लेड (सिसा) को विषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह आजबाट सुरु

  

  

काठमाडौं, ३ कात्तिक । जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्र (सिफेड) ले सरकारबाट तोकिएको पेन्टमा लेडको बाध्यकारी मापदण्डको पूर्ण परीपालना एवम् प्रभावकारी कार्यान्वयनका लागि बजार अनुगमन, जवाफदेहीपुर्ण पेन्टको उत्पादन, लगायतका निम्ति आवश्यक पहल गरि साताव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ ।   

हरेक वर्षझैँ यस वर्ष पनि लेडको विषाक्तताबारे जनचेतना फैलाउँदै लेडको आयात, विक्रिवितरण र प्रचारप्रसारको शुभारम्भ गरेको हो ।   

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त साताव्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा सिफेडका कार्यकारी निर्देशक एवम् वातावरण वैज्ञानिक रामचरित्र साहले नेपालमै भएको अध्ययनहरुले बालबालिकाको रगतमा अत्यधिक लेड पाईएको तथ्यबारे चिकित्सक समुदायहरुसँग अन्तर्क्रिया गरी नियन्त्रण तथा समस्या सामाधानको उपायहरु पहिल्याउने जमर्को गरिएको विश्वास दिलाए ।   

उनका अनुसार अन्य सम्बन्धित ऐन, कानून, नीति, नियमावली र निर्देशिकाहरुमा लेड पेन्टसम्बन्धी मापदण्डको उचित समायोजन गर्ने÷गराउने रहेको छ । साथै, पेन्टमा तोकिएको लेडको मापदण्डअनुसार लेडको अधिकतम मात्रा ९० पिपिएम हुनुपर्ने, बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षा सम्बन्धि सावधानीमूलक सन्देश अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधानहरुको पूर्ण परिपालनामा जोड दिने रहेको पनि साहले जनाए ।   

‘नेपालमा लेडको विषबाट बचावटका लागि अन्तराष्ट्रिय सचेतना सप्ताहको शुभारम्भ, लेडयूक्त पेन्ट प्रतिबन्ध गरौँ, सरकारले तोकेको पेन्ट्समा लेडको मापदण्डको पूर्ण परिपालना गरौं’ भन्ने मूल नारासहित कार्यक्रम अघि बढाइएको पनि साहले जानकारी गराए । 

साहको नाममा सिफेडले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘आम जनस्वास्थ्य र खासगरी बालबालिकालाई लेड (सिसा) को विषाक्तताबाट जोगाउनका निम्ति नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्र एवम् वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको सहकार्यमा र विश्व स्वास्थ्य संगठनको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले लेडयूक्त पेन्ट उन्मुलनका निम्ति अन्तर्राष्ट्रिय सञ्जालद्वारा सन् २०१९ अक्टोवर २० देखी २६ (२०७६ कार्तिक ३ देखि ९ गते) सम्म लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह काठमाडौं, किर्तिपुर र पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन गैरहेको कुरा जानकारी गराउन एक प्रेस सम्मेलन मार्फात शुभारम्भ गरीएको थियो ।’ 

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले पेन्ट उद्योगलगायत अन्य सबै औद्योगिक प्रष्ठिानहरुले जवाफदेहितापूर्ण उत्पादन मात्रै नगरी उत्पादित पेन्ट लगायतका बस्तुहरुको जवाफदेहितापूर्ण आयात, निर्यात, बिक्रिवितरण र खासगरी प्रचार प्रसारमा पनि ध्यान पुर्याउनु पर्ने बेला आएको बताए ।   

त्यस्तै, उनले पेन्टलगायत कुनैपनि आयातित वा नेपालमै उत्पादित वस्तुहरुको प्रचारप्रसार गर्ने गराउने कलाकार, हाँस्यकलाकार, सेलेब्रेटी र मोडलहरुलगायत सञ्चार माध्यमहरुले पनि ती वस्तुहरुले जनस्वास्थ्य र वातावरणमा पार्न सक्ने असरहरुको बारेमा र सम्बन्धित वस्तुहरुको बारेमा नेपाल सरकारले तोकेको ऐन, नियमावली र मापदण्डको बारेमा हेक्का राखि जवाफदेहीतापुर्ण प्रचार प्रसारमा मात्र जोड दिनुपर्ने पनि बताए ।   

राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका महासचिव गोविन्द सुवेदीले भ्रामक र भडकिलो प्रचार प्रसार गरी उपभोक्ता ठग्न नहुने धारणा राखे । उनले भने,‘यो त कानूनतः अपराध हो ।’   

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले आम उपभोक्ताको स्वास्थ्य र वातावरणसँग खेलबाड, कमशल एवं किफायती मालसमान कुनै पनि उद्योगी र ब्यापारीबाट गर्न÷गराउनु नहुने उनको भनाइ छ । उनले संविधानप्रदत्त उपभोक्ता अधिकारको संरक्षण गर्नमा पनि जोड दिए ।   

 कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले लेडको असर विभिन्न उमेरका मानिसहरुमा पर्ने कुरा राखे । नेपाल स्वास्थ्य अनुसन्धान परीषद् लगायतका चार चार पटकको बालबालिकाको रगतमा लेडसम्बन्धि गरिएका अध्ययनहरुले ६५ देखि १०० प्रतिशतसम्म बालबालिकाहरु लेडको उच्च जोखिममा रहेको अध्ययनहरुले देखाएकोले सम्बन्धित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य समुदायहरुले सबै बालबालिकाको शरीरमा लेडको अध्यन, नियन्त्रण तथा सम्बन्धित स्वास्थ्य समस्याको सामाधानमा तत्काल लाग्नुपर्ने परीषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. धिमालको सुझाव थियो ।   

वातावरण विभागका बरिष्ठ वातावरण निरीक्षक भुपेन्द्र शर्माले मापदण्डको अझ कडाइका साथ निरन्तर रुपमा बजार अनुगमन एवं पेन्टहरुको प्रयोगशाला परीक्षण गर्ने सम्बन्धित विभाग (वातावरण विभाग र गुणस्तर तथा नापतौल विभाग) हरुको तयारी भइरहेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *