‘हल्ला, हल्ला नै हुन्, नेपालीहरू यतिसम्म गिर्न सक्दैनन्’

असोज २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकाले यसको संरक्षणमा सबै नेपाली जुट्नुपर्ने बताएका छन् ।   

आज (बुधबार) राजधानीको भृकुटीमण्डपमा आयोजित सत्तारुढ नेकपाको वडा दशैं, तिहार, छठ लगायत पर्वको शुभकामना तथा चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।   

‘हाम्रो विविधता, धर्म, संस्कृति संरक्षणका नाउँमा अरु देशमा जस्तो विकृति फैलिएको पाइँदैन । यसको दुरुपयोग भएको छैन अरु देशमा जस्तो । कसैले हल्लाउन पनि सक्दैन । हामी दिँदैनौँ पनि । हामी नेपाली यसको संरक्षणमा एकजुट भएर लाग्नुपर्छ’, प्रम ओलीले भने ।   

Image result for प्रधानमन्त्री

चाडपर्वले नेपाल र नेपालीहरुबीचको सम्बन्ध अझै मजबुत बनाएको उनको भनाइ छ । ‘चाडपर्वले कटुतापूर्ण सम्बन्धको अन्त्य गर्छ । सामाजिक सुप्रबन्ध, सु–व्यवस्था चाडवाडले गरेको छ । दाजुभाईसँग कहिलेकाहीँ झगडा हुँदा माइतीमा पाइलो टेक्दिन भन्छन् चेलीहरु । तर जब तीज आउँछ, दाजुभाई लिन गएनन् भने रुन्छन् । गएपछि खुशी हुन्छन् । चाडवाडले सम्बन्ध बिग्रन दिँदैन । अझ मजबुत बनाउँछ ।’ 

सामाजिक सञ्जालले नेपालीलाई असभ्यतातर्फ उन्मुख गरेको उनको गुनासो छ । उनी भन्छन्, ‘हाम्रो समाज मर्यादित छ । तर कताकति सामाजिक सञ्जालका नाममा नेपालको सभ्यता भत्किएको महशुस हुन्छ । हामी असभ्यतातर्फ लम्कँदै छौँ कि जस्तो भान हुन्छ मलाई । हेर्न, सुन्न नसक्ने गरि लेखिन र बोल्न थालिएकाे देखिन्छ, त्यो नेपालीपन हाेइन । नेपाली यति गिर्न सक्छ जस्ताे मलाइ लाग्दैन । नेपाली यतिसम्म गिर्न हुँदैन ।’ 

शुभकामना सँगै उनले पछिल्लो समय भइरहेका विकास सम्बन्धी टिका टिप्पणीका विषयमा पनि कुरा उठाए । पार्टी तथा सरकारको बचाउ गर्दै उनले राष्ट्रको विकास, उन्नती, प्रगती केही भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न भने ।   

‘नेकपा सरकार आएपछि देशमा केही भएन भन्नेहरु पनि छन् । केही भएको नदेख्ने छुट्टै विशेष वर्ग छन् । स्वार्थका कारण गलत हल्ला फैलाउँछन् । तर जनताले नेकपा सरकारले गरेको काम, विकास सबै देख्छन्,’ प्रधानमन्त्रीले भने, ‘घर, गाडी, प्रशस्त जग्गा जमिन, पद प्रतिष्ठा हुनेहरुलाई केही परिवर्तन नभएको लागेको होला । ती वृद्धवृद्धालाई सोध्नुस् न फरक पर्या छ कि छैन, विकास भएको छ कि छैन गरिब जनतालाई सोध्नुस् ।’ 

धेरै बोल्दिन, शुभकामना मात्रै दिन्छु भनेर सम्बोधन सुरु गरेका प्रधानमन्त्री ओलीले सरकारको काम कारवाहीको बचाउमा विकासका केही किस्सा पनि सुनाउन भ्याए ।   

सबै वृद्धवृद्धा तथा नेपालीको बैंक खाता भएको, नेपालको पानी जनताको लगानी भन्ने सिद्धान्त कार्यान्वयनमा आएको, एयरपोर्ट सुधार, पाइपलाइनबाट पेट्रोलियम पदार्थको आपूर्ति, उद्योग कलकारखाना स्थापित, वैदेशिक लगानी वृद्धि लगायत हरेक क्षेत्रमा विकास भएको उनको दाबी थियो ।   

‘यो भन्दा अघि चिनियाँ राष्ट्रपति सी जिनपिङ सवार हेलिकोप्टर हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्दैनथ्यो । हामीले रातभरी लगाएर त्यसलाई सुधार गर्यौँ । त्यत्रो जहाज पनि बस्ने बनायौँ । हरेक नेपालीको बैंक खाता बनायौँ । वैदेशिक लगानी ४२ बाट ७६ अर्ब पुर्यायौँ । विकास भएको छ, जनताले देख्छन्,’ प्रधानमन्त्री ओलीले भने ।   

राष्ट्रलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा सरकार अघि बढेको दोहोर्याउँदै उनले हल्लाको पछि नलाग्न सबै जनसमुदायलाई आग्रह गरे । उनले भने, ‘हल्ला, हल्ला नै हुन् । यसको पछाडी नदौडिनुस् । देश अगाडी बढ्छ, बढिरहेको छ । पुराना थाँती आयोजनाहरु पनि अघि बढ्छन् । हामी ठुला देशसँग बराबरी हैसियतमा पुगेका छौँ । हाम्रो देश हामीले बनाउने हो । विश्वासका साथ अघि बढौँ ।’ 

लोकतन्त्रमा राजनीतिक प्रतिस्पर्धा सामान्य रहेको औँल्याउँदै उनले स्वस्थ प्रतिस्पर्धा गर्न राजनीतिक दलहरुलाई सुझाए । राष्ट्र निर्माणमा हातेमालो गर्न तथा एकता कायम गर्न उनले सबैलाई आग्रह गरे ।   

‘रिस, डाह, क्रोधकाे आवश्यकता छैन । निर्वाचन भइहाल्छ । नेतृत्व जनताले चुन्ने हो । कानूनी राज अनुसार चल्ने हो । कानून विपरितका कार्यमा हामी विश्वास पनि गर्दैनौँ’, उनले भने ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *