वीपी चेककाण्डमा प्रतिष्ठानका निलम्बित रजिष्ट्रार, लेखा प्रमुख सहित चार जनालाई भ्रष्टाचारको मुद्दा

पुस २, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।  

प्रतिष्ठानका निलम्बित रजिष्ट्रार तुलबहादुर श्रेष्ठ सहित आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनिय क्लर्क चन्द्रकुमार मगर र रमेश कुमार खतिवडालाई विल भौचर समेत नउठाई प्रतिष्ठानबाट पाँच लाख ५० हजार चेक मार्फत मिलेमतोमा भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  

अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार पुर्वरजिष्ट्रार श्रेष्ठसँगै आर्थिक प्रशासन प्रमुख अग्रवाल, सिनियर क्लर्कद्वय मगर र खतिवडाको पनि मिलेमतो देखिएकोले ४ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरुले भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार सरकारी रकम हिनामिना गरेको आरोप छ ।  

null

उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले विशेष अदालतमा मुद्दा दायर गरिएको बताइएको छ । चारै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०), सोही ऐनको दफा ३ को उपदफा (१०) को खण्ड (ङ) र दफा १७ बमोजिम सजाय गरी बिगो ५ लाख ५० हजार कायम गरी चारै जनाबाट असुलउपर गर्न माग छ । प्रतिष्ठानबाट गत बैशाख २३ गते कुनै कारोबार नै नभएको व्यक्तिको नाममा ५ लाख ५० हजार रुपैया चेकमार्फत भुक्तानी गरिएको थियो ।  

यो विषय बाहिर सार्वजनिक भएपछि प्रतिष्ठानले एनआइसी एशिया बैंकसँग जवाफ मागेको थियो । पछि प्रतिष्ठानको खातामा पुनः पैसा जम्मा भएपनि अख्तियारले गम्भिर अनुसन्धान थालेको थियो । प्रतिष्ठानका पुर्वरजिष्ट्रार श्रेष्ठसँगै पूर्वउपकुलपति र बहालवाला उपकुलपति डा. राजकुमार रौनियार समेत भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । यससँगै प्रतिष्ठानमै कार्यरत केहि कर्मचारी पनि भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । निलम्बित रजिष्ट्रार श्रेष्ठलाई लागेको भ्रष्टाचारको यो दोस्रो मुद्दा हो ।  

भ्रष्टचारको मुद्दा दायर भएपसँगै सिंघाची अग्रवालसँगै क्लर्कद्धय मगर र खतिवडा पनि स्वतः निलम्बनमा परेका छन । ४ लाख ८० हजारको अर्को चेक काण्ड ५ लाख ५० हजारको चेककाण्ड सेलाउन नपाउदै प्रतिष्ठानमा अर्को ४ लाख ८० हजारको चेककाण्ड पनि घटेको छ । उक्त चेक काण्डमा प्रतिष्ठानका अस्पतालनिर्देशक डा. गौरीशंकर शाह समेत मुछिएका छन् ।  

प्रतिष्ठानसँग कुनै नातासाइनो नभएका सुमसेन थापाका नाममा ४ लाख ८० हजारको चेक साटिएको थियो । जसमा प्रहरीले अनुसन्धान गर्दा प्रतिष्ठानका विद्यार्थी र चिकित्सक र सनराइज बैंकका कर्मचारीको समेत संलग्नता देखिएको थियो । प्रहरीले यो विषयमा प्रतिष्ठानका विद्यार्थी र बैंकका कर्मचारीलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *