सी चिनफिङको नेपाल भ्रमण भइरहँदा अमेरिकी राजदूतले उठाए इन्डो–प्यासिफिक एजेन्डा

असोज २६, काठमाडौँ । नेपालस्थित अमेरिकी राजदूतावासले हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) नीति बारे बुझाउ भन्दै एक भिडियो सार्वजनिक गरेको छ ।   

भिडियोमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले  इन्डो–प्यासिफिक नीति के हो ? यसले के गर्छ ? केका लागि अवलम्बन गरिएको निती हो ? लगायतका विषयमा जानकारी दिएका छन् । यो भिडियो चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको ठिक एक दिनअघि शुक्रबार सार्वजनिक भएको हो ।   

चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा ‘एक पाटो, एक बाटो (वान बेल्ट, वान रोड) भनेर पहिलोपटक बेल्ट तथा रोड इनिसिएटिभ सुरु गरेका थिए । जानकारहरुका अनुसार राष्ट्रपति सीले रेल, रोड, जलयातायातलगायत पूर्वाधारको विकास गरी चीनले आफ्नो प्रभाव विश्वभर फैलाउने उद्देश्य अनुरुप यो (वान बेल्ट, वान रोड) नीति ल्याएका हुन् ।   

हाल उनै राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा अमेरिकी राजदूतावासबाट (इन्डो–प्यासिफिक) नीतिसम्बन्धी जानकारी दिन भन्दै भिडियो सार्वजनिक भएको हो । भिडियोमा अमेरिकी राजदूत बेरीले (इन्डो–प्यासिफिक) नीति कसैलाई बहिस्कार गर्न बनाइएको नीति नभएको बताएका छन् ।  

उनले भनेका छन्, ‘इन्डो–प्यासिफिक नीति केहो भन्ने कुरा तपाईँले प्रत्यक्ष रुपमा मबाट सुन्नु महत्वपूर्ण छ । पहिलो कुरा यो एसिया प्रशान्त क्षेत्रमा अमेरिकी नीतिको नाम मात्रै हो । यो नीतिले यस क्षेत्र विधिको शासन, खुलापन र स्वतन्त्रताबाट सुशासित रहन्छ भन्ने सुनिश्चित गर्नमा हामीले गर्ने सहयोगलाई परिभाषित गर्दछ । हामी यस क्षत्रप्रति प्रतिबद्ध छौँ । हामी यहाँ सधैँका लागि छौँ । र हामी सधैँ स्वतन्त्र, निष्पक्ष र नियममा आधारित अन्तर्रा्ष्ट्रिय व्यवस्थाको सम्मान र समर्थन गर्ने छा भनी बताउने तरिका हो यो इन्डो–प्यासिफिक नीति । दोस्रो न त आवद्ध हुनुपर्ने यो कुनै क्लब हो, न त सही गर्नु पर्ने कुनै कागजात नै छ यसमा ।’ उनले भनेका छन्,  

‘इन्डो–प्यासिफिक नीति कुनै सम्झौता होइन । न त कुनै संगठन नै । कसैलाई बहिस्कार गर्न बनाइएको नीति होइन यो । यस क्षत्रका सबै देशहरुमाझ सार्वभौमिकताको सम्मान र विधिको शासनमा एमसीसी कम्प्याक्ट परियोजनामार्फत प्रस्ताव गरिएका सम्भावना र त्यसमा भएका निरन्तर प्रगति अमेरिकी सरकारको आदानप्रदान कार्यक्रम अन्तर्गत अध्ययनरत, तालिम र भ्रमण गरेका हजारौँ नेपालीहरु, ऐतिहासिक सम्पदाको पुनस्थापना यस नीति अन्तर्गत हामीले उल्लेख गर्ने मूल्यमान्यता तथा सिद्धान्तहरुलाई मूर्त रुप दिने धेरै उदाहरणमध्ये यी केही मात्रै हुन् । यसलाई जे नाम दिएता पनि नेपालप्रतिको हाम्रो प्रतिबद्धता सदैव दृढ रहेको छ र रहिरहने छ ।’ उनले भनेका छन् ।   

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सार्वजनिक गरेको हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) राणनीतिसम्बन्धी प्रतिवेदनअनुसार अमेरिकाले सन् २०१९ मा ८६ देशसँग ७९ वटा सैन्य साझेदारी गर्दै छ ।यसमा नेपालसहित हिन्द–प्रशान्त क्षेत्रका १२ मुलुक छन् । पेन्टागनका अनुसार अमेरिकाले ग्लोबल पिस अपरेसन इनिसिएटिभमार्फत नेपाल, भारत, बंगलादेश, कम्बोडिया, फिजी, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, थाइल्यान्ड, टोंगा र भियतनामसँग सैन्य साझेदारी विस्तार गर्नेछ ।   

प्रतिवेदनमा अमेरिकाले नेपाल र श्रीलंकालाई उसको हिन्द–प्रशान्त रणनीतिका नयाँ साझेदार सदस्य भने पनि नेपाल भने अहिलेसम्म आफ्नोतर्फबाट स्पष्ट धारणा राखेको छैन ।   

नेपालले अहिलेसम्म यी दुवै राष्ट्रको नीतिबारे तटस्थता देखाउँदै आएको छ । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी राजदूतबाट आफ्नो इन्डो–प्यासिफिक नीतिबारे जानकारी दिने भन्दै भिडियो सार्वजनिक हुनुलाई ‘चीनकोभन्दा अमेरिकी इन्डो–प्यासिफिक नीति राम्रो छ’ भन्ने देखाउन खोजिएको जानकारहरु बताउँछन् । कतिपय बैदेशिक मामिला सम्बन्धी जानकारहरुले चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको अघिल्लो दिन सार्वजनिक भएको राजदूतको भनाइले नेपाललाई अमेरिकाप्रति नजिक हुन सांकेतिक अभिव्यक्ति दिएको बताएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *