झापाको बिर्तामोडमा बहुसांस्कृतिक पर्यटन महोत्सव हुने

फागुन १८, काठमाडौं । झापाको बिर्तामोडमा ‘बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव–२०७६’ हुने भएको छ ।  

भ्रमण वर्ष २०२० लाई सफल बनाउन एव्म नेपाली कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनले उक्त महोत्सव आयोजना गर्न लागेको हो ।  

फागुन २३ देखि आयोजना हुन लागेको उक्त महोत्सव फागुन २५ गतेसम्म चल्ने अर्गनाइजेसनका अध्यक्ष लक्ष्मीप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार महोत्सवको मुख्य उद्देश्य बहुसांस्कृतिक, धार्मिक तथा पर्यटनलाई एउटै फुलको मालामा उनेर सद्भाव कायम गर्दै झापामा बढी भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनु रहेको हो ।  

received_495363444482852.jpeg

फागुन २३ गते शुक्रबार पवित्रधाम कनकाई नदीको किनारमा पाँच हजार भन्दा बढीको सहभागितामा गंगा आरती गरी महोत्सवको शुभारम्भ गरिनेछ भने २४ र २५ गते बिर्तामोड स्थित सुगम पेट्रोलपम्प छेउको खुलाचौरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त स्रस्टाहरुलाई सम्मान, विभिन्न जातजातिका झाँकी, नृत्य लगायतका विविध कार्यक्रम गरी महोत्सव समापन गरिने शनिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।  

महोत्सवको शुभारम्भ प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने र महोत्सव उदघाटन प्रदेश–१ का आन्तरिक तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्ने र उक्त कार्यक्रममा सबै धर्म सम्प्रदायका गुरुहरुले प्रवचन समेत गर्ने बताइएको छ ।  

त्यस्तै सुगम पेट्रोलपम्प छेउको खुलाचौरमा हुने महोत्सवको उद्घाटन प्रदेश–१ का आन्तरिक तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले गर्ने अर्गनाइजेसनका अध्यक्ष बुढाथोकीले बताए ।  

महोत्सवमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिनेछ भने, गायक प्रितम आर्चाय र गायिका मेनुका पौडेललाई अन्तराष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । 

त्यसैगरी मल्टिट्यालेन्ट पुरस्कार, वरिष्ठ गायन, ज्येष्ठ नागरिक पुरस्कार, साहित्यकार, सामाजिक संघ–संस्था, वाद्यवाधक, नाट्य, मुक्ति कला, सञ्चारक्षेत्र लगायतका विविध क्षेत्रमा समेत महोत्सवमा पुरस्कार प्रदान गरिने बताइएको छ । महोत्सवमा धर्मदास बुढाथोकी (वरिष्ठ भजन गायक) राजनराज शिवाकोटी, मनोज गजुरेल, मेनुका पौड्याल, प्रितम आचार्यसँगै शास्त्रीय गायनमा लोकप्रिय नृत्यङ्गना भनेर चिनिने सफल कलाकार सुजता बरालको प्रस्तुति रहनेछ भने दुर्गा प्रसाद, नारायण अनन्त प्रजापति, चितानन्द ढुङ्गेल, राज अधिकारी आदि कलाकारको बेजोड प्रस्तुतीका साथमा अन्य कलाकारहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =