सिन्धुपाल्चोक दुर्घटनाको कारण सडक होइनः महानिर्देशक शर्मा

पुस २, काठमाडौं । सडक विभागका महानिर्देशक केशव शर्माले सडक दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला सबै पक्षबीच समन्वय हुनुपर्ने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो समय ठूलो मानवीय क्षतिसहितका सडक दुर्घटना बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि चासो भएको स्मरण गराउँदै उनले सडक दुर्घटनाका कारण धेरै रहेको स्पष्ट पारे ।

उनले दुर्घटना घटाउनका लागि सबै सरोकारवाला निकायले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विश्वभरि नै वर्षेनि मृत्यु हुनेको संख्यामा सडक दुर्घटना तेस्रो नम्बरमा छ । सडक दुर्घटनामा ज्यान गुमाउँदा यसको मानवीय क्षति मात्रै हुँदैन्, यसले सामाजिक–आर्थिक असर पनि पुर्याइरहेको हुन्छ ।’
उनले सडक दुर्घटना मानवीय कारण, सडक पूर्वाधारका कारण, मौसमका कारण लगायत धेरै कारणले हुने गरेको दृष्टान्त पेश गरे । उनले भने, ‘मानवीय कारणमा चालक, यात्रु र स्थानीय वा पैदल यात्रु पहिलो कारण हो । पूर्वाधारको कारणमा त्यो सडक सुरक्षित छ कि छैन ? सडक सुहाउँदो सवारी साधन हो कि होइन । त्यो पनि हेर्नुपर्छ । अर्को कुरा, मौसम पनि हो ।’
आफूहरुको जिम्मा सडक भएकोले यसको लागि प्रभावकारी काम गरिरहेको उनको भनाइ छ । उनले भने, ‘क्रस कटिङपनि बनाउनेतर्फ लागिरहेका छौं, यसले दुर्घटना कम गर्न सहयोग गर्छ । सडक दुर्घटना न्यूनीकरणका लागि मिडियाले पनि सशक्त भूमिका खेलिरहेका छन् ।’
सिन्धुपाल्चोकमा हालै भएको ठूलो मानवीय क्षतिसहितको यात्रुवाहक बस दुर्घटना सडकको कारण नभएको भन्ने प्रारम्भिक कुरा आएको पनि उनले स्पष्ट पारे । उनले भने, ‘त्यो दुर्घटना राम्रो स्टेरिङ नकाटिएको प्रमुख कारण मानिएको छ, यद्यपी के कारणले दुर्घटना भएको भन्ने कुरामा वास्तविकता आउन बाँकी नै छ । अहिले अनुसन्धान भइरहेको छ ।
सडक दुर्घटना रोकथामको लागि सबैले आफ्नो कमजोरीलाई आत्मासात गर्नुपर्ने र व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिए । देशभरि १६ प्रतिशतमात्रै समथर भू–भाग रहेको र बाँकी भूभाग उच्च पहाडी र हिमाली भू–भाग रहेको पनि उनले सुनाए ।








