‘क्वारेन्टाइनमा कुनै अभाव हुँदैन, कोही भोकै नमर्ने अवस्था सिर्जना गरिन्छ’

  

चैत्र १४, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्यहाँका नौ वटै जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकलाई कुनै किसिमको अभाव नहुने बताएका छन् । 

भारतबाट काम गरेर फर्किएका र क्वारेन्टाइनमा राखिएका कुनै पनि नागरिकलाई समस्या हुन नदिन प्रदेश सरकारले आवश्यक व्यवस्था मिलाएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सबै नागरिकलाई स्वास्थ्य जाँचदेखि खाने, बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताए । 

क्वारेन्टाइनमा राखिएका नागरिकलाई घरकै जस्तो व्यवस्था गरिने उनको भनाइ छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले  ११ करोड ५० लाख बजेट विनियोजन गरेको पनि उनले जानकारी दिए । 

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी डोटीमा भारतबाट फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ । भारतका विभिन्न शहरबाट काम गरेर आफना घर फर्किएका पुरुष २५८, महिला २८ र बालबालिका २५ गरी ३११ जनालाई जिल्लाका नौ स्थनीय तहका विभिन्न १२ स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । 

त्यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोही भोकै नपर्ने, कोही भोकै नमर्ने अवस्था सिर्जना गर्ने बताएका छन् । 

प्रदेशवासीका नाममा आज एक सन्देश जरी गर्दै मुख्यमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको लकडाउन लम्बिने अवस्था आए आर्थिक अवस्था कमजोर भएका गरिब, ज्यालादारी गरेर जीविका चलाउने तथा अशक्त नागरिकका लागि विशेष व्यवस्था गरेर भए पनि खाद्यवस्तुको अभाव हुन नदिने बताएका हुन् । 

कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गर्दै मुख्यमन्त्री पौडेलले भने, ‘यो हेलचेक्र्याईं र लापर्वाही गर्ने समय हुँदै होइन ।  कोरोनाविरुद्धको लडाईँमा हामीले घरभित्रै बसेर राज्यलाई सहयोग गर्नुपर्छ ।’ 

परिस्थितिको गाम्भीर्यता हेरेर सरकारले अझै कडा र प्रभावकारी कदम चाल्न सक्ने भएकाले सजग हुनसमेत उनले अनुरोध गरेका छन् । 

लकडाउन लम्बिने अवस्था वा अन्य अवस्थामा खाद्य सामग्री, औषधोपचार, इन्धनलगायतको अत्यावश्यक सामग्रीको अभाव हुन नदिन प्रदेश सरकारले विशेष पहल गरी  ‘कोही भोकै नपर्ने, कोही भोकै नमर्ने’ अवस्था सिर्जना गरिने उनले सन्देशमा भनेका छन् ।  

सन्देशमार्फत पौडेलले गाउँघरमा नयाँ मानिस वा भारतलगायत अन्य देशबाट आएका व्यक्तिका बारेमा स्थानीय जनप्रतिनिधि, वडाध्यक्ष, पालिकाका अध्यक्ष वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि अनुरोध गरेका छन् । 

‘प्रदेश सरकारको तर्फबाट म प्रदेशभरका ११९ वटा स्थानीय तह, एक हजार १२१ वटा वडा र त्यहाँ रहनुभएका २३८ प्रमुख÷उपप्रमुख र पाँच हजार ६०५ वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्न चाहन्छु, संवेदनशील भएर आफ्नो क्षेत्रको अवस्था अनुगमन गरौँ, जोखिम उत्पन्न हुनसक्ने अवस्थामा प्रहरी प्रशासनसमेतको सहयोगमा समस्या समाधान गरौँ । विदेशबाट आएकालाई सेल्फ क्वारेन्टाइनमा राखौँ वा त्यसबाट जोखिम बढ्न सक्ने अवस्था भए सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखौँ’, उनले भनेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =