प्रधानमन्त्रीको शरीरमा एण्टीबडीको मात्रा बढी देखियो, यो खतरनाक हुन्छ: चिकित्सक

भदौ ५, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका रजिस्टार तथा प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिलिप शर्माले प्रधानमन्त्री केपी शर्मा ओली चिकित्सककै सिफारिसमा उपचारका लागि सिंगापुर गएको स्पष्ट पारेका छन् ।   

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिँदै डा. शर्माले यस्तो बताएका हुन् ।   

उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा सम्पूर्ण देशवासीलाई नै चासो हुनु स्वभाविक हो । प्रधानमन्त्रीज्यूको स्वास्थ्यको बारेमा विभिन्न समयमा विभिन्न टिकाटिप्पणी हुने गरेको छ । यस्ता कतिपय अवस्थामा धेरैजसो यथार्थभन्दा बाहिरका कुराहरु उठिरहेका छन्, जुन काल्पनिक मात्रै हो, वास्तविक होइन ।’ 

प्रधानमन्त्रीको अहिलेको स्वास्थ्यबारे जानकारी दिँदै उनले गएको साउन महिनाको १८ देखि २७ गतेसम्म सिंगापुरमा गरिएको उपचारको फलोअपका लागि आज (बिहीबार) प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान गरेको बताए ।   

‘हाम्रो पटक पटकको आग्रहपछि मात्रै प्रधानमन्त्रीज्यूले सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा परीक्षण गराउन राजी हुनुभएको हो । प्रारम्भिक परिक्षणमा उहाँको शरीरमा मृगौलासम्बन्धी केही एण्टीबडीको मात्रा बढी देखिन गएकोले ती एण्टीबडीहरुलाई शरीरबाट निष्काशन गर्ने उपचारको क्रम सुरु गरिएको थियो । त्यही उपचारको निरन्तरता, ती औषधीहरुको प्रयोग र अहिलेको मृगौलाको अवस्था तथा आगामी दिनमा कुन मात्रामा कुन अवस्थाको औषधी प्रयोग गर्ने भन्ने कुराको थप जानकारी र परीक्षणका लागि उहाँ सिंगापुर जानुभएको हो ।’ 

सिंगापुर नै किन ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले नेपालका विज्ञहरुको सुक्ष्म अध्ययन पश्चात् सिंगापुरको नेशनल हस्पिटल मृगौला प्रत्यारोपणको क्षेत्रमा संसारभरी नै उत्कृष्ट भएको जानकारीपछि त्यहाँ पठाइएको जावाफ दिए ।   

‘थप परीक्षण र उपचारका क्रममा देखिने प्रभाव यहाँका विज्ञहरुबीच छलफल भयो । हामीले गरेको रिसर्चमा त्यहाँको मेडिकल ट्रिटमेन्टको कोर्स पनि फरक पायौँ । त्यसैले प्रधानमन्त्रीलाई त्यहाँ जान सुझाएका हौँ । करिब ७ देखि १० दिनसम्मको उहाँको यसपालीको बसाईँमा सम्पूर्ण परीक्षण र उपचारको मोडालिटिको बारेमा थप कुरा अगाडी आउनेछ । उहाँको चिकित्सकको हैसियतले हामी भोलिको अवस्था के हुन्छ, सबैलाई जानकारी गराउने छौँ,’ डा. शर्माले भने ।   

यस्तै उनले नेपालमा उपचार सम्भव नभएका कारण प्रधानमन्त्री ओली सिंगापुर गएको कुरालाई प्रतिकार गरे । नेपालका प्रविधिहरु भन्दा विदेशका प्रविधि विज्ञान क्षेत्रमा उच्चस्तरको भएको औँल्याउँदै उनले भीभीआइपीको ट्रिटमेन्टमा कुनै पनि कसर बाँकी नरहोस् भन्ने हेतुले विदेश जाने सल्लाह दिएको स्पष्ट पारे ।   

‘प्रधानमन्त्रीको किड्नी जुन ट्रान्सपालेन्ट गरिएको थियो त्यसको डेट सकियो, अब त्यसले काम गर्दैन भन्ने हल्ला पनि चलिरहेको छ त्यो के हो ?’ भन्ने सञ्चारकर्मीले राखेको जिज्ञासामा डा. शर्माले हल्ला निराधार भएको दाबी गरे । उनले भने, ‘यो सत्य होइन । क्रिएटिनिनको अवस्था नर्मल लेभल भन्दा थोरै माथि छ । प्रायजसो १.४, १.५ लाई नर्मल भनिन्छ । प्रधानमन्त्रीको २ को हाराहारीमा छ । र क्रिएटिनिनको मात्रा यति हुँदैमा किड्नीले काम गर्न छोड्छ भन्ने हुँदैन ।’ 

त्यसैगरी बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री ओलीको क्रिएटिनिन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने विश्वास दिलाए । एन्टिबडीको मात्रा घटाउन सकियो भने स्वास्थ्य अवस्था राम्रो हुने उनको भनाई छ ।   

डा. काफ्लेले मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्ति उपचार गर्न जाँदा नकारात्मक टिप्पणी गर्न नहुने आशय व्यक्त गरे । उनले भने, ‘देशै डुबाउने गरि खर्च हुँदैन । यो खर्चिलो उपचार होइन ।’ यद्यपी उनले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था के–कस्तो छ ? भन्ने कुरा नेपाली जनताले थाहा पाउनुपर्ने बताए । उनले नेपाली जनतालाई निःशुल्क डाइलोसिसको सुविधा दिलाउने कामको जसपनि वर्तमान प्रधानमन्त्री ओलीलाई जाने बताए ।   

डा. काफ्लेले एन्टीबडी बढेर जानु भनेको खतरनाक भएको टिप्पणी गर्दै यस्तो अवस्थामा साधारण औषधीले पनि काम नगर्ने जनाए । तर, प्लाज्मा फेरेसिस मार्फत् एन्टीबडी नर्मल गर्न सकिने उनले बताए । एक सेसन गर्दा नेपालमा ७० देखि ८० हजार रुपैयाँ लाग्ने पनि उनले जानकारी दिए । उनका अनुसार कम्तिमा पनि ६ पटक डाइलोसिस गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले पुनः मृगौला प्रत्यारोपण पनि हुनसक्ने काफ्लेले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *