विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर लागे विद्यार्थी, शिक्षक

 

बैशाख २७, बझाङ । विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् । 

तीन महीना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताए । 

null

यहाँका धेरैजसो स्थानीयवासीले यार्सा सङ्कलनबाटै सदरमुकाम चैनपुर, धनगढी महेन्द्रनगर, काठमाडौँसम्म घर तथा जग्गा खरीद गरिसकेका छन् । 

अहिले लेकमा हिउँ भएको भए पनि तल्लो भेगतिर यार्सा पाइन थालेपछि लेकतिर जान थालेका हुन् । 

वैशाखको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयवासी असारको अन्तिमतिर मात्र घर फर्किन थाल्छन् । सुर्मा, साइपाल गाउँपालिकाका स्थानीयवासी अहिलेको ‘सिजन’मा घरमा ताला लगाएर यार्सा सङ्कलन गर्न जाने गरेको गाउँपालिकाका पे्रमबहादुर बोहराले बताए । 

यहाँ पाखो जमीन भएका कारण उब्जनी नहुने र तीन महीना यार्सा सङ्कलन गरेर वर्षभरिका लागि परिवारको लालनपालन गर्ने गरेको उनले बताए। 

सुत्केरी महिला, हिँडडुल गर्न नसक्ने वृद्धवृद्धा र ससाना हिँडडुल गर्न नसक्ने बालबालिकाबाहेक सबै अहिलेको सिजनमा यार्सा सङ्कलनका लागि लेकतिर लागेको स्थानीय कलकबहादुर बोहराले बताए । 

गाउँ नै शून्य बनाएर अहिले यहाँका स्थानीय यार्सा सङ्कलनका लागि लेकतिर गएको बोहराले बताए । 

विगतका वर्षहरुभन्दा क्रमिकरूपमा यार्साको उत्पादन घट्दै गएको उनको भनाई छ । 

सरकारले कुनै पनि पढ्ने उमेरका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर देशव्यापी भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका धेरैजसो सरकारी विद्यालय तीन महीनाका लागि बन्द भएका छन् । 

विद्यालयमा पढ्ने उमेरका सबै विद्यार्थी र अभिभावकसमेत यार्सागुम्बा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि बन्द भएका हुन् । 

जिल्लाका साइपाल, सुर्मा गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् भने तल्कोट गाउँपालिका, बुङ्गल नगरपालिकाका केही विद्यालयसमेत बन्द भएका छन् । 

अझै केही विद्यालय यसै महीनाको अन्तसम्ममा बन्द हुनसक्ने साइपाल गाउँपालिकाका स्थानीयवासी वसन्त बोहराले बताए । 

चैतको वार्षिक परीक्षा सकिएदेखि नै विद्यालय बन्द भएको उनले बताए । 

यस क्षेत्रका बासिन्दाको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा सात÷आठ वर्षका बालकदेखि ७० वर्षका वृद्ध पनि यार्सागुम्बा टिप्न लेकतिर चढ्ने गरेका छन् । 

विद्यालय बन्द भएपछि विद्यार्थीसँगै केही शिक्षक शिक्षिका पनि यार्सागुम्बा टिप्नका लागि पाटनतिरै उक्लिएका छन् । 

चैतको अन्तिम साताबाट यार्सागुम्बा सङ्कलन शुरु गरी असारमसान्तसम्म टिप्ने क्रम जारी हुनाले तीन महीना विद्यालय पूर्णरूपमा बन्द हुने गरेका साइपाल गाउँपालिकाका एक शिक्षक उज्ज्वल बोहराले बताए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *