ओली प्रचण्ड भेट, जिम्मेवारी बाँडफाँटमा रस्साकसी

काठमाडौं, २० जेठ । पालैपालो सत्ताको नेतृत्व गर्ने सहमति कार्यान्वयन हुनुपर्ने विषय उठेसँगै पार्टीभित्र तरंग बढिरहेका बेला आइतबार नेकपाका दुई अध्यक्षले वार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको हो । दाहालसँग एक्लै वार्ता गरेका प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि एक्लै छलफल गरेका थिए । बालुवाटारमै अध्यक्षद्वय ओली र दाहालले महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्य रामबहादुर थापासँग पनि छलफल गरेका छन् । 

प्रधानमन्त्रीको वार्ता र छलफल पार्टीभित्रको जिम्मेवारी बाँडफाँटमा केन्द्रित रहेको नेताहरूको भनाइ छ । एजेन्डा टुंगोमा पुग्न नसकेकै कारण नेताहरूको कार्यविभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको नेकपा बैठक सरेको सर्‍यै छ । जेठ ३ मा भ्रातृ संगठनहरूको एकतालगत्तै बैठक बसेर टुंगो लगाइने भनिएको थियो । त्यसपछि बैठक बसेको छैन । शनिबारका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली भारत जाने भएपछि तयारी नपुगेको भन्दै सोमबारका लागि सारिएको थियो । 

 

null

अध्यक्षद्वयले सोमबारका लागि निर्धारित बैठक मंगलबारलाई सारेका छन् । ‘सोमबार बैठक बस्ने भनिएको थियो, फेरि मंगलबारका लागि सरेको सूचना आएको छ,’ सचिवालय सदस्य ईश्वर पोखरेलले भने । नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्नेमा रस्साकसी छ । विशेषगरी संगठनको नेतृत्व गर्ने संगठन विभागमा नेताहरूको आँखा लागेको छ । पार्टीको संगठन परिचालन र सबै रेकर्डसमेत राख्ने यो विभागमा कसलाई लैजाने भन्नेमा अध्यक्षद्वयबीच कुरा नमिलेको स्रोतको दाबी छ । 

वामदेव गौतम, रामबहादुर थापा, पोखरेललगायत नेता यो विभागका आकांक्षी छन् । अन्य महत्त्वपूर्ण मानिने विदेश विभाग, राजकीय मामिला विभागका विषयमा पनि सहमति जुटेको छैन । पोलिटब्युरो गठनमा पनि तत्कालीन एमाले र माओवादी केन्द्रले आआफ्नो भागमा पर्ने व्यक्तिको नाम टुंग्याउन सकेका छैनन् । आजको कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =