गुटबन्दीको आँखाले नहेरियोस् डियर अध्यक्ष कमरेड…


फागुन १५, चितवन । आज मेरो मनमा एउटा प्रश्न उब्जिएको छ ।
हिजो कमरेड नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लैजान भोट हाल्ने, फेसबुकमा आफूसँगै जोडिएको फोटो पोष्ट गर्दै बधाई दिनेहरु नै कमरेड वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयले निर्णय गर्दा जनमतको अपमान भनेर फेसबुकमा रोइलो गरेको देख्दा कतै हिजो कमरेड वामदेवको निर्वाचन क्षेत्रमा झण्डै दुईतिहाइ कम्युनिस्ट मतदाता हुँदा नि वामदेव निर्वाचनमा पराजित हुुनुभनेको वामदेव हराउ अभियान सफल भएको त होइन ? भन्ने प्रश्न उब्जिएको छ ।
कमरेड नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लैजाँदा चाँहि कसरी जनमतको कदर भयो ? अनि डा. युवराज खतिवडालाई लाँदा कसरी जनमतको कदर हुन्छ ? कतै कमरेड वामदेवको पक्षमा जनमत हुँदा हुदै वामदेवलाई चुनावमा जनताले नभएर षड्यन्त्रले चुनाब हराएको त होइन ?
हिजो फेसबुकमा मैले देखे कि हाम्रो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ज्यूले ‘मलाई पेल्न खोजियो म सामना गर्न तयार छु’ भन्नु भयो रेन्त । हिजोको दिनमा पार्टी एकता हुँदा पूर्वएमालेको कति जना उपाध्यक्ष हुनुहुन्थो ? महासचिव हुनुहुन्थ्यो कि हुनुहुन्थेन ? घनश्याम भुषाल नि उपमहासचिव होइन र ? कमरेड बिष्णु पौडेललाई नै महासचिव बनाउनुपर्ने के बाध्यता थियो र ?
के त्यतिबेला तपाइँको निर्णयले माथि उल्लेखित कमरेडहरुलाई तपाईंले पेल्नुभएको होइन र अध्यक्ष कमरेड ? कतै यो पार्टी एकता पनि आजको तपाईंको रवाफ हेर्दा र सचिवालयको निर्णय मान्दिन भन्दा पूर्वएमालेभित्र तपाईं बाहेकको समूहलाई पेल्न र तपाई प्रधानमन्त्री बन्नैको लागि मात्रै पार्टी एकता गरिएको त होइन, भन्ने मेरो मनमा जिज्ञासा उब्जाएको छ अध्यक्ष कमरेड ?
म हाम्रो अध्यक्ष कमरेडलाई प्रश्न गर्न चाहन्छु के तपाईंले हिजोको दिनमा पार्टी एकता गर्दा सचिवालय गठन गर्दा कमरेड अष्टलक्ष्मी पर्नु हुन्छ भनेर एक जना पनि महिला सचिवालयमा नपर्नु भएको हो ? केन्द्रिय कमिटिमा नयाँ सदस्य थप गर्दा आफ्नो गुटबाहेक अरु नपर्नु, ६ जना मुख्यमन्त्री नेकपाले पाउँदा एक जना पनि फरक टिमले नपाउनु, सम्ममाननिय विद्यादेवी भण्डारी ज्यु दुईदुई पटक राष्ट्रपति बन्न हुने तर, उहाकै समकक्षी कमरेड अष्ट्रलक्ष्मी शाक्य मुख्यमन्त्री बन्न नहुने ?
प्रदेशमा एक जना पनि तपाईंको गुटका बाहेक अरु कोही सभामुख बन्न नहुने, प्रदेशका मन्त्रीहरु प्राय सबै तपाइकै गुटका हुनुपर्ने, केन्द्रमा पूर्वएमालेको भागमा परेको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, अन्य राजनीतिक नियुक्तिहरु, प्रदेश प्रमुखहरु, आदिआदी सबै तपाइकै गुटका हुनुपर्ने ? अनि आफ्नो गुटको निर्णय लाद्न पाइएन भने मलाइ पेलियो घेराबन्दी गरियो, म सामना गर्न तयार छु भन्नु पर्ने ? के माथिको सबै निर्णयमा तपाईंले अरुलाई पेलेको, घेराबन्दी गरेको महसुश गर्नुभएन ?
तपाईंको गुट निर्माणको लागी मात्रै पूर्वएमालेलाई, अनि हालको नेकपालाई बलिको बोको नबनाइयोस् कमरेड ? तपाईंको गुटबन्दीका लागि नेकपा सती जान सक्दैन कमरेड ? यदि तपाईंकै निर्णय मात्रै लाद्नु छ भने पनि पार्टी सचिवालय, स्थायी समिति वा पार्टी कमिटीहरुको बैठकद्वारा लादियोस्, हामीलाई कुनै आपत्ति हुने छैन कमरेड ? अन्यथा तपाईंको व्यक्तिगत निर्णयबाट मात्रै यो पार्टी अगाडि बढाउन खोज्नुभयो भने भोलिको दिनमा कुनै दुर्घटना नहोला भन्ने कल्पना नगर्न सकिदैन कमरेड ?
यदि त्यसो भयो भने नेपाली जनताले बोकेको कम्युनिस्ट पार्टी नेतृत्वबाट मात्रै पूरा हुने सपना नतुहिएला भन्न सकिन्न कमरेड ? त्यस्तो दिनको सामना नेपाली जनताले गर्न नपरोस, नेकपालाई बिधिसम्वत अगाडि बडाइयोस, सबै निर्णयहरु बैंठकबाट, सहमति, सहकार्य र एकताबाट मात्रै अगाडि बडियोस, नेकपाको लोकप्रियता झनबड्दै जाओस, नेपाली जनताको आशा र भरोशाको केन्द्र नेकपा बनाउन सफल हुनुहोस् ।
अवसरहरु दिँदा गुटको आधारमा होइन, योग्यता, क्षमता, दक्षता , इमान्दारीताको आधारमा दिइयोस, कसैलाई पनि गुटबन्दीको आँखाले नहेरियो भन्ने कुरा म यहि सामाजिक सञ्जालमार्फत दुबै अध्यक्ष कमरेडलाइ अपिल गर्न चाहन्छु ।
(चितवनबाट नेकपाका युवा नेता केशव कँडेल)
