कैलाश विकास बैंकका सिईओलाई मुद्दा हाल्ने कँडेलको घोषणा

फागुन २६, काठमाडौँ  । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंकले आफ्नो परिवारविरुद्ध किर्ते काण्ड गरेको भन्दै त्यसको कानूनी उपचार खोज्ने घोषणा गरेका छन् । उनले उक्त किर्ते काण्डमा बैंकको केन्द्रीय कार्यालय नै संलग्न रहेकोले सिईओविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको स्पष्ट पारेका छन् ।   

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफ्नो परिवारसँग बैंकले गरेको किर्ते काण्डलाई आफूले पनि नजिकबाट अनुशन्धान गरेको सुनाउँदै उक्त किर्ते काण्डमा बैंकको केन्द्रिय कार्यालय नै प्रत्यक्ष संलग्न रहेको र यहीँबाट दबाबस्वरुप शाखाका कर्मचारीलाई दुरुपयोग गरेको दाबी गरे । उनले भने,‘बैंकको केन्द्रीय कार्यालयकै दबाब र ठाडो निर्देशनअनुरुप शाखाले यस्ता किर्ते पत्र बनाएको हो । उसलाई त माथिको आदेशमा बाध्य बनाईयो । तर, म यो घट्ना के कारणले ? गरिएको हो भन्ने कुराको पुष्टि नहुञ्जेलसम्म कानूनी लडाई जारी रहने जानकारी गराउँछु ।’ 

आफूले बैंकको उक्त किर्ते काण्डलाई यसअघि नै रिपोर्टर्स क्लब नेपालमै पत्रकार सम्मेलनको आयोजना गरेर भण्डाफोर गरिसकेको स्मरण गराउँदै कँडेलले भने,‘मैले पहिलोपटक यो प्रकरण बाहिर ल्याएलगत्तै मसँग बैंकका मिलन रिजाल सम्पर्कमा आएर मलाई सिईओले यो केशको छानबिनको जिम्मा दिएको भनेर भन्नुभयो । त्यसपछि, मैले पाएको केन्द्रिय कार्यालयले जारी गरेको ३५ दिने सुचनालाई विद्युतीय माध्यम (ईमेल) मार्फत गत फेब्रुअरी १८, २०२० मा पठाएको थिएँ, जुन आज २७ दिन बितिसक्दापनि कुनै जवाफ लिखित रुपमा मसँग आएको छैन् ।’ 

उनले यो प्रकरणको समाचार बाहिर आएपछि बैंकका सिईओले नै ‘बैंकको तर्फबाट बदमासी प्रमाणित भएको र कर्मचारीलाई निलम्बन गर्दैछौं’ भनेर मिडियासँग नै स्विकारेको पनि दृष्टान्त पेश गरे । बैंकका सिईओले नै बैंकको कर्मचारीबाट गलत भएको स्विकार गरिसकेपछि र कर्मचारीलाई कारबाही गर्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता व्यक्त गरेकोले आफूलेपनि सिईओसँग दुई चरणमा छलफल गरेको उनले स्पष्ट पारे ।   

उनले सिईओसँगको आफ्नो छलफलमा काका ऋषिराम कँडेल र पेसल लुईँटेल पनि साथमै गएको सुनाए । उनले थपे,‘त्यो छलफलमा काठमाडौं मुख्य कार्यालयका कर्मचारी, जसले त्यो समाचार सम्प्रेषण गरेका थिए उसलाई चाहीँ बोलाईएको थिएन् । तर, मैले त्यो छलफलको सुरुवातमै उहाँलाई बोलाउनको लागि भनेको थिएँ । त्यतिमात्रै होईन, पहिलो कारबाही उहाँलाई गर्नुहोस भनेको थिएँ । तर, बैंकले उहाँलाई न बोलायो, न त कारबाही नै गर्यो । बरु, यो बीचमा वालिङ शाखाका प्रमुखलाई काठमाडौं बोलाएर यसको अन्तिम भनेको तपाईलाई कारबाही हो भनेर भनेकोपनि थाहा पाएँ ।’ 

तर, आफूले यो प्रकरणमा वालिङ शाखा प्रमुखको मात्रै साहस वा क्षमताले किर्ते काण्ड नभएको भन्नेमा पहिल्यैनै विश्वस्त रहेको पनि उनले दाबी गरे ।  

उनले आफ्नो परिवार सामाजिक रुपमा पनि स्थापित परिवार भएको उल्लेख गर्दै यस्तो परिवारमाथि किर्तेजस्तो गम्भिर अपराध बैंकको वालिङ शाखाले मात्रै कसरी गर्न सक्छ ? भन्ने ‘शंकाको सुविधा’ आफूमा पहिलेदेखि नै पैदा भएको पनि स्मरण गराए ।  

उनले बैंकले ऋणीलाई दिने गरेको पत्रमा ७ दिनको म्याद राखिने गरिएको यथार्थता बोध गर्दागर्दै आज २७ दिनसम्म आफ्नो गलत गर्नेलाई सुझाव दिँदै अगाडि बढ्न चाहने ईच्छालाई गलत तवरले बुझ्नुनै कैलाश विकास बैंक र यसका सिईओको गम्भिर लापरवाही देखिएको पुष्टि भैसकेको दाबी गरे ।  

उनले आफू अहिलेपनि नेपालको कुनैपनि बैंकबाट एक अर्बसम्म त्योपनि १५ प्रतिशत ब्याजको किस्ता तिर्न सक्षम रहेको स्पष्ट पारेका छन् । उनले भने,‘यो मेरो लडाई भलै अहिले मेरो घरबाट सुरु भयो, अर्को कुरा प्रत्येक ऋणीको तर्फबाट गलत गर्ने काम गर्ने बैंक र बैंकका कर्मचारीविरुद्ध सुरु भएको अभियान पनि हो । म चाहन्छु, प्रत्येक ऋणीले आफूलाई कुनैपनि बैंकले अनुचित दबाब, गलत काम, धम्की, मानसिक यातनाजस्ता क्रियाकलाप गरेको पाईएमा या छ भने मलाई सम्पर्क गर्नुहोस् । म सधैं तपाईहरुको मुद्दामा लड्न र आवाज बुलन्द गर्न तयार छु ।’ 

तर, उनले कानूनी उपचार खोज्नको लागि प्रमाण ठूलो कुरा भएकोले बिना आधार यदि गलत र नियतवश बैंकलाई नै कमजोर बनाउने उद्देश्यले कोही परिचालित भएर आएमा उसलाई पनि कारबाही गरिने प्रष्ट पारे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =