स्वदेश फर्किए सी चिनफिङ, यसरी गरियो बिदाई

असोज २६, काठमाडौं । नेपाल भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । आज (आइतबार) दिउँसो एयर चाइनाको विमानमार्फत् उनी स्वदेश फर्किएका हुन् ।   

उनलाई जसरी भव्य स्वागत गरिएको थियो त्यसरी नै भव्य बिदाई गरिएको थियो । बिदाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।   

२३ वर्षपछिको चिनियाँ राष्ट्रपतिको उच्च भ्रमणलाई ऐतिहासिक रुपमा हेरिएको छ । राष्ट्रपति सीको भ्रमणका क्रममा सोल्टी होटलस्थित दुई पक्षीय छलफलसँगै विभिन्न २० वटा विषयमा समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा विभिन्न सम्झौताहरु भएका हुन् । 

सम्झौतापूर्व सीले नेकपा नेताहरुसँग सामूहिक भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । साथै उनले शनिबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।  

 सम्झौत पत्रमा विशेषगरी नेपाल–चीन क्रस बोर्डर रेलको सम्भाव्यता अध्यन गर्ने, लगानीका लागि नेपालको अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच संयन्त्र बनाउने लगायतका विषय उल्लेख छन् ।   

त्यस्तै, काठमाडौं र बुटबल नगर तथा चिनियाँ दुई नगरहरु नान्सी र सियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने, नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने पनि सहमति भएको छ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *