आफ्नै बमले आफैं मारिँदै विप्लव कार्यकर्ता

काठमाडौं, ६ साउन । करिब तीन महिनाको अवधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता कार्यकर्ता आफैंले बोकेको बमबाट मारिएका छन् । सरकारले २८ फागुनमा प्रतिबन्ध लगाएपछि भूमिगत गतिविधि सञ्चालन गर्दै आएको विप्लव समूहका नेता कार्यकर्ता आफैंले बोकेको बम विस्फोट हुँदा मारिएका हुन् । 

गत १२ जेठमा राजधानीको सुकेधारा, अनामनगर र थानकोटमा भएको विस्फोटदेखि २ साउनमा धनगढीमा भएको विस्फोटसम्मका चार घटनामा ६ जना विप्लव नेता कार्यकर्ताको ज्यान गएको हो । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

 

null

गत जेठमा राजधानीको सुकेधारामा बम विस्फोट हुँदा तीन जना नेकपाका नेता कार्यकर्तासहित एक सर्वसाधारणको ज्यान गएको थियो । सो विस्फोटमा नेकपाका नेताहरू कृष्णप्रसाद भण्डारी ‘निरन्तर’, गाधीराम रानामगर ‘गोकुल’ र दीपेन्द्र विक ‘देउराम’ को ज्यान गएको थियो । 

यसैगरी सोही दिन नै घट्टेकुलोमा भएको विस्फोटमा विद्यार्थी नेता प्रज्वल शाहीको ज्यान गएको थियो । सो विस्फोट भने कोठाभित्र बम राखिएकै अवस्थामा भएको थियो । यसैगरी, सोही दिन नै थानकोटमा आफैंले बोकेको बम विस्फोटमा परी घाइते भएका अर्का एकको समेत निधन भएको थियो भने यी तीन घटनामध्ये सुकेधारामा एक सर्वसाधारण मारिएका थिए । 

यसैगरी, गत बिहीबार धनगढीमा नेकपाका कार्यकर्ता रामबहादुर सिंह ‘राजेश’को आफैंले बोकेको बम विस्फोट हुँदा मृत्यु भएको थियो । सो विस्फोटमा अर्का एक जना विप्लव कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । यस बीचमा भएका बम विस्फोटका घटनामा परी विप्लव नेता कार्यकर्ता र सर्वसाधारण गरी १० जना घाइते भएको प्रहरीले बताएको छ । 

विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धपछि सो समूहबाट देशभर गरी १९ वटा विस्फोटका घटना भएको प्रहरीले जनाएको छ । यस्तै, यसबीचमा ९५ वटा बम निष्क्रिय पारिएको र १० स्थानमा आगजनी र तोडफोडका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । 

प्रतिबन्दयता हालसम्म प्रहरीले विप्लव समूहका नेता कार्यकर्ताबाट विभिन्न प्रकारका गरी २३ नाल हतियारसमेत बरामद गरेको छ । यसैगरी, ४१७ राउन्ड गोली, ४ थान डेटोनेटर र ३१ मिटर डेटकर्ड सो समूहबाट बरामद भएको प्रहरीको तथ्यांकले देखाएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *