फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सातौं साधारणसभा तय, ४५ प्रतिशत लाभांश प्रस्ताव

पुस ९, काठमाडौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभा यहि पुस २९ गते हुने भएको छ ।
संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते दुहवीस्थित केन्द्रिय कार्यालयमा सातौं वार्षिक साधारणसभा गर्ने तय गरेको हो ।
संस्थाले गत वर्षको मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेको छ । गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँको कुल ४५ प्रतिशतले हुन आउने १६ करोड ९९ लाख ५२ हजार ४०० रुपैयाँ बराबर लाभांश कुल ४५ प्रतिशत लाभांश अनुमोदन गर्ने कार्यक्रम छ ।

संस्थाले चुक्ता पुँजीको ३२.५० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ४३ हजार ४०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको फरवार्डका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले जानकारी दिए । त्यस्तै चुक्तापुँजीको १२.५० प्रतिशतले हुन आउने चार करोड ७२ लाख ९ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यसैगरी सातौं साधारणसभामा सभामा अन्य कुनै इजाजतपत्र प्राप्त ‘घ’ वर्गका वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि गरिने सम्पूर्ण कार्यको पूर्ण अख्तियार सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने बताइएको छ । भने, संस्थाको नाम परिवर्तन सम्बन्धी प्रस्ताव पनि पारित हुने भनिएको छ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि यही पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरिएको छ । पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।
२०६९ सालमा सुनसरीको दुहवीबाट कार्यप्रारम्भ गरेको फरवार्ड अहिले देशका १३० भन्दा बढि स्थानमा सक्रिय रहेको छ । फरवार्डले लघुवित्त कार्यक्रम मार्फत महिला केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । गाउँघरमा रहेका महिलालाई लघुउद्यम कार्यक्रम सञ्चालन गरेको फरवार्डमा करिब अढाई लाख महिलाहरु आबद्ध छन् ।








