पटक–पटक सरेको ‘नीरफूल’ को प्रदर्शन मिति फेरि सर्यो

फाेटाेः गुगल
फागुन २८, काठमाडौँ । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘नीरफूल’ काे प्रदर्शन मिति फेरि सारिएको छ ।
प्रदर्शन मिति चैत्र ७ गते तोकिएको ‘नीरफूल’ को चलचित्र निमार्णपक्षले कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै चलचित्रको प्रदर्शन मिति सारेको हो ।

सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि मानिसको भीडभाड हुने कार्यक्रममा रोक लगाएसँगै चलचित्रको निर्माण पक्षले मंगलबार एक विज्ञप्ती जारी गर्दै हाललाई चलचित्रको प्रदर्शन मिति स्थगित गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि फिल्मको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘यसबाट दर्शक महानुभावको निरन्तर पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’
पटक–पटक प्रदर्शन मिति सर्दै आएको चलचित्र ‘नीरफूल’ अब स्थिती सामान्य भएपछी मात्र नयाँ प्रदर्शन मिति घोषणा गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । संचारकर्मी फूलमान वलको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, शान्ती वाइबा, बुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
कोरोना भाइरसले चलचित्र क्षेत्रमा पनि निकै नराम्रो प्रभाव पारिरहेको छ । कोरोना भाइरसका कारण अहिले चलचित्रको प्रदर्शन देखि लिएर छायाँकनमा समेत असर परिरहेको छ । कोरोनाकै कारण देखाउँदै केही दिन अघी ‘म यस्तो गीत गाउँछु २’ को निर्माणपक्षले पनि प्रदर्शन मिति सारेको थियो ।
चीनको वुहानबाट सुरु भएको विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म ४३ सय जनाको मृत्यु भईसकेको छ ।








