रत्ननगरमा रक्त सञ्चार प्रतिष्ठान निर्माण हुने

साउन १५, चितवन । चितवनको रत्ननगरमा केन्द्रीय रक्तसञ्चार प्रतिष्ठान सञ्चालनको तयारी गरिएको छ ।
चितवनसहित देशभर रहेको १ सय १० वटा क्षेत्रीय रक्तसञ्चार केन्द्रको नेतृत्व गर्ने गरी नेपालमै पहिलोपटक रत्ननगरमा केन्द्रीय रक्तसञ्चार प्रतिष्ठान सञ्चालन गर्न लागिएको रत्ननगरका मेयर नारायण वनले जानकारी दिए ।
null
रत्ननगर नगरपालिका, गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा प्रतिष्ठान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
प्रतिष्ठानको भौतिक संरचना निर्माणका लागि रत्ननगर नगरपालिकाले वडा नं ९ स्थित टिकौलीमा एक बिगाहा जग्गा उपलब्ध गराएको छ । एनआरएनएले भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोगसँगै उपकरण सहयोग गर्नेछ । प्रतिष्ठानको भौतिक संरचना निर्माणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारहरुबाट पनि आर्थिक सहयोग माग गरिने छ ।
प्रतिष्ठानको भौतिक संरचना निर्माणका लागि रत्ननगर नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीलाई जग्गा भोगचलन गर्ने स्वामित्व प्रदान गर्नेछ ।
भौतिक संरचना निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले नेतृत्व दिने सहमाति भएको छ । प्रतिष्ठानबाट रगतको अनुसन्धान, रक्त समूहको पहिचान, रगत संकलन तथा रक्तदान गर्न प्रेरित गर्ने प्रशिक्षणका कार्यक्रम सञ्चालन हुने नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले बताए ।
नेपालमा विभिन्न समयमा रगतको अभाव हुने गरेको छ । रगतको अभाव हुन नदिन प्रतिष्ठानले रक्तदाता उत्प्रेरणा कार्यक्रम गरी रगतको उपलब्धतालाई सहज बनाउने छ ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार समितिका संयोजक हरिप्रसाद न्यौपानेले चितवन नेपालको मध्य भागमा पर्ने भएकाले रत्ननगरमा नेपालमै पहिलोपटक रक्तसञ्चार प्रतिष्ठान सञ्चालन गर्न लागिएको बताए ।
गैरआवासीय नेपाली संघ रक्तसञ्चार पद्धति विकास समितिका संयोजक फणीन्द्र पन्तले आगामी असोजबाट निर्माणको प्रक्रिया सुरू गर्ने बताए । एक अर्ब रूपैयाँबाट निर्माण कार्य सुरू गरिने र प्रतिष्ठानका लागि २५ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको पन्तले बताए ।








