आफ्नो सांसद पक्राउप्रति राजपाले भन्यो– ‘काउन्टर तोडफोड गरेको होइन, बिरामीको पीडा सहन नसकेर सामान्य रुपमा आक्रोशित भएको हो’


असोज २८, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आफ्ना सांसद पक्राउ परेकोमा आपत्ति जनाएको छ ।
सोमबार जनकपुर विमानस्थल तोडफोड गरेको आरोपमा राजपा सांसद प्रमोद कुमार साह पक्राउ परेका थिए । राजपाले सांसद साहले बिरामीको पीडा हेर्न नसकेर आक्रोशमा त्यस्तो कदम चालेको दाबी गरेको छ ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घण्टौँसम्म जहाज नआउँदा छटपटाइ रहेका बिरामीको पीडा सहन नसकेर बुद्ध एयरको काउन्टरमा सोधपुछ गर्न जाँदा सामान्य रुपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित गरी सांसदलाई पक्राउ गरिएको घटनाको पार्टी घोर भत्सना गर्दछ ।’
राजपाले सांसद साहलाई अबिलम्ब रिहाईका साथै एयरलाइन्सको सेवालाई थप प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न पनि माग गरेको छ ।
साहले सोमबार बिहान ११ः४० मा जनकपुरबाट काठमाडौँ उडान हुनुपर्ने बुद्ध एयरको प्लेन डिले भएको भन्दै बुद्ध एयरको काउण्टर तोडफोड गरेका थिए ।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साहविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी भएपछि प्रहरीले पक्राउका लागि अनुमति मागेको थियो । अदालतको अनुमतिपछि उनी आज पक्राउ परेका हुन् ।
