कांग्रेस प्रवक्ताले फोनै गरेर गोरखामा रहेका डा. शेखरलाई के भने ?

फागुन ३०, काठमाडौं । कांग्रेस कार्यकर्ता र जनता माझ लोकप्रिय नेता डा. शेखर कोइरालालाई पार्टीका कार्यक्रममा रोक लगाइएको छ । पार्टीका प्रभावशाली नेता डा. कोइरालाको कार्यकर्ता प्रशिक्षणमा अघोषित रुपमा पार्टीका सभापति शेरबहादुर देउवाले रोक लगाएको बुझिएको छ । यद्यपि, डा. काेइरालाका स्वकीय सचिवले भने कार्यक्रम गर्न राेक नलगाइएकाे बताएका छन् ।
आज डा. कोइराला पार्टीको संसोधित विधान तथा नियमावलीमा थप भएका नयाँ प्रावधानका विषयमा पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिन गोरखा पुगेका थिए । सोही बखत पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले डा. शेखरलाई फोनै गरेर कोरोना भाइरसका कारण पार्टीको कार्यक्रमहरु स्थगित गरिएको स्मरण गराएका छन् ।
प्रवक्ता शर्माले मिडियाहरुसँग डा. कोइरालालाई पार्टी सभापति देउवाको निर्देशनमा फोन गरेर बैठकको निर्णय स्मरण मात्र गराएको र कोरोना भाइरसको सचेतना फैलाउन मात्र भनेको जिकिर गरेका छन् । तर, स्रोतका अनुसार पार्टीभित्र १४ औं महाधिवेशनले नयाँ सभापति निर्वाचित गर्ने तयारी भइरहेको र डा. कोइराला लामो समयदेखि संगठन विस्तार र पार्टी सुदृढिकरण गर्न भन्दै देश दौडाहामा लागेकाले उनलाई रोक्न देउवाले खोजेको बुझिएको छ ।

डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पार्टी प्रवक्ताले डा. कोइरालासँग कुराकानी गरेको बताए । उनले डा. कोइरालाको भनाई उदृत गर्दै प्रवक्ताले कार्यक्रम स्थगित गर्न नभनेपनि कोरोना भाइरसका कारण पार्टीले कार्यक्रम स्थगित गरेको तथा कोरोना भाइरसबाट सचेत रहन जानकारी गराएको बताएका छन् ।
थपलियाले पार्टीका कार्यक्रमहरुमा अहिले डा. कोइरालाले पार्टी प्रशिक्षणसँगै कोरोना भाइरसका बारेमा समेत सचेतना फैलाउँने गरेको जानकारी दिए । डा. कोइराला आफैं चिकित्सक समेत रहेकोले कार्यकर्ता माझ कोरोना भाइरसबाट कसरी बच्ने सचेतना फैलाइरहेको जनाए । एक साता यता डा. कोइराला मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, पोखरा हुँदै गोरखा पुगेका छन् ।








