‘सबै दलहरु भ्रष्टाचारमा लिप्त, कांग्रेस पनि अछुतो छैन’

 

जेठ १७, काठमाडौं । नेपालका लागि नेपाली अभियानले आफ्ना अभियन्ताहरु ज्ञानेन्द्र बहादुर शाही र भीम बहादुर शाहीलगायतलाई सुर्खेतबाट पक्राउ गरिएको भन्दै विरोध जनाएको छ । पक्राउ परेका अभियन्ताहरुलाई विना शर्त तुरुन्त रिहाई गर्नुपर्ने अभियानको माग छ । 

राजधानीमा पत्रकार सम्मेलन गर्दै अभियानले यस्तो माग गरेको हो । 

null

अभियानका अभियन्ता एवम् वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले अभियन्ताहरुलाई पक्राउ गरिएकोमा आक्रोश पौख्दै यो नागरिकहरुमाथिको आक्रमण भएको आरोप लगाए । 

उनले ज्ञानेन्द्र शाहीमाथि भएको सांघातिक प्रहार र झुठा मुद्दाको भत्र्सनासमेत गरे । त्यस्तै, उनले पक्राउ गरिएका अभियन्ताहरुलाई तत्काल रिहाई गरि उपचार गर्नुपर्ने माग राखे । भण्डारीले भने, ‘उहाँहरुको स्वास्थ्य अवस्था गम्भिर छ, उहाँहरुलाई विना शर्त रिहाई गरि उपचार गर्नुपर्छ । अन्यथा, केही भयो भने यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।’ 

कार्यक्रममा अर्का अभियन्ता एवम् बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारले पछिल्लो समय आफ्नो विवेकत गुमाएर कम्युनिष्टको असली रुप देखाएको टिप्पणी गरे । सरकार शान्तिपूर्ण सभा तथा कार्यक्रमहरु विथोल्न उद्दत रहेको पनि उनको आरोप छ । 

न्यौपानेले सरकारले मिडिया काउन्सिल विधेयकको नाममा पत्रकारहरुलाई तर्साउने र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम गरेकोमा आपत्ति जनाए । 

पक्राउ परेका आफ्ना अभियन्ताहरुलाई सरकारले विना शर्त रिहाई गर्नुपर्ने पनि उनको माग छ । संविधानले नै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेकोले बोलेकै भरमा नागरिकमाथि यसरी ज्यादती गर्नु दुःखदायी भएको पनि उनले टिप्पणी गरे । उनले नेपाल भ्रष्टाचारमा कारबाही नहुने मुलुकको रुपमा विश्वसामू परिचित भइसकेको पनि गम्भिर आरोप लगाए । 

नेपालका प्रमुख सबै दलहरु भ्रष्टाचारमा लिप्त भैसकेको पनि उनको आरोप छ । उनले भने, ‘कांग्रेस पनि यसबाट अछुतो छैन । उसको पनि भ्रष्टाचारमा संलग्नता छ । त्यही भएर भ्रष्टाचारको मुद्दामा केही बोल्दैन ।’ 

त्यस्तै, अभियानले धुर्मुस–सुन्तली फाउण्डेशनमाथि भएको ज्यादतीको विरोध, कुलमान घिसिङविरुद्धका षड्यन्त्रको विरोध, पशुपतिनाथ क्षेत्रका जग्गामा चर्च स्थापना गर्न दिने कार्यको विरोध, देशभरिका गुठी मास्ने सरकारी प्रपञ्चको विरोध, भ्रष्टाचार, लोकतन्त्र र बेथितिको विरुद्धमा नागरिक आवाज बुलन्द गर्न र राष्ट्रियताको संरक्षणको लागि नागरिक आवाज बुलन्द गर्न यही जेठ १८ गते शनिबार काठमाडौंको माईतीघर मण्डलामा दिउँसो १ः३० बजे विरोध सभा राखिएको पनि जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =