ओली र नेपालबीच बाेलचाल बन्द, आत्महत्या गर्ने बढे, सम्पतिलाई वैध बनाउन घरजग्गामा ठूलो लगानी

भाद्र २४, काठमाडाैं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिकहरूले विविध विषय समेटेका छन् । ब्राेडसिटहरू कान्तिपुर, राजधानी, अन्नपूर्ण, नेपाल समाचारपत्र, नयाँपत्रिकाले फरकफरक विषयलाइ समेटेका छन् ।   

प्रहरी प्रधान कार्यालयकाअनुसार आव २०७३/७४ यताका तीन वर्षमा प्रत्येक वर्ष आत्महत्याको दर बढेको बढ्यै छ । २०७३ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका थिए । आव २०७४/७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरे । त्यो संख्या आव २०७५/७६ मा त्यो संख्या ५ हजार ७५८ पुग्यो ।  प्रहरीका अनुसार दैनिक १५ देखि १६ जनाले आत्महत्या गर्ने गरेका छन् । आपराधिक क्रियाकलापका कारण हुने कुल मृत्युमध्ये ४६ प्रतिशत घटना आत्महत्याबाट हुने गरेको प्रहरीको भनाइ छ ।   

यसमध्ये १८ वर्ष मुनिका ८ प्रतिशत, १९देखि ४० वर्षका ५६ प्रतिशत, ४१ देखि ६० वर्षका २९ प्रतिशत र ६० वर्षमाथिका ७ प्रतिशत रहेका छन् । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् । 

यसैगरी कान्तिपुर दैनिकमै चिनीयाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबार ‘सकारात्मक संकेत’ दिएकाे समाचार छ । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएका हुन् । 

‘चिनियाँ राष्ट्रपति सीको भ्रमण नेपाल भ्रमणबारे कुराकानी भएको छ । तर, कहिले हुने निक्र्योल भइसकेको छैन,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार द्विपक्षीय संयन्त्र बैठकपछि कान्तिपुरसँग भने, ‘विदेशमन्त्री वाङले चीनबाट विशिष्ट राजनीतिक तहमा हुन सक्ने नेपाल भ्रमणको सरोकारलाई सकारात्मक रुपमा लिनुभएको छ ।’   

नेपालमा राजनीतिक संक्रमण र अस्थिरता टुङ्गीएकाले उच्चस्तरमा हुने राजनीतिक भ्रमणको ‘उपयुक्त समय’ रहेको भन्दै आफूले विदेशमन्त्री वाङसमक्ष कुरा राखेको ज्ञवालीले जानकारी दिए । कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् । 

अवैध रूपमा सम्पति कमाएकाले आफ्नो सम्पतिलाई वैध बनाउन घरजग्गामा ठूलो लगानी गर्ने गरेकाले नेपालमा घरजग्गाको मूल्य तीव्र रूपमा बढिरहेको पाइएको छ । कालो धन आर्जन गर्नेहरूले सम्पति शुद्धीकरण गराउनकै लागि घरजग्गामा लगानी गर्ने क्रम बढाइरहेको सम्पति शुद्धीकरण अनुुसन्धान विभागका अधिकारीले बताएका छन् ।   

विभागका अधिकारीका अनुसार उपत्यकालगायत देशका विभिन्न भागमा कैयाैं क्षेत्रफल जग्गा कालो धन आर्जन गरी सम्पति शुद्धीकरण गराउनेहरूकै कब्जामा गएको छ । जसका कारण घरजग्गाको मूल्य अस्वभाविक रूपमा बढ्न पुगेको जनाइएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता विनोद लामिछानेले अन्य देशको तुलनामा नेपालमा जग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्नुमा सम्पति शुद्धीकरण गराउनेहरूले घर जग्गामा अत्यधिक लगानी गर्नु नै मुख्य कारण रहेको बताए । घरजग्गाको कारोबार गर्ने नियमक निकाय निष्क्रिय हुँदा अवैध सम्पति आर्जन गरी घरजग्गामा लगानी गर्नेहरू उत्साहित बन्दै गइरहेको विभागका अधिकारीको अनुभव छ । राजधानी दैनिकमा भवनाथ प्याकुरेल लेख्छन् । 

सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ । केहीको बोलचाल बन्द छ । केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन् ।  बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो । जनप्रतिनिधिबीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध भएको छ भने सर्वसाधारण सेवाग्राही मर्कामा परेका छन् ।   

धनुषा हंसपुर नगरपालिकाका प्रमुख–उपप्रमुख विवादले एक निर्दोषको ज्यान गएको छ । साउन २१ गते नगरपालिका कार्यालय सार्ने विषयमा प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा पक्षबीच झडप हुँदा बघचौडाका ५७ वर्षीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भदौ १८ गते मण्डलको मृत्यु भयो । अन्नपूर्ण पोस्ट् दैनिक लेख्छ ।   

अन्नपुर्ण पाेस्टमा अर्काे समाचार छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन । ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन । उनीहरुबीच ५ भदौमा बसेको सचिवालय बैठकमा चर्काचर्की परेको थियो । 

नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्रीले ‘आवश्यक छैन’ भनेपछि बाझाबाझ परेको थियो । बैठकै असामान्य हुने अवस्थामा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य वामदेव गौतमलगायत नेताले हस्तक्षेप गरेका थिए । 

यता नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल विचकाे तिक्तताकाे समाचारलाइ प्राथमिकता दिएकाे छ । नयाँ पत्रिका अनुसार ओली र नेपाल विच १९ दिनदेखि बाेलचाल भएकाे छैन ।   

प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच १९ दिनदेखि संवाद नै बन्द भएको छ । स्वास्थ्योपचारका लागि ओली सिंगापुर जानुअघि ५ भदौमा बालुवाटारमा बसेको बैठक दुई नेताबीचकै भनाभनमा टुंगिएयता भेटघाट तथा छलफल भएको छैन । 

दुई साताको उपचारपछि स्वदेश फर्किएको चार दिनसम्म पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटघाट भएको छैन । शुक्रबार फर्किएका ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने चारपटक भेटवार्ता गरिसकेका छन् । सचिवालयका अरू नेताले पनि ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे चासो राख्दै शुभकामना व्यक्त गरेका छन् । 

५ भदौको बैठकमा आफूले दिएको स्वास्थ्यलाभको कामना ओलीले फिर्ता गरेको भन्दै अहिलेसम्म पनि नेपालले असहज महसुस गरेका छन् । सो बैठकमा ओलीले नेपालबाट स्वास्थ्यलाभको शुभकामनासमेत नलिँदा तिक्तता बढेपछि प्रचण्ड, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलले बीचैमा हस्तक्षेप गरेका थिए । 

‘उहाँ (केपी ओली)ले नै स्वास्थ्यलाभको शुभकामना चाहिँदैन भन्दै फिर्ता गरिसकेपछि फेरि जबर्जस्ती घरमै पुगेर अहिले कस्तो छ भन्नु त्यति राम्रो हुने कुरै भएन,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘फेरि पुरानै कुरा दोहोर्‍याएर मैले उतिवेलै शुभकामना चाहिँदैन भनेको थिएँ, किन आउनुपर्‍यो, चासो राख्नुपर्‍यो भन्ने अमिलो जवाफ आयो भने के गर्ने ? त्यसैले उहाँहरूबीच संवाद हुन नसकेको हो ।’ १९ दिनदेखि संवाद टुटेपछि वरिष्ठ नेता नेपाल पनि पार्टीको सचिवालय बैठकमै आफ्ना कुरा राख्ने सोचमा छन् । नयाँ पत्रिका लेख्छ । 

हेर्नुहाेस आज प्रकाशित राष्ट्रिय दैनिकहरूकाे पहिलाे पृष्ठ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =