‘मेरा विरोधी तत्वहरूसँग मिलेर मलाई झुठो मुद्धामा फसाउन खोजेका छन्’

पुस १९, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले शुक्रबार विज्ञप्ति जारी गरेर आफूलाई झुठ्ठा मुद्धा लगाएर फसाउन खोजिएको बताएका छन् ।
विज्ञप्तिमा नशालु पदार्थ सेवन गरेर आएका भन्सारका बिचौलिया श्याम मिश्राले आफूलाई अभद्र व्यवहार गर्दा चालक शशिकान्त कश्यपसँग हातपाइ भएको बताएका छन् ।
श्याम मिश्राको कुटपिटबाट चालक शशिकान्त कश्यपले भारतमा उपचार समेत गरेका छन् । शशिकान्त कश्यपले पनि बिचौलिया श्याम मिश्राका विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले शशि कश्यपको उजुरीमा खासै ध्यान दिएको छैन ।

तर, नेपाली कांग्रेसका सांसद शाहलाई पक्राउ गर्न अदालतबाट आदेश लिएर बिचौलिया श्याम मिश्राको पक्षमा सत्ताको दुरुपयोग भएको आरोप लगाइएको छ ।
‘मेरोविरुद्ध मुद्धा दर्ता गराउने स्थानीय युवा श्याम मिश्रा आफै एक नशा सेवन गर्ने डिप्रेशनका बिरामी व्यक्ति हुन्’, शाहले भनेका छन्, ‘कृष्णानगर भन्सार परिसरमा रहेर पटक पटक राजश्व चोरीका घटनामा समेत श्याम मिश्रा संलग्न रहेका छन् ।’
‘प्रहरीले राजश्व चोरीको घटनामा उनलाई पक्राउ गरी थुनेको छ । सीमा क्षेत्रमा रही तस्करी गर्ने यस्तो अपराधिक चरित्र बोकेको श्याम मिश्राले राजनीतिक एजेण्डाबाट मलाई परास्त गर्न नसकी नेकपाका मेरा विरोधी तत्वहरूसँग मिलेर मलाई झुठो मुद्धामा फसाउन खोजेका छन्’, उनले भनेका छन्, ‘ सम्मानित अदालतबाट सत्य तथ्यको आधारमा फैसला हुनेछ भन्नेमा म पूर्ण प्रतिवद्ध छु ।’
प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता शाहसँग पराजित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार ईश्वर दयाल मिश्राको उक्साहट र दवावमा भन्सारका बिचौलिया श्याम मिश्राले प्रहरीमा उजुरी दिएको आरोप छ ।








