संसदमा गगन थापाको प्रश्नः सांसद भएर खुशी होऊँ कि, नागरिक भएर दुःखी ?

 

जेठ २१, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद गगन थापाले सांसदलाई दिने भनिएको ६ करोड बजेटको विरोध गरेका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद थापाले सांसद कोषमा ६ करोड दिएकोमा विरोध जनाएका हुन् । 

null

संसद बैठकमा उनले भने, ‘प्रत्यक्ष निर्वाचित सांसद भएकाले विकासको माग मलाई पनि थाहा छ । तर, ६ करोड होइन, ६ अर्बको नीति कार्यक्रम र योजनासँग जोडिन चाहेका छौँ । अर्थमन्त्रीले मन्दिरको पर्खाल बनाउन, पाटीपौवा बनाउन ६ करोड दिएर बाँकी योजनाबाट अलग गर्न खोज्नुभएको छ ।’ 

संसदमा बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै थापाले जनअपेक्षा अनुसारको बजेट नआएको जिकिर गरे । उनले भने, ‘बजेटले रुपान्तरणको बिउ रोप्छ भन्ने अपेक्षा थियो । सांसदका रुपमा नभए पनि नागरिकका रुपमा त्यो अपेक्षा हुनु स्वभाविक थियो । तर बजेटले निराशा मात्र बढाउँछ । यत्रो विद्धान अर्थमन्त्री र बहुमत हुँदा पनि जनताले बजेटबाट के पाए ?’ 

यस्तै उनले सरकारले बढाएको बृद्धभत्ताबारे पनि टिप्पणी गरे । सांसद थापाले नेकपाका महासचिव एवं सांसद विष्णु पौडेललाई आफूसँग वृद्धाभक्ताविरुद्ध बोल्ने हिम्मत भएको जवाफ दिँदै यसबारे टिप्पणी गरेका हुन् । 

सोमबार बजेटको समर्थन गर्दै पौडेलले प्रतिपक्षी कांग्रेसलाई वृद्धभत्ताविरुद्ध बोल्न सक्ने हिम्मत छ ? भन्दै प्रश्न गरेका थिए । 

उक्त प्रश्नको जवाफ दिँदै गगन थापाले भने, ‘बालुवाटारको जग्गौ हल्लाइ दिने नेकपाका सांसदले वृद्धाभत्ताबारे बोल्ने हिम्मत छ ? भनेर सोध्नु भयो । मेरो हिम्मत छ । शेरबहादुर देउवाको सरकारले ६५ वर्ष उमेरकालाई पाँच हजार भत्ता बढाउँछु भन्दा हचुवाका भरमा बढाउन पाइँदैन भनेर विरोध गरेको मात्र होइन । ७० वर्षलाई आधार वर्ष बनाउनु पर्छ भनेर भन्ने सांसद मै हुँ ।’ 

उनले बजेटमा आएका निर्वाचन क्षेत्र र वृद्धा भत्ताका कार्यक्रमलाई मात्रै हेरेर खुशी हुँ कि दुखी हुँ भनी प्रश्न गरे। उनले भने, ‘म जस्तो एउटा व्यक्ति सांसद भएर खुसी होऊँ कि नागरिक भएर दुखी हुँ ? खुशी हुँ कि दुखी हुँ। म अलमलमा परेको छु।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =