको समेत अध्यक्ष किराँतीले दाबी गरे । ‘हात्ती र बाघको जोखिमका कारण निकुञ्ज ईलाकामा गाडी प्रयोग गर्नु परेको अभियान नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा अभूतपूर्व राजनीतिक अभियान बन्यो ।’–उनले भने ।
अध्यक्ष किरातीले मोहन बैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग कार्यगत एकताको लागि छलफल भैरहेको पनि स्पष्ट पारे । आफ्नो पार्टी एमसीसी र सीमाको विषयमा दश दलीय मोर्चामा आवद्ध रहेकोबारे उनले प्रकाश पारे ।
पार्टीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘नेकपा (माओवादी केन्द्र) देश र जनताको पक्षमा फेरी पनि बलिदान गर्न दृढतापुर्वक अग्रसर छ । त्यसर्थमा माओवादी केन्द्र देशको प्रवक्ता बन्न सक्छ । अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद र स्थानीय दलाल पुँजीवाद विरुद्ध दीर्घकालीन प्रतिरोध संघर्ष लड्न देशभक्त जनसेना निर्माणको अपरिहार्य आवश्यकता छ ।’
नेपाली सेना र प्रहरी सरकारी फौज भएकोले सरकारको निर्देशनमा रहनुपर्ने उक्त पार्टीको ठम्याई रहेको छ । ‘तर, खड्ग ओली सरकार भने नेपाललाई अफगानिस्तान वा इराक बनाउन खोज्ने अमेरिकी साम्राज्यवाद र सिक्किम, भुटान वा फिजी बनाउन खोज्ने भारतीय विस्तारवाद सामु लम्पसार परेको छ । अतः देशको स्वाधीनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्बहारावर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको छ । यद्यपि जनसेना निर्माण कहिले र कसरी गर्ने भन्ने सम्बन्धमा पार्टीमा व्यवस्थित छलफल एवं नेपाली जनसमुदायमाझ बहस अभियान सञ्चालन गरी शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा अघि बढ्नुपर्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
महासचिव कर्णजीत बुढाथोकीले आन्तरिक तथा बाहृय हस्तक्षेप आफ्नो पार्टीलाई स्विकार्य नहुने स्पष्ट पारे । ‘हामी आम जनताको अपार माया र स्नेहका साथ अघि बढेका छौं । अहिलेको शासक वर्गले मुलुकमा फेरी द्वन्द्व र युद्ध चाहेकोजस्तो हर्कत गरिरहेको छ ।’ उनले भने ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष तिलक थापाले उपरोक्त ऐतिहासिक अभियानमा सक्रिय सहयोग गर्ने मित्रहरु र शुभेच्क्षुक सबैमा आभार प्रकट गर्दै विभिन्नस्तरमा जारी देशभक्त जनसाँस्कृतिक अभियानद्वारा कठोर देशभक्त जनसँस्कति निर्माण आन्दोलनमा जुट्न नेपालीजनसमक्ष जोडदार आह्वान गरेका थिए ।
केन्द्रीय अभियान टोलीमा पार्टी अध्यक्ष गोपाल किराती, प्रदेश १ अध्यक्ष विमल निरौला, प्रदेश ३ उपाध्यक्ष प्रकाश दाहाल, किराती राट्रिय मुक्ति मोर्चाका अध्यक्ष शाहस राई र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष कुमार राई बान्तवा थिए । उक्त अभियानमा प्रदेश २ अध्यक्ष बब्लु ठाकुर, प्रदेश ५ अध्यक्ष अबिन गोतामे र पार्टी उपाध्यक्ष तथा प्रदेश ७ ईन्चार्ज रंगनाथ ढकाल लगायतले यात्रा गरेका थिए ।








