लोकतन्त्रका लागि कांग्रेससँगै लड्यौँ, हामीबीचको सम्बन्ध राम्रो छ: प्रधानमन्त्री ओली

असोज २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका छन् ।   

आज (आइतबार) नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस पार्टी र नेताहरुबीच आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गरेका हुन् । लोकतन्त्रको लागि सँगै लडेको पनि उनले स्मरण गरे ।   

‘सभापति शेरबहादुर देउवा विगत ४५ वर्षदेखिका साथी हुन् । लोकतन्त्रका लागि हामी सँगै लड्यौँ । लोकतन्त्रको मूल्यमान्यतामा तलमाथि पर्न नदिने हामीबीच प्रतिबद्धता छ । त्यसकारण हाम्रो सम्बन्ध राम्रो छ’, प्रधानमन्त्री ओलीले भने ।   

सम्बन्ध बिग्रिए पनि चाडहरुले सुमधुर बनाउँदै लैजाने स्पष्ट पार्दै उनले आफू निम्ता मान्न आएपछि सम्बन्ध नराम्रो भए पनि राम्रो तथा सुदृढ हुने बताए ।   

विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।   

कांग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि उनलाई विभिन्न पेशा व्यवसायका व्यक्ति र राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउँथे तर तत्कालीन शासकका गुप्तचरहरुले भेट्न आउने व्यक्तिलाई चियोचासो र केरकार गर्थे। त्यसपछि दशैँको अवसरमा टीका लगाउने तथा भेट्न सजिलो हुन्छ भनेर बिपीले चियापान समारोह शुरु गरेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *